

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । शुक्रबार एकै दिन प्रतितोला ३९ सय रुपैयाँले बढेर रेकर्ड कायम गरेको सुनको मूल्यले आइतबार पुनः प्रतितोला १ हजार रुपैयाँले बढ्दै नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
यसअघि शुक्रबार प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
निरन्तर वृद्धिका बिच पछिल्लो सातामा मात्रै सुनको मूल्यमा ११ हजार ५ सय रुपैयाँले बृद्धि भएको छ । गत साताको पहिलो कारोबार दिन (आइतबार) सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५ सय रुपैयाँ थियो ।
सुनको मूल्यमा एकपछि अर्को रेकर्ड बनिरहँदा चाँदीको मूल्य पनि बढिरहेको छ । शुक्रबारको तुलनामा आइतबार प्रतितोला ५५ रुपैयाँ चाँदीको मूल्य बढेको महासंघले जनाएको छ ।
मूल्य बढेसँगै आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६० रुपैयाँ पुगेको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार २३८ डलरमा किनबेच भइरहेको छ ।