वर्ष समीक्षा : झण्डै ५० हजारले बढ्यो सुनको मूल्य !-Sutra News

वर्ष समीक्षा : झण्डै ५० हजारले बढ्यो सुनको मूल्य !

सोमबार, १ बैशाख २०८२

सोमबार, १ बैशाख २०८२

काठमाडौं । गएको वर्ष २०८१ मा सुनको मूल्यमा झण्डै ५० हजार रुपैयाँले बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार वर्षको सुरुको कारोबारदेखि अन्तिम दिनको कारोबारसम्म आउँदा सुनको मूल्यमा तोलामै ४९ हजार २ सय रुपैयाँले बृद्धि भएको हो ।



गएको वर्ष २०८१ को पहिलो दिन वैशाख २ गते स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भएको थियो । तर, वर्षको अन्तिम कारोबार दिन चैत ३१ मा आउँदा सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सुनको मूल्य उच्च वृद्धि भइरहँदा चाँदी पनि तोलाकै २६० रुपैयाँले वृद्धि भएको छ । गत वर्षको पहिलो कारोबार दिन प्रतितोला १७ सय रुपैयाँले किनबेच भएको सुनको मूल्य अन्तिम कारोबार दिन चैत ३१ मा आउँदा प्रतितोला १ हजार ९६० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

योबिचमा भन्सारदर हेरफेरसँगै सुनको मूल्यमा व्यापक तलमाथि भएको थियो । सरकारले २० प्रतिशतको भन्सारदरलाई गत मंसिर १० देखि लागु हुने गरी १० प्रतिशतले घटाएको थियो ।

भन्सारदर हेरफेरअघि प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य भन्सारदर परिवर्तनपछि वैशाख १० मा एकै पटक १ लाख ५१ हजार ३ सय रुपैयाँमा झरेको थियो । यद्यपि, त्यसयता पनि सुनको मूल्य सस्तिएन ।

भन्सारदर हेरफेरयता मात्रै सुनको मूल्यमा ३४ हजार ७ सय रुपैयाँले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार