ओलीको सनकले अन्यायमा छन् एमालेहरू-Sutra News

ओलीको सनकले अन्यायमा छन् एमालेहरू

बिहिबार, २८ चैत्र २०८१

बिहिबार, २८ चैत्र २०८१

काठमाडौं । गएको असोज २४ मा गुरुङको कीर्तिपुरमा रहेको १० रोपनी १४ आना जग्गामा एमालेको केन्द्रीय कार्यालय बनाउन एमाले अध्यक्ष केपी ओली र भाटभटेनीका संचालक मीन बहादुर गुरुङ दम्पतीले शिलान्यास गरे।



बालुवाटारको सरकारकी जग्गा व्यक्तिगत बनाएर अपचलन गरेको मुद्दामा दोषी ठहर भएका गुरुङसँग पार्टीका लागि जग्गा दान लिएर भवन बनाउने जिम्मा दिएको भन्दै त्यसको विपक्षमा उभिए स्थायी कमिटि सदस्य बिदा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना। उनीहरूले सामाजिक सञ्जालमै त्यसको विरोध गर्दै लेखे।

नेता भीम रावलले भने सार्वजनिक फोरोमहरूबाटै त्यसको आलोचना गरेका थिए।

त्यसपछि एमालेको सचिवालय बैठकले पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गर्यो। स्पष्टीकरणको जबाफमा उनीहरू दुवैले आफूहरूमाथि कारबाही गरिनुपर्ने आवश्यकता नरहेको भने।

‘दान दिने व्यापारीबारे सचिवालय बैठकमा जानकारी नदिइएको भनेर पार्टीकै पदाधिकारीहरूले मिडियामा बोलेको विषयमाथि मैले टिप्पणी गरेको हुँ’ स्पष्टीकरण पत्रमा पाण्डेले भनिन्, ‘मैले बोलेको कुरा मेरो व्यक्तिगत हो, त्यसैले कारबाही गर्न आवश्यक छैन।’

केन्द्रीय सदस्य तिमिल्सिनाले पनि आफ्नो अभिव्यक्तिले पार्टीलाई अहित नगरेको भन्दै जवाफ लेखिन्, ‘मैले जे बोलेको हुँ, त्यो कुराले पार्टीको मर्यादा घट्दैन, बढ्छ। एमालेको ओज बढाउने कुरा गर्दा मलाई कारबाही गर्नु आवश्यक छैन।’

ब्यापारीबाट दानमा कार्यालय लिन नहुने अडानमा कायमै रहेको र त्यो स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै तीन नेतालाई एमालेले कारबाही गर्यो। सचिवालय बैठकले स्थायी कमिटी सदस्य पाण्डे, केन्द्रीय सदस्य तिमल्सिनालाई ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गर्यो भने पूर्वउपाध्यक्षसमेत भइसकेका नेता रावललाई पार्टीबाटै निष्कासन नै गर्यो।

त्यसबारेमा सार्वजनिक सञ्चारमाध्यम र राजनीतिक वृत्तमा चर्को आलोचना भयो। नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओली तानाशाही बन्दै गएको आरोप लगाए।

उता, कारबाहीमा परेकी नेतृ तिमल्सिनाले एमालेको नेतृत्वमा पञ्चायतकै शैली रहेको बताइन् भने नेतृ पाण्डेले पार्टीले अंगालेको जनताको बहुदलीय जनवादविपरीत गैर पार्टीभित्र एकैजना व्यक्ति सर्वेसर्वा हुन थालेको भन्दै चिन्ता व्यक्त गरिन्।

उनले पार्टीभित्र आफूहरूलाई कारबाही भएकोमा थुप्रै नेताहरूमा आक्रोश रहेको तर, कारबाहीको डण्डा चल्ने डरले बोल्न नसकेको भनिन्। प्रदेश कमिटीदेखि केन्द्रकै नेताहरूले पनि फोन गरेर कारबाही हुन् नहुने भन्ने तर्क गरेको सुनाएकी उनले आफैंले भने पार्टीमा आन्तरिक लोकतन्त्र मासिन थालेको भनेकी थिइन्।

तर त्यस विरुद्व कसैले बोल्न सकेनन्। धेरै नेताहरूले अधक्ष्य ओलीको डरले बोल्न नसकेको बताइयो। उता ओलीले भने सनककै भरमा आफ्नो आलोचना गर्नेलाई पार्टीबाट निकालेको भन्दै धेरैले आलोचना गरेका थिए। फेरि पनि ओलीले त्यसलाई बेवास्ता गरे।

पाण्डे र तिमल्सेनालाई कारबाही गरेको झन्डै ५ महिना बित्न लागिसकेको छ। तर त्यसको औपचारिक जानकारी अहिलेसम्म नदिएको तिम्सेनाले बताइन्। निलम्बन गरिएको पाँच महिना बित्न लाग्दा पनि अहिलेसम्म त्यसबारे पत्र नै नपाएको उनको गुनासो छ।

त्यसैले कारबाही कहिलेदेखि लागू हुन्छ र कहिले फुकुवा हुन्छ भनेर यकिन गर्न नसकिएको पनि उनले बताइन्। ‘सार्वजनिक सञ्चार माध्यममार्फत् हामीले निलम्बनको जानकारी पाएका हौं। अहिलेसम्म पत्र दिइएको छैन,’ उनले भनिन्।

एमालेको विधानमा कारबाही फुकुवाको स्पष्ट प्रावधान छैन। जिल्ला कमिटी र सोभन्दा माथिका कमिटीले सदस्यताबाट निष्कासन, निलम्बन आदिको निर्णय गर्न सक्छन्। तर फुकुवा कसरी हुन्छ भन्नेमा मौन छ।

सामान्यतया जुन कमिटीले निलम्बन गरेको हो, त्यही कमिटीले बैठक बसेर कारबाहीको निरन्तरता या पार्टी जिम्मेवारीमा फर्काउने निर्णय गर्न सक्नेछ।

यो विधानको रूपमा भन्दा पनि व्यावहारिक अभ्यासको रूपमा रहेको तिम्सेनाले बताइन्। यसको अर्थ ओलीको सनक यस्तै रहिरहेमा यो वा त्यो बहानामा उनीहरूको कारबाही लम्बिन पनि सक्छ।

ओलीकै सनकले एमालेको राजनीतिबाट विदा लिएका भीम रावल

गएको कत्तिको सचिवालय बैठकमा बोल्दै ओलीले भीम रावल कहिल्यै पार्टीको पक्षमा नबोलेको बरू पार्टीविरुद्ध मिडियामा बोल्दै हिँडेको भन्दै आक्रोश पोखेका थिए।

‘रावल पार्टीको पक्षमा कहिल्यै बोलेनन् तर पार्टीको विरुद्धमा मिडियामा, फेसबुकमा, टिभीमा, युट्युबमा धाउने, एनजिओका डलर खाँदा स्वाभिमानी भइन्छ? ठूला कुरा गर्ने? ओलीले भनेका थिए।

केही केन्द्रीय सदस्यहरूले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट गरिएको निष्कासन फिर्ता हुनुपर्ने माग गरेका थिए। जवाफमा ओलीले उनलाई कारबाही गर्नै ढिलो भएको भन्दै पार्टीबाट निकाल्नु पर्ने बताएका थिए। नभन्दै ओलीले निकाले पनि।

अहिले रावल राष्ट्रवादी शक्ति निर्माण गर्ने भन्दै देश दौडाहामा छन्। उनले देश दौडाहाबाट फर्किएपछि आफैं पार्टी खोल्ने संकेत गरेका छन्। तर एमालेबाट विदा भएपछी उनको राजनीतिक जीवन भने उस्तो धेरै फस्टाएको छैन।

त्यसका अलावा एमालेबाट ओलीले निस्किन बाध्य बनाएका पूर्व सांसद गङ्गा चौधरी, पूर्व आइजीपी सर्वेन्द्र खनालले पार्टी छोडेपछि राजावादी मोर्चातिर लागि परेका छन्। गङ्गा खुलेरै राजावादी बनेकी छन् भने खनालले राजावादीहरूलाई सघाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार