हावाहुरीसहितको वर्षाका कारण हवाई सेवा प्रभावित-Sutra News

हावाहुरीसहितको वर्षाका कारण हवाई सेवा प्रभावित

शनिबार, ३० चैत्र २०८१

शनिबार, ३० चैत्र २०८१

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागहरूमा आज बिहानैदेखि हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानहरूमा तीव्र हावाहुरी, चट्याङसहितको वर्षा भइरहेको हो ।



पश्चिमी वायु, वायुमण्डलीय चक्रवात प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका धेरैजसो भूभागमा मौसम बदली भएको हो । आगामी केही घण्टासम्म पनि यस्तै खालको मौसम रहन सक्ने पूर्वानुमान गरिएको छ । विशेष गरी दिउँसो र साँझपख हावाहुरीसहित वर्षा र चट्याङको सम्भावना अझ बढी रहेको बताइएको छ ।

हावाहुरी र चट्याङसहितको वर्षाले जनजीवनमा प्रत्यक्ष असर पारेको छ । ग्रामीण भेगहरूमा हावाहुरीका कारण धेरैजसो ठाउँमा बिजुलीका पोल ढलेका, रूख ढलेर सडक अवरुद्ध भएका र सामान्य जनजीवन अस्तव्यस्त भएको स्थानीयहरू बताउँछन् । केही स्थानमा अन्न बाली नोक्सान भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

यता, मौसमको प्रतिकूलताका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानहरू समेत प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम एक्कासी खराब भएपछि काठमाडौंतर्फ आउँदै गरेका केही अन्तर्राष्ट्रिय उडानहरूलाई आकाशमै होल्ड गरिनु परेको छ भने केही जहाजहरूलाई अन्यत्र डाइभर्ट समेत गर्नुपरेको छ ।

विमानस्थलका अनुसार, भिजिबिलिटी कम भएको र हावाको वेग अत्यधिक भएका कारण सुरक्षित अवतरणमा कठिनाइ भएको हो । केही आन्तरिक उडानहरू ढिलाइ भएका छन् भने केही रद्द पनि गरिएका छन् ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आम जनतासँग सतर्क रहन अनुरोध गरेको छ । विशेष गरी चट्याङ, असिना, हावाहुरी र पहिरोको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । कृषकहरूलाई विशेष सावधानी अपनाउन र घरबाहिर निस्कदा सुरक्षित स्थानमा बस्न समेत सुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार