जसले कारबाहीका कुरा निकाले, उनैले किन भित्र्याए गुरागाइँलाई ?-Sutra News

जसले कारबाहीका कुरा निकाले, उनैले किन भित्र्याए गुरागाइँलाई ?

गत पुस ५ मा पत्रकार सम्मेलन गर्दै महानगरका प्रवक्ता नवीन मानन्धरले भनेका थिए– प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरेको देखिन्छ

मंगलबार, २ बैशाख २०८२

मंगलबार, २ बैशाख २०८२

काठमाडौं । गत पुस ५ मा काठमाडौं महानगरले आकस्मिक पत्रकार सम्मेलन गर्‍यो । जुन पत्रकार सम्मेलनको मुख्य उद्देश्य थियो– महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कारबाही सिफारिसको जानकारी दिनु ।



गुरागाइँमाथि पुरानो बसपार्कमा टावर बनाउन जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिलाई महानगरको आधिकारिक नक्सा पास प्रणाली (ईबीपीएस)को प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरिएको आरोप लागेको थियो । जुन आरोपपछि बसेकाे महानगरको कार्यसमिति बैठकले गुरागाइँमाथि छानबिन गर्ने निर्णय गरेकाे थियाे ।

जुन निर्णय पत्रकार सम्मेलन गरी महानगरका प्रवक्ता नवीन मानन्धरले सुनाएका थिए । पत्रकार सम्मेलनमा गुरागाइँले आर्थिक लेनदेनमा सो काम गरेको देखिने कुरा मानन्धरले बताएका थिए ।

“कानुनी प्रक्रियाबमोजिम सो भवनको नक्सा स्वीकृत भएको छैन तर भवनको नक्सा पास कागजातको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरेको देखिन्छ”, निर्णय सार्वजनिक गर्दै प्रवक्ता मानन्धरले भनेका थिए, “यस विषयमा थप छानबिन गरी नियम विपरित कार्य गर्ने जोकसैलाई कानुनबमोजिम कारबाही सिफारिस गरिन्छ ।”

कारबाहीको सिफारिसपछि गुरागाईँलाई महानगरमा प्रवेश गर्ने अवस्था रहेन । उनको कार्यकक्षमा ताला लाग्यो, उनी बिदामा बसे ।

जुन घटनापछि पुस १४ मा भएकाे महानगरको १६औं अधिवेशन निमित्तको भरमा नै सम्पन्न भएको थियो । जुन अधिवेशनको सदस्य सचिवमा शिक्षा विभागका प्रमुख गोविन्दप्रसाद शर्मा उपस्थित थिए ।

गुरागाइँको निलम्बिनपछि महानगरले शर्मालाई जेष्ठताको आधारमा निमित्तको जिम्मा दिएको थियो ।

त्यसयता महानगरले विभिन्न समिति बनाएर गुरागाइँमाथि छानबिन थाल्यो । छानबिनकै बिचमा स्वयं मेयर बालेन्द्र साह ‘बालेन’ले कर्मचारी पदाधिकारीहरुलाई पनि बोलाएर छलफल गरेका थिए ।

छानबिन थालिएको साढे दुई महिनापछि फागुन २९ मा महानगरको कार्यसमिति बैठक बोलाएर मेयर साहले गुरागाइँबारे थप छलफल चलाएका थिए । जहाँ महानगरको वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारी र प्रवक्ता मानन्धरले आफूहरूसँग समेत पैसाकाे अफर आएकाे कुरा खोलेका थिए ।

जहाँ निर्माण पक्षका लगानीकर्ता मनोज भेटुवालबाट आफू र मानन्धरलाई ५/५ करोड अफर गरिएको कुरा वडाध्यक्ष तिवारीले बताएका थिए । जुन बैठकमा गुरागाइँमाथि हदैसम्मको कारबाही हुनुपर्ने कुरा तिवारी र मानन्धरले राखेका थिए ।

तर, महानगरको बैठकमा ‘भ्रष्ट’ भन्दै कारबाही गर्न माग गरेका तीनै तिवारी र मानन्धर भने गुरागाइँलाई जबरजस्ती कार्यालय प्रवेश गराउन तस्मिए । छानबिनमै रहेका गुरागाईँलाई गत चैत २१ मा कांग्रेस र एमालेको कर्मचारी संगठनहरु मिलेर बलजफ्ती कार्यालय प्रवेश गराएका थिए ।

छानबिनकै क्रममा रहेका गुरागाईँलाई बलजफ्ती कार्यालय प्रवेश गराउनेमा विगतमा उनीमाथि नै आरोपित गर्ने स्वयं प्रवक्ता मानन्धरसमेत अग्रपंक्तिमा  थिए । गुरागाइँलाई महानगरको कार्यकक्ष नै फोडेर भित्र प्रवेश गराइएको थियो ।

यस घटनाले गुरागाइँमाथि मात्रै प्रश्न उब्जाएको छैन, उनलाई बलजफ्ती कार्यकक्ष प्रवेश गराउनेमाथि पनि प्रश्न उठाएको छ । सँगै, आफूहरुमाथि ५/५ करोडको अफर आएको भनेर दाबी गर्नेमाथि पनि प्रश्न उठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार