बारमा सत्ताधारीसँग मिल्दा राप्रपाले एक सदस्य जित्यो, माओवादी-रास्वपा पराजित-Sutra News

बारमा सत्ताधारीसँग मिल्दा राप्रपाले एक सदस्य जित्यो, माओवादी-रास्वपा पराजित

बिहिबार, २८ चैत्र २०८१

बिहिबार, २८ चैत्र २०८१

काठमाडौं । नेपाल बार एशोसिएसनमा कांग्रेस-एमाले प्यानलका विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको छ। यस पटक चुनावमा पनि सत्ता र प्रतिपक्षी गठबन्धन बनाएर प्रतिस्पर्धा भएको थियो।



सत्तापक्ष नेपाली कांग्रेस र नेकपा (एमाले) निकट कानुन व्यवसायीहरूको संगठन मिलेर आधा-आधा उम्मेदवार उठाएर सबै पद जिते। राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट कानुन व्यवसायीहरू पनि सत्तापक्षीय गठबन्धनमा सामेल थिए। त्यसै कारण राप्रपा निकटले एक सदस्य जितेका छन्।

बारको अध्यक्षमा कांग्रेसनिकट कानुन व्यवसायीको संस्था डिएलएबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र निर्वाचित भए भने महासचिवमा एमालेनिकट कानुन व्यवसायी संस्था पिएलएका केदारप्रसाद कोइराला निर्वाचित भए।

मिश्र ५०५२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका माओवादीनिकट कानून व्यवसायी समूहका २६२१ मतमा रोकिए। महासचिवमा कांग्रेस -एमाले प्यानलका केदारप्रसाद कोइराला ४८७४ भोट ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २३६७ भोटमात्र ल्याए।

प्रतिपक्षी गठबन्धन (माओवादी-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा) निकट कानुन व्यवसायीका संगठनहरूले संयुक्त उम्मेदवार उठाएका थिए।

माओवादी निकटबाट अध्यक्षमा रमनकुमार श्रेष्ठ र रास्वपानिकटबाट महासचिवमा यज्ञमणि न्यौपानेको उम्मेदवारी परेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार