

काठमाडौं । शुक्रबार संसदीय समितिमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोधपुछका लागि बोलाउने विषयले प्रवेश पायो। सांसदहरूले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्मा बोलाउने प्रस्ताव गरे। ज्ञानेन्द्र जवाफदेही हुनुपर्ने भन्दै सांसदहरूले जवाफ लिनेगरी संसदीय समितिमा बोलाउनुपर्ने बताए।
कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताएका थिए। ‘पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै भएपनि बोलाएर घटनाबारे सोधपुछ गरौं,’ उनले भने।
पूर्वराजा ज्ञानेन्द्र आम नागरिक सरह रहेको बताउँदै उनले अघि थपे, ‘उनलाई पनि नागरिकलाई जति अधिकार हो त्यति अधिकार छ। लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन।’
कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले पनि तीनकुने घटनाबारे पुर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग राखे। जुन बैठकमा गृहमन्त्री रमेश लेखक, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसहितका पदाधिकारीहरू उपस्थित थिए।
पूर्वराजा ज्ञानेन्द्र शाहले गत ७ फागुनमा प्रजातन्त्र दिवसको शुभकामना दिने नाममा जनतालाई उक्साएको, २५ फागुनमा त्रिभुवन विमानस्थल अगाडि स्वागतका नाममा शक्ति प्रदर्शन गरेको आरोप सांसदहरूको छ।
१५ चैतमा तीनकुनेमा राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरेका थिए। त्यसक्रममा दुई जनाको ज्यान जानुका साथै आसपासका निजी र सार्वजनिक सम्पत्तिमा क्षतिपुगेको थियो। प्रदर्शनकारीहरूले विभिन्न राजनीतिक दल, सञ्चारमाध्यमका कार्यालयहरूमा आगजनी र तोडफोड गरेका थिए। जसको कारण अर्बौंको क्षति भएको छ भने ३० बढी घाइतेको उपचार भइरहेको छ।
त्यसअघि नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले पूर्वराजा ज्ञानेन्द्रको मौनताले आशंका जन्माएको भनेका थिए। उनले भने, ‘फागुन ७ गतेको अभिव्यक्तिले पूर्वराजा ज्ञानेन्द्रलाई तीनकुने घटनाप्रति जवाफदेही बनाउँछ।’
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार पूर्वराजा ज्ञानेन्द्र प्रश्नबाहिर रहन सक्दैनन्। ‘त्यो घटनाको अनुसन्धान प्रक्रियामा कहीँ न कहीँ पूर्वराजालाई प्रश्नको दायरामा, जवाफदेहिताको दायरामा ल्याउनुपर्छ,’ उनले भनेका थिए।
सत्तारुढ नेपाली कांग्रसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वाराजाको अभिव्यक्तिको विषय उठाएकी थिइन्। ‘पूर्वराजाले फेरि सत्तामा फर्कन खोज्नु, आफ्ना समर्थकलाई त्यसमा साथ दिन आह्वान गर्नु, पक्षधरहरूले साथ दिनु कुनै आश्चर्यको विषय भएन,’ उनले भनिन्।
त्यसबाहेक पनि कांग्रेस सभापति शेरबहादुर देउवाले ‘राजा हुनै नसक्ने असक्षम व्यक्ति’ भनिसकेका छन् भने माओवादी अधक्ष्य पुष्पकमल दाहाल प्रचण्डले त ‘भाइरमा, मुर्ती चोर’ भन्दै उनीबाट देश नबन्ने बताएका छन्। उता सतारुढ एमाले अधक्ष्यसमेत रहेका केपी ओलीले त पटक-पटक सार्वजनिक कार्यक्रमहरूमा राजावादीलाई आलोचना गरिरहेका छन्।
त्यसैको नैतिक दबाबमा परेका पूर्वराजाले आज नयाँ वर्ष २०८२ को शुभकामना सन्देश जारी गर्दै तीनकुने घटनामा आफू दुखी भएको वक्तव्य दिए। तथापि तीनकुने घटनामा हिंसा भएको स्वीकार गरेका छन्। ‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दु:ख लागेको छ,’ पूर्वराजा शाहले भनेका छन्।
मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्याउँदै आएको उनले बताए।
‘संसार धेरै अघि बढिसक्यो। तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं,’ पूर्वराजा शाहले भनेका छन्, ‘नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ। हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ।’
राजसंस्था फर्किनेप्रति संकेत गर्दै उनले थपे, ‘आगामी वर्ष नेपालकी इतिहासको सुनौलो सम्झना बन्नुपर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं।’
उनले राजावादीलाई थप उक्साउदै देश नै अब पृथ्वीपथमा जानुपर्ने तर्क गरे। ‘राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ? सन्तुलित कुटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मुल सार हो। यही नै राजनीतिको मूल धार हुनुपर्ने हो,’ उनले भने।
यसअघि दोस्रो जनआनोलन चर्किदै गएपछि त्यसलाई थेग्न नसकेका ज्ञानेन्द्रले त्यसबेला पनि गणतन्त्र चाहने दलहरूसंग घुँडा टेकेर देश सत्ता त्यागेका थिए। यसपटक पनि उनले गणतन्त्रवादी दलको दबाब थेग्न नसकेर उनले तीनकुने घटनाका सम्बन्धमा मुख खोलेका हुन्।