‘बयलगाडे’ सिद्धान्तका ओलीबाटै गणतन्त्र खतरामा !-Sutra News

‘बयलगाडे’ सिद्धान्तका ओलीबाटै गणतन्त्र खतरामा !

शनिबार, ३० चैत्र २०८१

शनिबार, ३० चैत्र २०८१

काठमाडौं । गएको १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनका मुख्य कमान्डर दुर्गा प्रसाईं अहिले हिरासतमा छन्। २ जनाको ज्यान गरी भएको आन्दोलनमा अर्बौंको क्षति भयो। ३० भन्दा बढी घाइतेहरू अस्पतालमा छन्। सर्वसाधारणहरू अझै पनि आन्दोलन हुँदा त्यस्तै घटना दोहोरिन्छ कि भन्ने त्रासमा छन्।



पछिल्लो डेढ महिनायता देशमा राजावादी समूहहरू सक्रिय छन्। एकथरि सडकबाटै आन्दोलन गरिरहेका छन् भने अर्कोथरीले हिंसात्मक बाटो लिएका छन्। राजा फर्काउने भन्दै राजावादीहरूले तितरबितर भएर आन्दोलन गरिरहँदा गणतन्त्रवादीहरू भने एकजुट भएका छन्। शीर्ष दलका नेताहरू पूर्वराजालाई ‘ठेगान लगाउनुपर्ने’मा एकजुट देखिन्छन्।

यही परिदृश्यमा अहिले एउटा बहस जबर्जस्त छेडिएको छ- आखिर राजावादीहरू एक्कासि किन सक्रिय भए, कसले उचालिरहेको छ उनीहरूलाई, कसले जन्मायो र को उनीहरूको पछाडी छ ?
मुलत: राजावादीहरूले अहिले देशमा जारी दलतन्त्रबाट दिक्क भएका जनताहरू र त्यसबाट सिर्जित धमिलो राजनीतिमा खेल्न खोजिरहेका छन्। त्यही वितृष्णाको फोहोर पोखरीमा ज्ञानेन्द्रले राजतन्त्रको बल्छी हाल्ने नादान कोसिस गरेका हुन्। त्यसैको कारण पनि २०/२२ युवाहरू समेत सडकमा आएर ‘राजा आऊ, देश बचाऊ’ भनिरहेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाह र उनको नाममा मच्चिएको ताण्डवको निम्तो दिने तीन मूल पात्र एमाले अधक्ष्य केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अधक्ष्य पुष्पकमल दाहाल प्रचण्ड नै हुन्। यसमा अपवादलाई छोडेर सारा नेपालीकै एकमत छन्। उनीहरूकै चरम सत्ता लिप्सा, कार्यक्षमताको अभाव र भ्रष्ट आचरणकै कारण जनतामा गणतन्त्रप्रति वितृष्णा आएको हो।

यी मध्ये पनि नेपालमा राजावादीलाई हुर्काउने मूख्य पात्र हुन्- प्रधानमन्त्री समेत रहेका ओली।

किनभने
–२०६२/६३ को जनआन्दोलनका बेला नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुग्नु भन्ने केपी ओलीले २०७२को संविधान जारी हुँदा पनि असहमति राख्दै ‘आफू इच्छाले हैन, लत्रेर आइपुगेको’ भने। त्यसपछि तीन पटक प्रधानमन्त्री भएका उनले हरेक पटक संविधानको मर्ममाथि नै प्रहार गरे। राजावादीहरूलाई मलजल गरे।
–दुईतिहाई नजिकको प्रधानमन्त्री हुँदासमेत संघीयता कार्यान्वयन, गणतन्त्रको अभ्यास र संविधानको सफल कार्यान्वयन गरेनन्, जसले गर्दा राजावादीहरूले खेल्ने मौका पाए। जनता निरास भए।
–पछिल्लो समय पार्टी राजनीतिमा आन्तरिक लोकतन्त्रलाई कमजोर बनाए, विरोधीहरू पाखा लगाए। त्यसपछि जनताले भन्न थाले- राजा भन्दा कम भएनन् गणतन्त्रका नेता। अर्थात् ओलीले गणतन्त्रलाई धमिल्याए।
–देउवा र प्रचण्ड बाहेक विपक्षीलाई तुच्छ, सुन्नै नसकिने किसिमको शब्दमा आलोचना गर्ने, खुइल्याउने किसिमको प्रवृत्ति बढाए। जसबाट जनतामा राजनीतिप्रतिको नैराश्यता बढ्यो।

त्यसबाहेक पनि ओलीले हुर्काएका यी पात्र जो राजावादी बने,

राजेन्द्र लिङ्देन

३४ वर्षदेखि राजसंथाको पक्षमा वकालत गर्दै आएको राप्रपालाई आजको दिनसम्म फाल्न र फुलाउन मेहनत गर्ने पात्र ओली नै हुन्। त्यतिमात्र हैन, राजा फर्काउनको लागि अहिले सडकमा आन्दोलन गरिरहेको राप्रपाका अधक्ष्य राजेन्द्र लिङ्देनलाई ‘नेता’ बनाउने उनै ओली हुन्। किनभने ओलीले झापा ५ मा चुनाव जित्न सधैँ झापा ३ मा लिङ्देनसँग तालमेल गरे। लिङ्देन ओलीको कृपा र एमालेकै मतले जित्दै आएका छन्।

प्रश्न ओलीले लिङ्देनलाई जिताएकोमा मात्र सीमित छैन, एक कट्टर गणतन्त्रवादी नेता कृष्णप्रसाद सिटौलालाई हराएर के पुष्टि गर्न चाहन्छन् ओली भन्ने मूल प्रश्न हो। ओलीले एकपटक हैन, पटकपटक लिङ्देनलाई जिताएर सिटौलालाई हराउनुको अन्तर्य उनी गणतन्त्र हारोस् भन्नेमा छन्।

त्यतिमात्र हैन, ओलीकै कारण लिङ्देन सांसद हुँदै उपप्रधानमन्त्री समेत भएका छन्। अहिले उनी संसदमा ‘राजावादी यहाँ छ’ भन्दै छाती ठोक्दै चिच्याइरहन सक्ने बनाएको पनि ओलीले नै हो।

कमल थापा

कमल थापाको कुरा गर्दा उनी २०६२/६३ को जनआन्दोलन दबाउने ज्ञानेन्द्रका गृहमन्त्री हुन्। उनै थापालाई ओलीले गएको निर्वाचनमा एमालेको सूर्यचिन्ह दिए। सामान्य अवस्थामा यस्तो सम्भावनाको कल्पना पनि गर्न सकिँदैन। तर, ओलीले पार्टीभित्र विरोध हुँदाहुँदै पनि यसो गरे।

ओली त्यतिमा मात्र रोकिएका छैनन्, ओलीले कमल थापालाई त आफू प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री बनाए, त्यो पनि परराष्ट्र मन्त्रालय दिएर। थापाका कुकर्ममार्फत पनि ओलीले गणतन्त्रमाथि नै प्रहार गरे।

जगमान गुरुङ

जगमान गुरुङ राजावादी हुन् भन्ने थाहा पाएर नै ओलीले उनलाई नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति बनाइदिए। स्वघोषित ‘नेपाल ऋषि’ जगमान गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्य हुँदै कुलपति नै बन्न भ्याए। बैशाससम्ममा राजा आएनन् भने सारा ज्योतिषशास्त्र नै जलाइदिन्छु भनिरहेका उनी अहिले त राजसंस्था स्थापना संघर्ष समितिका संयोजक नै छन्। त्यतिमात्र हैन, उनले राजावादी हिंसात्मक आन्दोलनमा पक्राउ परेकाहरूलाई सरकारले नछाडे आफू पनि गिरफ्तारी दिने चेतावनी दिएका छन्।

दुर्गा प्रसाईं

मेडिकल व्यवासयामा कुख्यात नाम दुर्गा प्रसाईंलाई आजको प्रसाईं बनाउने नै ओली हुन्। ओलीले सबै किसिमका प्रक्रिया मिच्दै ओलीले उनलाई एमालेको केन्द्रीय सदस्य मात्र हैन, एउटा विभागको नेतृत्व नै सुम्पेका थिए। त्यतिबेला ओलीको छत्रछायामा प्रसाईंले जे जति गरे त्यो सबै गणतन्त्रको मर्म विपरीत थियो। अनि त्यसलाई उकास्ने काम पछाडीबाट ओलीले गरिरहेका थिए। अहिले उनी राजा फर्काउने आन्दोलनको कमान्डर भएर उपद्रो मच्चाइरहेका छन्।

धवलशम्शेर राणा

त्यसका अलावा पनि धवलशम्शेर राणा २०७९ को आमनिर्वाचनमा एमालेसँगको तालमेलमा बाँकेबाट सांसद भए। अहिले उनी राजावादी राप्रपाको महामन्त्री मात्र छैनन्, राजावादी आन्दोलनकै कमान्डर छन्।

त्यसैले पनि हुनुपर्छ, ओलीलाई आजसम्म पनि धेरैले गणतन्त्रवादी हो भनेर भन्न सकेका छैनन्। माओवादी अध्यक्ष प्रचण्ड पटक-पटक ओली गणतन्त्रवादी हुन् भन्नेमा शंका गरिरहन्छन्। त्यतिमात्र हैन, राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीले पनि भनेका छन्, ‘ओली पनि राजावादी नै हुन्।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार