महाभारतदेखि नरोकिएको युद्ध…-Sutra News

महाभारतदेखि नरोकिएको युद्ध…

सोमबार, १ बैशाख २०८२

सोमबार, १ बैशाख २०८२

महाभारत युद्ध हुनका लागि वातावरण कसरी बनिरहेको थियो ? न त्यो कौरव पक्षलाई ज्ञात थियो, न पान्डव पक्षलाई नै अनुभूति थियो । वातावरण आ–आफै तयार भयो । आततायी पक्षलाई हराउन एक श्रीकृष्ण नै प्रशस्त थिए । र, महाभारत युद्धका अविजित योद्धा श्रीकृष्ण नै थिए । सामाजिक मर्यादा नाघेर कुलनाशको उद्धतमा उर्लिएका कौरवहरूको आततायी क्रियाकलापलाई कृष्णले मौन भएर हेरिरहेका थिए ।



महाभारत युद्ध हुनुपूर्व एक दिन कर्णले भगवान् श्रीकृष्णलाई सोधे, “मेरो आमाले मलाई जन्मँदै त्यागिन् । क्षेत्रीय नभएको हुँदा द्रोणाचार्यले मलाई शिक्षा दिन इन्कार गरे । मैले के अपराध गरेको थिए र कृष्ण ? द्रौपदीको स्वयंवरमा समेत मलाई अपमानित गरियो । मेरो के कसुर थियो ? म कहाँ र कहिले कसरी चुकेको थिएँ ? गल्ती नगर्दा पनि किन सजायको भागिदार हुनुपर्छ कृष्ण ?”

कर्णको बिलौना सुनेर कृष्णले मुस्कुराउँदै भने, “कर्ण ! मेरो जन्म जेलमा भयो । आफ्नै मामाले मलाई सबैभन्दा ठूलो शत्रु ठानेँ र म नजन्मँदै मलाई मार्ने षड्यन्त्र कयौं पटक गरे । म जन्मेकै रात मलाई मेरा आमा–बुबासँग छुट्टाइयो । मैले न कुनै शिक्षा पाएँ, न कुनै संस्कार सभ्यता पाएँ, न मलाई कुनै महल दिइयो, गाई चराउँदै, गोबर फाल्दै यसैगरी म हुर्किँए, बढे, मेरो जीवनलय यसरी नै बग्यो धारामा प्रिय कर्ण । म बाँसुरीको धुनसँग रमाए, गाइसँग रमाए, खोलासँग रमाए, गोलोक मेरो प्रिय भूमि रह्यो । यहाँ कसलाई कति अन्याय भयो ? र, कसको कति अपमान भयो ? भन्ने कुराले खासै अर्थ राख्दैन जिन्दगीमा, किन कि हरेक मानिसको जीवनमा कुनै न कुनै रूपमा मान र अपमान, दुःख र सुख अवश्य भोग्नुपर्छ ।”

कर्णलाई अर्ति दिँदै अझै अगाडि कृष्णले भने, “प्रिय कर्ण यहाँ दुःख छ र त सुखको महत्व छ । रात छ र त दिनको महत्व पनि छ । यो दुनियाँमा खराब मनुष्य छन् र त असल मनुष्य उदाहरणमा आउँछन् । अर्थ केले राख्छ भने आफू आफैमा कति इमानदार छु भन्ने कुरामा आफै दृढ निश्चित हुनुपर्छ र आएका ती सबै चुनौतीलाई आफ्नो कर्म ज्ञानले कसरी सामना गर्छौ त्यसमा भर पर्छ !”

हामी आफू लायक हुँदैनौ तर, अरूलाई नालायक भनेर कुरा काटिरहेका हुन्छौँ । पृथ्वीमा मनुष्य जीवन सबै जीवात्मा भन्दा सर्वश्रेष्ठ प्राणी हो ।

मनुष्यको खोज, विचार, बुद्धि, विवेक, अनुसन्धान, चिन्तनका कारण नै हो हिजोको जंगली जीवनयात्राबाट आजको यो समुन्नत, अत्याधुनिक, डिजिटल युगमा हामी प्रवेश गरेको । महाभारत युद्ध भएको ५ हजार वर्षपछि पनि पृथ्वीमा ठूला–ठूला युद्धहरू भइरहे । खासगरी इशापूर्व चारौँ–पाचौं शताब्दी अघि अहिलेको युरोपेली सभ्यता निर्माण हुँदासम्म युद्धहरू भइरहेका थिए । जर्मन, फ्रान्स जस्ता देशहरू विकसित हुनुपुर्व ग्रिक सभ्यताले सन्सार प्रभावित थियो । दुई ठूला विश्वयुद्धपछि मानव सभ्यताको पुनर्जागरण काल सुरु भयो ।

महाभारतकालको त्यही युद्ध अंशको बिम्बात्मक परम्परा अझैसम्म पनि मानव धर्तीमा कायम छ । सन् २०१४ देखि रसिया र युक्रेनबिच पटक–पटक युद्ध भइरहेको छ । अहिलेसम्म पनि युद्ध जारी छ । रुस र युक्रेनी सेनाहरू हजारौँ मारिए, खरबौँका मानव निर्मित सभ्यता र सम्पत्ति ध्वस्त भए । युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास पनि जारी छ । तर, हार्न कोही चाहँदैनन् । सबैमा जितको घमन्ड जागृत भएसम्म यो विश्वबाट युद्ध हराउँदैन ।

महाभारतयुद्धमा कति भौतिक सम्पत्ति र कति अक्षौहिणी सेना समाप्त भए, त्यसको लेखाजोखा पृथ्वीको गर्तमा सेलाएको छ । सभ्यताको पूर्ण विकसित अवस्थामा पुगेको आजको मानिस खुकुरी ढुंगा र भौतिक हतियारबाट हिजोको दिनमा युद्ध गथ्र्यो भने आज लेजर किरणबाट, सयौँ माइल परसम्म हान्न सकिने अत्याधुनिक रकेटबाट युद्ध गर्ने अवस्थामा आइपुगेको छ ।

तर, ज्ञानको असीमितताबाट पूर्ण आजको मानव अझैसम्म पनि उसमा दानवीय प्रवृत्ति हट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार