

यस्तो बाजी हारेँ मैले जीत सारा तिम्रो भयो
यस्तो गीत गाएँ मैले प्रीत सारा तिम्रो भयो…
नेपाली इतिहासमा पृथ्वीनारायण शाहका ज्येष्ठ पुत्र प्रताप सिंह शाहका दुई रानी थिए पहिलो थिइन राजेन्द्रलक्ष्मी दोस्रो अविवाहित भित्रिनी थिइन मैजु रानी। इतिहासमा मैजुरानी कुन थर, जात र ठाउँकी थिइन त्यो कुरा उल्लेख छैन। नेपालका राजा राजकुमारहरूले दोस्रो, तेस्रो, चौथो रानी भित्र्याउँदा प्रायः आफू भन्दा तल्लो जातकै ल्याएको देखिन्छ। किनकि प्रेममा जात धर्म वर्ण हेरिन्नथ्यो।
तर राजा बन्नको लागि भने वंश, परम्परा, रीतिस्थिति,जात,कुल, वैदिक विधिसम्मत हुनुपर्छ भन्ने मान्यता सोचिन्थ्यो। यति हुँदा हुँदै पनि नेपाली इतिहासमा रण बहादुर शाहको पुस्ता पछि प्रताप सिंह शाहको ल्याइते पत्नी मैजु रानीका सन्तान र सन्तानहरुनै नेपालका राजा भएका छन्। मैजु रानीका दुई छोरा भएका थिए विदुर शाही र शेर बहादुर शाही । तिनै विदुर शाहीका पुत्र हुन श्री ५ गिर्वाणयुद्द विक्रम शाह । ल्याइते पत्नी मैजु रानीका शाखा सन्तान हुन नेपालका सम्पूर्ण राजाहरू।
राजा महेन्द्रका तीन पत्नी थिए। दुई बिधिवत विवाहित एक अविवाहित अर्थात् ल्याइते । अविवाहित पत्नी थिइन श्रीमती गीता गुरुङ (शाह ) । तिनै महेन्द्रका भित्रिनी गीता शाहको कोखबाट १९३९ जुलाई मा जन्मिएका पहिलो प्रथम पुत्र थिए गीतकार रवीन्द्र विक्रम शाह । गीता शाह यदि गुरुङनी नभएर क्षेत्रीय जातकी भएकी भए रवीन्द्र विक्रम शाह नै नेपालका राजा हुन्थे । शाह परम्परामा पहिलो पुत्र राजा हुने परम्परा चाहिँ गिर्वाणयुद्द विक्रम पछि निरन्तर लागू भएको देखिन्छ । किनभने श्री ५ सुरेन्द्र विक्रम शाहका चार पत्नी मध्य त्रैलोक्य राज्य लक्ष्मीबाट जन्मिएका पहिलो र दोस्रो दुई छोरी पछि जन्मिएका थिए त्रैलोक्य विक्रम शाह । तेस्रो सन्तान त्रैलोक्य नै नेपालको राजा भएका थिए।
जात भातकै कारण श्री ५ महेन्द्रका ज्येष्ठ पुत्र रवीन्द्र वीर विक्रम शाह नेपालको राजा हुनबाट वञ्चित भएका थिए। यसरी राजा हुनबाट वञ्चित भएका रवीन्द्र विक्रम शाहमा भावुकता र पीडाले हिर्दय व्याकुल हुनु स्वाभाविक नै थियो र व्याकुलताले उनीलाई गीतकार बनायो। राजा महेन्द्र आफै पनि गीतकार र कविका रूपमा परिचित थिए। बाबुको गुण छोरा रवीन्द्रमा पुस्तान्तरित हुनु स्वाभाविक थियो।
रवीन्द्र वीर विक्रम शाहकी पत्नी हुन चन्दा राज्यलक्ष्मी शाह । उनका तीन सन्तान छन्। पविन्द्र विक्रम शाह, सिर्जना राज्यलक्ष्मी र रोशना राज्यलक्ष्मी । गीतकार रवीन्द्रका ५ गीति कृति प्रकाशित छन्।”झरेको फूल”, “मायाको छाया”, “पत्र पुष्प”, “सम्झनाको सौगात” र “भावनाको लहर” । उनका ती पाँचै गीति कविता सङ्ग्रहमा नेपालीपन र मौलिकताको उद्घाटन छन्। गीतकार रवीन्द्र शाहका गीति काव्यकारिताका बारेमा प्रसिद्ध राष्ट्रकवि माधव घिमिरेले भनेका छन्- ‘गीतकार रवीन्द्र शाहमा अन्तर हृदय बोलेको पाइन्छ भने कवि रवीन्द्र शाहमा अन्तदृष्टि खुलेको पाइन्छ” ।
आफ्नो गुण छोराछोरीमा जाँदा बाबुआमा खुसी हुनु स्वाभाविक नै थियो। राजा महेन्द्र पनि आफ्नो कवित्वपन आफ्नो छोरामा सरेकोले खुब खुसी थिए। गीतकार बाबुछोरामा असाध्य प्रेम थियो। राजा महेन्द्र आफै पनि गीतकार कवि र आफ्नो छोरा रवीन्द्रमा पुग्दा त्यो कवित्वपन अझै विकसित भएकोमा प्रसन्न थिए। आफ्नो रगतलाई राजकुमारको पदवी दिएर रवीन्द्रलाई दरबार बनाई दिने काम पनि महेन्द्रले नै गरे जुन अहिले रवि भवनका रूपमा कालीमाटी हाइटमा अवस्थित छ ।
नेपाली गीति आकाशमा रवीन्द्रको गीति सिर्जना अत्यन्तै सरल भईकन पनि अत्यन्तै नेपाली सामाजिक परम्पराका प्रतीक थिए। रवीन्द्रलाई राजप्रासादको भोग विलास चाहिएन। उनी श्रेष्ठ गीतकार कविका रूपमा विख्यात भए । राजपरिवारको सदस्य भन्दा पनि एउटा गीतकारका रूपमा रवीन्द्र विक्रम शाहलाई नेपाली श्रोताले माया र सम्मान गरिरहन्छन्। उनलाई राजनीति र राजप्रासादबाट बिलकुल अलग्याउनु पनि महेन्द्रका अरू दुई रानीहरूको भूमिका रह्यो। त्यस कारण पनि उनका गीतहरूमा बिछोडका स्वरहरू गुन्जिएका छन्। बाबुले जति श्रीमती ल्याए पनि आमा सौतेनी हुन्छिन् तर बाबु कहिले सौतेनी हुँदैनन् । राजा महेन्द्रको अविरल स्नेह र मायाको छहारी पाएका थिए गीतकार रवीन्द्रले
गीतकार रवीन्द्र आफू २५ वर्ष हुँदा आफ्नो रचना रेडियो नेपालबाट बजेको थियो । भनौँ २०२१ सालमा यिनको पहिलो गीत रेडियो नेपाल मार्फत रेकर्ड भई बजेको थियो। गीतकार रवीन्द्रको गीति शैली असाध्य भावुक कोमल र प्रेमिल थियो। यति हुँदाहुँदै उनका प्रायः गीतमा नेपालीपनको सुवास आउँछ। उनका प्रायः गीतहरूमा सङ्गीतकार नातिकाजीले सङ्गीत भरेका छन्। तत्कालीन हिट गायकहरू शिवशङ्कर, बच्चु कैलाश, फत्तेमान, नातिकाजी, पन्नाकाजीले,प्रेम ध्वजले गाएका छन्।
नारायण गोपालले स्वर दिएको उनको एउटा प्रसिद्ध गीत हो-
श्रद्धाको फूल चढाई दिनु आएर लासमा
नपाए फूल भै गयो, तिमी रोइदिनु आसमा ।
श्रद्धाको फूल चढाइदिनु आएर लासमा’ गोपाल योञ्जनको सङ्गीतमा नारायण गोपालले गाएको यो गीत नारायण गोपालको निधन हुँदा उनको शव यात्राको तयारीका बेला २०४७ मङ्सिर २० गते सर्वाधिक बजेको गीत मानिन्छ। यो गीत प्रज्ञा भवन कमलादीदेखि पशुपति आर्यघाटसम्म एक नाशसँग गुन्जिरहेको थियो। यो रवीन्द्र शाहको शब्द, गोपाल योञ्जनको सङ्गीतमा नारायण गोपालले गाएको एउटै सुपर हिट गीत हो। रवीन्द्र शाहको गीत सेन्टिमेन्टल र भावुक मात्रै होइन कोही अत्यन्तै रस्यौली ठट्यौली प्रेमिल पाराको पनि छन् ।
गायक पी एल श्रेष्ठले गाएको यो गीत अत्यन्तै लोकप्रिय गीतका रूपमा नेपाली साहित्यमा सुपरिचित छ –
“ढल्की ढल्की नहिँड नानी
म त छु है साह्रै नै बेमानी”