ओलीले राजावादीलाई दिए ‘बाँदर’को संज्ञा, भने- तिनलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो-Sutra News

ओलीले राजावादीलाई दिए ‘बाँदर’को संज्ञा, भने- तिनलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो

शनिबार, ३० चैत्र २०८१

शनिबार, ३० चैत्र २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी समूहलाई बाँदरको संज्ञा दिएका छन्।



शनिबार झापाको दमकमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्ने क्रममा उनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा देखिएको दृश्यको व्याख्या गर्दै अब देशमा तोडफोड, आगजनी, हत्या, हिंसाजस्ता कुराहरू स्वीकार गर्न नसकिने बताए।

‘जनतालाई भड्काएर आफ्नो दुनु सोझो पार्न खोज्नेहरू, यही मौका पारेर जनताले मिल्काएर रछ्यानमा पुगिसकेको राजतन्त्र फेरि फर्काउँछौं भन्नेहरू, उल्किन कति सकेको ?,’ प्रधानमन्त्री ओलीले भने, ‘दुई चार सडकछाप मान्छेहरूले राजा फर्काउँछौं भन्दा गाडीको हुटमाथि हात हल्लाउँदै हिँडेको सबै दृश्य देख्नुपर्‍यो। यी तमासाहरू यीनको तरिका के हो ? शैली के हो ?’

यस्ता तत्वले राजा फर्काउने भन्दै हिँडेको उल्लेख गर्दै उक्त प्रदर्शनमा सहभागी भन्दा पशुपतिका बाँदर नै राम्रो भएको व्यंग्य गरे।

‘राजा फर्काउने अरे, राजा फर्काएपछि ती प्रधानमन्त्री मन्त्री बन्ने अरे,’ ओलीले भने, ‘तिनीहरूलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ।’

चैत १५ गते तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौं भनेको तर त्यसो नगरेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘आगजनी गर्दै, अरुका पसल लुट्दै, क्रान्ति गर्ने, खुब ठूला परिवर्तन ल्याउने त रक्सीका बोतल चोरेर भाग्दै गरेका, स्याउ चोरेर भाग्दै गरेका, औषधि कारखाना आगो लगाउँदै गरेका यस्ताले बनाउँछन् देश ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार