प्रचण्ड प्रस्तावकाे तरंग : एमाले आतंकित, कांग्रेस पर्ख र हेरमा !-Sutra News

प्रचण्ड प्रस्तावकाे तरंग : एमाले आतंकित, कांग्रेस पर्ख र हेरमा !

सोमबार, १ बैशाख २०८२

सोमबार, १ बैशाख २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई गरेको सरकार फेरबदलको प्रस्तावप्रति सत्ता नेतृत्वकर्ता नेकपा (एमाले)ले विरोध जनाएको छ । सोमबार सचिवालय बैठक राख्दै एमालेले प्रचण्डको अभिव्यक्ति औचित्यहीन र भ्रम सिर्जना गर्ने खालको भएको टिप्पणी गरेको छ ।



एमालेले प्रचण्डको अभिव्यक्तिलाई सरकारबाट बाहिर हुँदाको कुण्ठा र पीडा बोधको रूपमा अर्थ्याएको छ ।

“प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ, यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडा बोध प्रकट भएको भन्ने हाम्रो निष्कर्ष हो”, सचिवालय बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, “अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ, न औचित्य छ, राष्ट्रिय राजनीतिको यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरा मात्र गर्नु भनेको सत्ता मोहबाहेक केही होइन ।

एमालेले प्रचण्डको अभिव्यक्ति औचित्यपूर्ण नभएको भन्दै भ्रमित नहुन पनि आग्रह गरेको छ । “भ्रम सिर्जना गर्ने कोसिस भएको छ, त्यसलाई हामीले खण्डन गरेका छौँ”, ज्ञवालीले भनेका छन् ।

यद्यपि, प्रचण्ड अभिव्यक्तिबाट एमाले निकै तरंगित देखिएको छ । एमालेले सोमबार राखेको सचिवालयको बैठकको मूल्य एजेन्डा नै प्रचण्ड अभिव्यक्तिमाथि केन्द्रित देखिन्छ ।

कांग्रेसभित्र सरकारबारे असन्तुष्टि प्रकट भइरहेको बेला एमालेले बैठक राखी निर्णय छलफल गरेको हो ।

प्रचण्ड अभिव्यक्तिले एमाले तरंगित बनिरहँदा कांग्रेस नेतृत्व भने मौन देखिएको छ । कांग्रेसले प्रचण्डको अभिव्यक्तिलाई धैर्यपूर्वक हेरेको देखिन्छ ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रचण्डको भनाई प्रतिपक्षीको हैसियतमा आएको बताएका छन् । तर, प्रचण्डले भने जस्तो सरकार परिवर्तन तत्काल सम्भव नरहेको उनको भनाई छ ।

“सरकारको नेतृत्व परिवर्तनबारे उहाँ (प्रचण्ड)ले दिएको अभिव्यक्ति प्रतिपक्षीय दृष्टिकोणबाट आएको छ, तर, आजको सन्दर्भमा कांग्रेस र एमालेबिचको सहमति, समझदारी र सहकार्यबाहेकको विकल्प देखिएको छैन”, उनले भनेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने खुलारुपमै कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिने गरी अगाडि बढ्न आग्रह गरेका छन् । उनले माओवादी केन्द्रले देउवा नेतृत्वमा बन्ने सरकारलाई बिना सर्त सहयोग गर्ने पनि बताएका छन् ।

विशेषगरी अहिलेको राजनीतिक असहजताको निकास कांग्रेसले मात्रै दिन सक्ने तर्क प्रचण्डको छ ।

“मचाहिँ प्रधानमन्त्रीको रेसमा ०८४ सम्म छैन, यो एकदम प्रस्ट हो”, प्रचण्डले खुलारुपमा भनेका छन्, “देशको संकटको स्थिति जस्तो देखा परेको छ, यसको निकास दिन सबैभन्दा ठूलो दलको नाताले पनि, शान्ति सम्झौताको हस्ताक्षर दलको नाताले पनि, नेपाली कांग्रेसले निकास दिन आँट गर्नुपर्छ, हामी सरकारमा रहेर वा सरकार बाहिर रहेर पनि सहयोग गर्न सक्छौँ ।”

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार