

एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्राउ गरिएको छ।
आइतबार सलमानलाई ह्वाट्सएपमा एउटा अज्ञात नम्बरबाट धम्की आएको थियो। उनलाई ह्वाट्सएपमा आएको सन्देशमा बलिउडका सिकन्दरको कारलाई बमले उडाउने उल्लेख गरिएको थियो।
‘सलमान खानको घरमा छिरेर मार्छौं र उनको कार बमले उडाइदिन्छौं,’ म्यासेजमा लेखिएको थियो।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार सलमानलाई धम्की दिने व्यक्तिलाई वडोदरा नजिकैको एउटा गाउँबाट पक्राउ गरिएको हो। उक्त म्यासेज पठाउने व्यक्ति २६ वर्षका छन्। तर उनको नाम सार्वजनिक गरिएको छैन।
उनको परिवारका अनुसार म्यासेज पठाउने व्यक्तिको मानसिक स्थिति ठीक थिएन। यस विषयमा पुलिस जाँच गरिरहेको छ।
भारतीय सञ्चार माध्यमले जनाएअनुसार अभिनेताको लरेन्स बिश्नोईसँग पुरानो दुश्मनी छ। गत वर्ष अप्रिलमा सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली चलाइएको थियो । त्यसपछि अभिनेताले आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि आफ्नो घरलाई बुलेटप्रुफ बनाएका थिए।
गत वर्ष गुण्डा नाइकेहरूले सलमान खानका नजिकका सहयोगी बाबा सिद्दिकीको सार्वजनिक रूपमा गोली हानी हत्या गरेका थिए।