राजा ल्याउने आन्दोलन : राजा ल्याउन कि आफैं राजा हुन ?-Sutra News

राजा ल्याउने आन्दोलन : राजा ल्याउन कि आफैं राजा हुन ?

बिहिबार, २८ चैत्र २०८१

बिहिबार, २८ चैत्र २०८१

राप्रपा लगायत केही राजावादी शक्तिहरू सडक विद्रोह गरेर राज सत्ता पुनर्स्थापना गर्न भनेर लागिरहेका छन् । आम हड्ताल, आन्दोलन, सडक प्रदर्शनको एउटा समस्या के हुन्छ भने यो कतिन्जेलसम्म चलिरहने, यसको सुरु बिन्दु, मध्य बिन्दु, चरम बिन्दु र परिणाम बिन्दु अर्थात् अन्तिम बिन्दु भन्ने हुन्छ । अन्तिम बिन्दु भने आन्दोलनको क्लाइमेक्स पार्ट हो । यो बिन्दुमा पुग्दाखेरी परिणाम हात पर्नुपर्ने हुन्छ ।



परिणाम हात पर्ने कि नपर्ने भन्ने कुरा चाहिँ आन्दोलनको तेस्रो चरणमा प्रवेश गर्दा थाहा भइसक्छ । आन्दोलनमा सुरुवाती बिन्दुबाट चरम बिन्दु आइपुग्दासम्म आन्दोलनमा सहभागी संख्या चौबरका रूपमा वृद्धि हुनुपर्छ, जस्तो दुईको आठ, आठको बत्तीस, बत्तीसको एक सय अठ्ठाईस । आन्दोलनको सुरुवाती बिन्दुमा यदि दुई सय आन्दोलनकारीको उपस्थिति थियो भने चरम बिन्दुसम्म आइपुग्दा यो संख्या १२ हजार ८०० हुनुपर्छ । यसको मतलब हो, आन्दोलनलाई तीव्र गतिमा जनसमर्थन प्राप्त छ र अब यो यतिकै सेलाउँदैन, यो परिणाम बिन्दुको उन्मुख छ भन्ने कुराको संकेत पनि हो ।

तर, दैनिक भइरहने आन्दोलनका कारण जनजीवन अत्यन्तै कष्टकर बनिदिन्छ र मानिसहरूमा ‘इरिटेसन’ पैदा हुन्छ । आन्दोलन धेरै लम्बिनु हुन्न । आन्दोलन लम्बिँदा आन्दोलनकारीहरू थाक्छन् । गाँस, बास खर्च परिवार र रोजगारीको पनि कुरा जोडिएको हुन्छ । र, आन्दोलनकारीहरूको संख्या कम हुँदै जान्छ । माओवादी युद्धमा धेरै गरिब सहभागीहरूको संख्या सहभागी थियो । बैंक लुट्नेदेखि धनी व्यक्तिका सम्पत्ति लुट्ने कामसमेत भएको थियो । व्यवस्था र अवस्था परिवर्तनको उद्देश्य प्रेरित आन्दोलन थियो । भुसको आगो झैँ फैलियो र सार्थक परिणाममा गएर टुंगोमा पुग्यो ।

माओवादी युद्धलाई अन्तर्राष्ट्रिय सहयोगसमेत आएको थियो । त्यो गरिबी अन्याय अत्याचार भ्रष्टाचारविरुद्धको आन्दोलन थियो भने राजावादीहरूले गरिरहेको आन्दोलन नेपालमा फेरि पुरानो व्यवस्था फर्काउने आन्दोलन भएकोले जनसमर्थन पाउने सम्भावना देखिन्न । हो यदि अवस्था परिवर्तनका लागि राजावादीले आन्दोलन गरेका भए जन समर्थन प्राप्त हुन्थ्यो ।

के राजावादीहरूले राजा ल्याउने नै चाहेका हुन् त ?

राजावादीहरूको आन्दोलनमा भाग लिन गएका कतिपय युवाहरूमा राजा को हो ? राजाको इतिहास कस्तो थियो ? नेपालमा राजसंस्था कसरी र के कारण अन्त्य भो ? र, अब राजसंस्था पुनस्र्थापित भयो भने नेपाली जनताले के पाउने ? राजा कसको निमित्त आउने ? राजा आउँदा देशमा के प्रगति हुन्छ भन्ने कुराको पूर्ण रूपमा अनभिज्ञता देखियो । कतिपय आन्दोलनमा मानिसहरू रमाइलोका लागि र सञ्चारमा देखिनका लागि पनि जान्छन् । एक/दुइ चोटी गएपछि ती जाँदैनन् । सच्चा आन्दोलनकारी आन्दोलनको चरम बिन्दुसम्म भाग लिन्छ ।

राजावादीहरूको आन्दोलनमा केही पुराना नेताहरू राजसंस्था स्थापित भयो भने देशको सार्वभौमिकता जोगिन्छ, मुलुक समृद्ध हुन्छ भनेर लागेका होइनन् । उनीहरूको मक्सद आफै स्थापित हुनुमा छ । अहिलेसम्म राजनीति गरियो भने कमसेकम एक चोटि सांसद र मन्त्री त होऔँ भन्ने लक्ष्य हो । आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेका नेतालाई त प्रधानमन्त्रीकै अपेक्षा छ । त्यसकारण उद्देश्य मन्त्री बन्ने र आन्दोलन चाहिँ राजा ल्याउने हो । राजा नेपालका राजावादीहरूले चाहेर स्थापित हुन सक्दैन ।

नेपालमा राजसंस्था ४ विधिबाट फर्किन सक्छ –

१. राजावादी पार्टीहरूले आगामी २०८४ को संसदीय चुनावमा दुई तिहाइ सिट जितेमा संविधान संशोधनका माध्यम राजा फर्काउन सक्छन् । जुन जनताबाट अनुमाेदित हुने सबैभन्दा उपयुक्त माध्यम हाे ।

२. यदि राजावादी पार्टीसँग सबै गणतन्त्रवादी पार्टीहरू सहमत भई राजालाई पनि ‘स्पेस दिऊ’ भन्ने बिन्दुमा पुगेमा पनि राजसंस्था फिर्ता हुन सक्छ । यसअघि राजसंस्थालाई बिदाइ गर्दा गरिएकाे जस्तै सहमति पनि अवस्था अनुकुल दलहरूले गर्ने सम्भावना रहन्छ ।

३. सैन्य ‘कु’ भएमा । विश्व इतिहासमा सैन्य ‘कु’बाट सत्ता परिवर्तन भएको थुप्रै उदाहरण छन् । पाकिस्तान र बङ्गलादेश हाम्रै छिमेकी देशको उदाहरण मात्रै पनि लिन सकिन्छ । देशको सैनिक पूर्ण हातहतियारबाट संगठित हुन्छन् । बन्दुक शक्तिबाट प्रधानमन्त्रीलाई अपदस्थ गरी राजालाई नारायणहिटी दरबारमा राख्न सकिन्छ । र, त्यो बेला जनताले मान्नुपर्ने दबाब सिर्जना हुन्छ । तर, त्यस्तो अवस्था नेपालको सैन्य शक्तिमा देखिन्न ।  नेपालकाे शैन्य शक्ति जनताकाे मतलाई कुल्चेर जाने शैलीमा छैन । न विगतमा थियाे न अहिले त्यस्ताे सम्भावना नै छ । सँगै, अन्तर्राष्ट्रिय मानव अधिकार र प्रभावका कारण पनि नेपालमा सैन्य ‘कु’ हुने सम्भावना छैन ।

४. यदि भारतले चाहेमा भने नेपालमा राजसंस्था पुनर्स्थापना हुन सक्छ । भारत र अन्तर्राष्ट्रिय दबाबकै कारण नेपालमा राजसंस्था अन्त्य गरिएकोमा दुविधा छैन, जहाँ राजा वीरेन्द्रको वंश हत्याको दुष्परिणाम नै नेपालमा राजसंस्थाको अन्त्यको कारण बनेको थियो । नेपाल सार्वभौम राष्ट्र हो भनेर भन्न सकिने आधार पनि राजा वीरेन्द्रको बंसनास सँगै अन्त्य भएको छ ।

हामी कसरी सार्वभौम र अखण्ड छौं ? जबकि आधुनिक हतियारबाट सज्जित दरबारभित्रको राजालाई रातारात मारिन्छ भने । त्यसैले पनि अहिले राजावादीहरूले राजा फर्काउने आन्दोलन भनेको बेतुकको आन्दोलन हो । नेपालमा लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन । नेपाललाई राजा चाहिने भए त्यसरी राजा मारिदैनथ्यो । हो बरु संविधान संशोधन गरेर खर्चिला र भड्किला कुराहरूलाई परिवर्तन गरी यही व्यवस्थामा अनेकौँ सम्भावना खोजौँ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार