

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनामा हिंसा भएको स्वीकार गरेका छन्। शाहले नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख समेत व्यक्त गरे।
‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लागेको छ,’ पूर्वराजा शाहले भनेका छन्।
उनले नागरिक स्वतन्त्रताभन्दा ठुलो अरु कुनै तन्त्र नहुने समेत बताएका छन्। वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत शाहले बताएका छन्।
गत चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा २ जनाको ज्यान जानुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए। त्यस क्रममा अर्बौंको क्षति भएको छ भने ३० बढी घाइतेको उपचार भइरहेको छ।