‘न्यायाधीश पार्टीका झोले कार्यकर्ता’ भनेपछि रास्वपा नेतृ ज्वाला संग्रौलाविरुद्ध अवहेलना मुद्दा-Sutra News

‘न्यायाधीश पार्टीका झोले कार्यकर्ता’ भनेपछि रास्वपा नेतृ ज्वाला संग्रौलाविरुद्ध अवहेलना मुद्दा

बिहिबार, २८ चैत्र २०८१

बिहिबार, २८ चैत्र २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला)विरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ।



काठमाडौं खुला विश्वविद्यालयमा एलएलबि प्रथम वर्षमा अध्ययनरत प्रान्ज्वल केसीले बुधबार संग्रौलाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन्।

अदालतलाई धम्कीको भाषा प्रयोग गरी त्रासमा पार्न खोजिएको, न्यायाधीशको मानमर्दन गरी आम जनतामा अदालतप्रति भ्रम सिर्जना गरिएको भन्दै आफूले अवहेलना मुद्दा दायर गरेको केसीले उल्लेख गरेका छन्।

संग्रौलाको उक्त अभिव्यक्ति फौजदारी कसुर भएको र आफू कानुनको विद्यार्थी भएकाले कानुनको विद्यार्थीको रुपमा संग्रौलाको अभिव्यक्तिले आफ्नो मर्यादामाथि पनि आँच पुगेको निवेदनपत्रमा उल्लेख छ।

निवेदनमा संग्रौलालाई तत्काल पक्राउ गरी न्याय प्रशासन ऐन २०७३ को दफा १७ (४) बमोजिम १ वर्ष कैद र १० हजार रुपैयाँ सजायको माग दाबी गरिएको छ।

गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। त्यसपछि संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा न्यायाधीश र अदालतको अवहेलना हुने पोस्ट लेखेकी थिइन्।

‘न्यायाधीश नै पार्टीका झोले कार्यकर्ता भएपछि यस्तै हो। दिउँसो घाम लागेको बेलासमेत यो त रात हो भनेर फैसला गर्छन्, हामीले मान्दिनु पर्‍या छ,’ उनले लेखेकी छन्। त्यसयता संग्रौलाले पटक-पटक स्टाटस र भिडियोमार्फत अदालतको अवहेलना हुने अभिव्यक्ति दिइराखेकी छन्।

यता, अदालतमा मुद्दा दर्ता भइसकेपछी भने संग्रौलाले जुनसुकै क्षेत्रको बेथिति बिरुद्द बोल्न पाइने भन्दै आफूले अपराध नगरेको बताएकी छन्।

‘मैले केहि अपराध गरेको छैन। अदालत जस्तो पवित्र ठाउँको दुरुपयोग गरि देश र जनता विरुद्व गलत निर्णय हुनु हुँदैन भनेर आवाज उठाउँदा कसैले तर्सनु पर्ने कुनै कारण नै छैन। कतिलाई मुद्दा लगाउने हो? सबैले आजबाट त झन चर्को स्वरमा आवाज उठाउन सुरु गरिसके’, उनले फेसबुकमा लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार