

काठमाडौं । आइतबार चितवन पुगेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्पष्टसँग भने– नयाँ वर्षमा नयाँ सरकार बन्छ !
प्रचण्डका अनुसार विकसित परिस्थितिले बाध्यकारीरूपमा सरकार फेरिने अवस्था बनाएको छ । “पछिल्लो पटक घटनाक्रमहरू नयाँ भए, केही नयाँ अनुभव सहित भनेको हो मैले”, प्रचण्डले भनेका छन्, “केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो, मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ ।”
प्रचण्डले हालै एक टेलिभिजनसँगको अन्तरवार्ताका क्रममा पनि वर्तमान सरकारको विकल्प खोज्नु बाध्यकारी बनेको बताएका थिए । सरकारको विकल्पका लागि माओवादीले कुनै सर्त नराखी सघाउने प्रचण्डको भनाई छ । सरकारको नेतृत्व लिने गरी अघि सर्न कांग्रेसलाई प्रचण्डले खुलारुपमा आग्रह गरेका छन् ।
“मचाहिँ प्रधानमन्त्रीको रेसमा ०८४ सम्म छैन, यो एकदम प्रस्ट हो”, प्रचण्डले अगाडि भनेका छन्, “देशको संकटको स्थिति जस्तो देखा परेको छ, यसको निकास दिन सबैभन्दा ठूलो दलको नाताले पनि, शान्ति सम्झौताको हस्ताक्षर दलको नाताले पनि, नेपाली कांग्रेसले निकास दिन आँट गर्नुपर्छ, हामी सरकारमा रहेर वा सरकार बाहिर रहेर पनि सहयोग गर्न सक्छौँ ।”
प्रचण्डले खुलारूपमा सरकार बदल्ने गरी कसरत थाल्दै गर्दा सत्तारुढ कांग्रेसभित्रै पनि सरकारलाई लिएर असन्तुष्टि चुलिँदो छ । इतर पक्षीय नेता डा. शेखर कोइरालासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खुलारूपमै सरकारको कामलाई असन्तुष्टि पोखिरहेका छन् ।
“यो कांग्रेस सम्मिलित सरकार हो, तर हामी सत्तामा छौँ, सरकारमा छैनौ”, काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा डा. कोइरालाले भनेका छन्, “कहीँ कतै यो सरकारले गलत गरिरहेको छ कि भनेर हामीले खबरदारी गरिराख्नुपर्छ, यदि खबरदारी भएन भने यसले कांग्रेसलाई भविष्यमा अप्ठेरो पर्न सक्छ ।”
सरकारप्रति असन्तुष्टि जनाउँदै खबरदारी गर्ने शैलीमा कोइराला देखिरहँदा महामन्त्रीद्वय थापा र शर्माले भने सरकारविरुद्ध आक्रोश पोखिरहेका छन् । महामन्त्री थापाले सरकारको गलत कामले हैरानी हुनुपर्ने अवस्था बनेको बताएका छन् ।
“जुन निर्णय गर्नुपर्ने थिएन, त्यो निर्णयका कारण साथीहरूले उत्तर दिँदै हिँड्नुपरेको छ, हाम्रा साथीहरूले अनावश्यक रूपमा सामाजिक सञ्जालमा मात्र नभएर टोलमा हप्की खानुपरेको छ”, शनिवार एक कार्यक्रमलाई सम्बोधनका क्रममा थापाले भनेका छन्, “तिमीहरूले गरेको राम्रो कामको प्रचार गर्न पाऊँ न, नगर्नुपर्ने काम नगर, गर्नुपर्ने काम मात्रै गर न ।”
यता, महामन्त्री शर्माले पनि सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रमका मार्फत सरकारप्रति आक्रोश पोखिरहेका छन् । विशेषगरी सत्ता नेतृत्वकर्ता एमालेले देशव्यापीरूपमा गरिरहेको प्रदर्शनप्रति शर्माको आलोचना छ ।
“प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन, सरकारको प्रदर्शनमा ध्यान केन्द्रित गर्न जरुरी छ, प्रधानमन्त्रीज्यू, सरकारको गति बढाउन र सरकारको प्रदर्शन सुधार्नतर्फ लाग्नुस्”, शर्माले शनिवार फेसबुक स्ट्याटस लेख्दै भनेका छन्, “आज दिनभर प्रधानमन्त्रीज्यूको समय शिक्षक आन्दोलनको हल खोज्न केन्द्रित हुनुपर्थ्यो तर, प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नुभयो ।”
प्रतिपक्षी ओली सरकारको विकल्प खोज्न कस्सिइरहँदा स्वयं सत्तारुढ कांग्रेसभित्र असन्तुष्टि बढ्दो छ । जसमा सरकारको प्रतिरक्षा उभिएका पार्टी सभापति शेरबहादुर देउवा समेत असहजतामा देखिन थालेका छन् । सरकारको खुलेर समर्थन गर्ने देउवाले चौतर्फी आलोचना भइरहँदा अभिव्यक्तिलाई बदल्न थालेका छन् ।
शनिवार एक कार्यक्रममा सम्बोधनका क्रममा देउवाले सरकारको समीक्षा गर्नुपर्ने कोणबाट अभिव्यक्ति दिएका थिए । “डा. शेखर कोइरालाजीले भनिसक्नुभयो, सरकारको नाममा धेरै ठुलो बदनामी भइरहेको छ, उहाँले यो नहोस् भनिसक्नुभयो”, कोइरालासँगै उभिएका देउवाले भनेका छन् ।
देउवाको अभिव्यक्तिलाई केलाउँदा उनी स्वयं पनि सरकारको समीक्षा गर्ने पक्षमा देखिएका छन् ।