

प्रधानमन्त्री राष्ट्रका कार्यकारी प्रमुख मात्रै नभएर राष्ट्रका अभिभावक पनि हुन । राष्ट्र प्रमुखको अभिव्यक्तिले सिङ्गो राष्ट्रको गरिमालाई उद्बोधन गर्छ, प्रतिनिधित्व गर्छ । हाम्रा प्रधानमन्त्री केपी ओली अहिले नेपाल राष्ट्रका केवल प्रधानमन्त्री मात्रै होइनन्, उनी त नेपाली जनताका आशा सपना र समस्या समाधानका न्यायाधीश पनि हुन । उनले बोलेका कुराहरूले जोकोही पनि नेपालीको मन दुख्नु र दुखाउनु हुन्न ।
बेलायतका प्रधानमन्त्री ब्रिटिस राजनीतिज्ञ, लेखक विस्टन चर्चिल, जो १९४० देखि १९४५ मा बेलायतको प्रधानमन्त्री थिए । उनी उदारवादी पार्टीको सदस्य पनि थिए । प्रधानमन्त्री भएको बखत उनले पार्टीको कुरा गर्दैनथे । वैचारिकरूपमा र आर्थिक उदारतावादका एक कट्टर हिमायतीका रूपमा आजसम्म पनि विश्वले उनलाई सम्मानको नजरले हेर्छ । खासगरी बेलायती शासकहरूले मासलाई सम्बोधन गर्ने भाषाका बारेमा हिट्लरको समेत प्रशंसा गरेका छन् । नरम बोली नै सभ्यताको पहिचान हो ।
१९१० मा नेपालका प्रधानमन्त्री जङ्गबहादुर बेलायत भ्रमणमा जाँदा बेलायतका डिप्लोम्याटहरूले प्रयोग गर्ने सम्बोधन÷भाषा प्रयोग र बोलचालमा नरमपनको बारेमा जङ्गबहादुरले राम्रोसँग सिकेर अभ्यस्त भएर आएका थिए भन्ने कुरा उनको बेलायत यात्रा सम्बन्धी पुस्तकमा समेत उल्लेख छ । नत्र जङ्गी भाषा अनुरोध र आदर्शको भाषा नभएर अर्डरको भाषा हुन्थ्यो । शासक हुँदैमा रुखो भाषा बोल्नुपर्छ भन्ने जरुरी छैन । जति गरम त्यति खत्तम भन्ने कुरा त अहिले हाम्रा प्रधानमन्त्रीको भाषा प्रयोगले नै देखाइरहेको छ । जति शरम त्यति शरण, जति शरण त्यति नरम अनि त्यति नै सबैको प्रिय पात्र होइन्छ भन्ने कुरा संसारलाई राजनीतिक सभ्यता सिकाउने बेलायती अनुशासन र कानुनलाई आज विश्वले अनुसरण गरिरहेको छ ।
हाम्रा प्रधानमन्त्रीको भाषा
प्रधानमन्त्री केपी ओलीको हरेक सम्बोधन तथा भाषणमा उनी एमाले पार्टी अध्यक्षको हैसियतमा बोल्छन् न कि प्रधानमन्त्रीका रूपमा । उनी राष्ट्रका अभिभावक हुन । घरमा एक बाबुले आफ्ना सन्तानमाथि अभिभावकत्व ग्रहण गरिसकेपछि, कसैलाई काखा, कसैलाई पाखा, कसैलाई गाली, कसैलाई ताली, कसैलाई खाली, कसैलाई हालीमुहाली गरेर बोल्न हुन्न । त्यसरी बोल्न थाल्यो र त्यस्तै किसिमको व्यवहार गर्न थाल्यो भने त्यो परिवार विखण्डन हुन्छ । बाबुकै कारणले मिलेर बसेको घर भताभुङ्ग हुन्छ । हाम्रा प्रधानमन्त्रीको रुखो बोलीका कारण कयौँ मानिस उनलाई रुचाउँदैनन् ।
उनी हरेक बोलीमा आफूले मन नपरेका व्यक्ति, पार्टी, संस्था, संघसंगठन आदिलाई तल्लो स्तरका भाषा प्रयोग गर्छन् । उनी आफू बाहेक अरू सबैलाई पटमूर्ख देख्छन् । कसैलाई ‘कुहिएको फर्सी’, कसैलाई ‘गोरु’, कसैलाई ‘बाँदर’, कसैलाई ‘अल्छि अनि अज्ञानी’, कसैलाई ‘खान नपाका, घिच्न नपाका’, कसैलाई ‘चोर’ त कसैलाई ‘पानी मरुवा’का उपमा दिन्छन् । कसैसँग व्यक्तिगत इगो लिएर बोल्ने र सार्वजनिक समारोह मै आफूलाई मन नपर्ने मान्छेको उछित्तो काढ्ने बानी ओलीमा देखिन्छ । नयाँ पार्टीका नेताहरूलाई उनले गोबरसँग समेत तुलना गरेका छन् । त्यस्तो पछिल्लो सिकार भएका छन् रवि लामिछाने । पछिल्लो समय प्रधानमन्त्रीको शब्द कोप भाजनमा परेका थिए, कुलमान घिसिङ, रवि लामिछाने, बालेन शाह, हर्क साङपाङदेखि राप्रपाका नेताहरू ।
प्रधानमन्त्री बोल्दा, प्रधानमन्त्री बोले जस्तो लाग्दैन । उनको तुच्छ भाषा प्रयोगको दृष्टिकोणले उनी एक अभिमानी, घमन्डी, धेरै उखान टुक्का जानेको, कुनै पार्टीको छुच्चो कार्यकर्ता बोले जस्तो सुनिन्छ । तर, प्रधानमन्त्री बोल्दा राष्ट्रको एक पिता बोले जस्तो सुनिनुपर्छ, बुझिनुपर्छ । बोलीमा नरमपन, व्यवहार र चरित्रमा आदर्शपन, दृष्टिकोणमा स्वाभिमान, कर्ममा निःस्वार्थीपन हुनु राष्ट्रको अभिभावक अर्थात् प्रधानमन्त्रीमा हुनुपर्ने विशेषता हुन् । एकछिन गहिरिएर चिन्तन गरौँ त के आदर्श र आदरणीय भाव प्रधानमन्त्री केपी ओलीको बोली र व्यवहारमा छ त ?