

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र समृद्धिको यात्रामा कुनै सम्झौता नहुने बताएका छन्।
नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले मुलुकमा सुशासन र विकास तथा समृद्धि चाहिएको भन्दै यस विषयमा कुनै सम्झौता नहुने बताए।
आफू भ्रष्टाचारको विरोधी रहे पनि भ्रष्टाचार भइरहेको आफूलाई आशंका लागेको उनको स्वीकारोक्ति छ। अघिपछि भ्रष्टाचार आफू पनि नगर्ने र यो सरकारले नगरेको बताउने उनले यस पटक भने भित्रभित्रै भ्रष्टाचार भइरहेको हुनसक्ने बताए।
‘आज हामीलाई सुशासन र विकास चाहिएको छ। सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ। त्यसलाई नियन्त्रण गर्नका लागि तपाईंहरूको पनि सहयोग चाहिन्छ,’ उनले भने।
कम्तीमा पनि ८४ सालसम्म मुलुकमा स्थायित्व र स्थिरता हुने र त्यसपछि पनि यो सिलसिला कायम रहने भएकाले ढुक्क भएर लगानी गर्न उनले आग्रह गरे।
प्रधानमन्त्री ओलीले सरकार मजदुर, किसान, श्रमजीवि, शिक्षक, प्राध्यापकलगायत सबैको साथमा रहेको र सबैको भलाइका लागि काम गर्न चाहेको बताए।