

मुस्ताङ । काठमाडौंबाट एक दिनमै आउन सकिने हुँदा मुस्ताङका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गर्नेक्रम बढेको हो ।
विभिन्न हलिउड, बलिउड र कलिउडका चलचित्र छायाङ्कन गर्नका लागि जनशक्ति, उपकरण र बन्दोबस्तीका सामान ढुवानी गर्न सहज भएसँगै मुस्ताङमा चलचित्र छायाङ्कन गर्नेहरू आकर्षित भएका हुन् । जिल्लाको पृथक भूगोलमा छायाङ्कन गर्न पछिल्लो समय चलचित्रकर्मी निकै लालायित हुने गरेको पाइएको छ ।
हिमाली शृङ्खला, प्राकृतिक भूगोल, जैविक तथा सांस्कृतिक विविधताका साथै यहाँको लोभलाग्दो कृषि र पशुपालन गर्ने संस्कृतिलाई चलचित्रको पर्दामा कैद गर्न पछिल्ला केही वर्षयता चलचित्रकर्मीको लर्को नै लाग्ने गरेको पाइएको छ ।
सडक नहुँदाको तत्कालीन अप्ठ्यारो परिस्थितिमा समेत मुस्ताङमा हिन्दी चलचित्र खुदा गवाह सुटिङ भएको थियो । भारतीय अभिनेता अमिता बच्चन त्यस समयको कठिन परिस्थितिका बेला पनि मुस्ताङ आएर सुटिङ सकाएका थिए । तर, त्यसबेलाको कठिन परिस्थिति अहिले पूरै फेरिएको छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले एकैदिन मुस्ताङ आएर चलचित्र सुटिङ गर्न पाइने भएकाले पनि मुस्ताङमा चलचित्र छायाङ्कनका लागि आउनेको सङ्ख्या बढ्दै गइरहेको जानकारी दिए । जिल्लामा विभिन्न देशका चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म सुटिङ गर्न सहज हुने गरी यहाँका स्थानीय तहले सीमित राजस्व सङ्कलन गर्ने गरेको उनको भनाइ छ । उनले यसप्रकारका चलचित्रको छायाङ्कनले यहाँको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको उल्लेख गरे ।
पछिल्ला पाँच वर्षयता दर्जनौँ नेपाल चलचित्र, म्युजिक भिडियो र डकुमेन्ट्री फिल्म यहाँ सुटिङ भइसकेका छन् । मुस्ताङको कालीगण्डकी बगर, सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, गुफा, तालतलैयाका साथै फरक–फरक प्राकृतिक सौन्दर्यताकै कारण जिल्ल चलचित्र सुटिङको हब बन्दै गएको हो ।
जिल्लामा हिन्दी चलचित्र खुदा गवाह करिब ४० को दशकमा सुटिङ भएको हो । पछिल्लो पाँच वर्षयता मुस्ताङमा चिनो, प्रेमगीत, सम्हालिन्छ कहिले मन, कबड्डी, जेरी, ब्याज नम्बर सिक्टिन, भकुन्डो, छिरिङलगायत दर्जनौँ चलचित्र सुटिङ भएका थिए ।
चलचित्र सुटिङका लागि आएका नेपाल चलचित्र प्राविधिक संघका उपाध्यक्ष अर्जुनप्रसाद पोखरेलले यहाँ चलचित्र छायाङ्कन गर्ने उपयुक्त र सहज गन्तव्य भएको दाबी गरे । मुस्ताङ नेपालकै स्वर्गरुपी जिल्ला भएको उल्लेख गर्दै उनले यस्तो स्थानमा सरकारले चलचित्र स्टुडियो स्थापना गर्न सकेमा यस क्षेत्रको मात्र नभई सिङ्गो गण्डकी प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुर्याउने बताए ।
यसका लागि तीन तहको सरकारले पहल गर्न आवश्यक उनको भनाइ छ ।