

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा एक दशकदेखि क्रियाशील अभिनेता पल शाह निर्माता बन्दै छन्। पल शाह फिल्मस्को ब्यानरमा उनले ‘यानीमाया’ निर्माण गर्दै छन्।
सोमबार नयाँ वर्षको अवसर पारेर घोषणा गरिएको यो फिल्मलाई विकास सुवेदीले निर्देशन गर्दैछन्। फिल्म ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखेका विकासले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दै छन्।
कलाकारको फाइनल नभइसकेको फिल्म ‘यानीमाया’मा निर्माता र निर्देशक नयाँ रहेन छन्। व्यवसायिक रुपमा सफल भए पनि फिल्म ‘प्रकाश, पुजार सार्की र महाभोज’का लागि समीक्षकीय नजरबाट झुर कथा लेखेका सुवेदीले निर्देशन गर्न लागेका छन् भने फिल्म पाउनै छाडेपछि अभिनेता पल आफैं फिल्म बनाउँदै छन्।
वर्ष २०८१ मा पलका तीन फिल्ममध्ये ‘रावायण’ र ‘मायावी’ सुपरफ्लप भए। ‘पूजार सार्की’ भने सुपरहिट भयो। तर, यो फिल्ममा प्रदीप खड्का हाबी भएपछी त्यसको श्रेय पलले लिन पाएनन्।
यस वर्ष दुई फिल्म फ्लप भएपछि उनको स्टारडम कमजोर बन्यो नै। तर, उनी आफ्नो फ्लप फिल्मको पनि ‘इनिसियल’ व्यापार राम्रो रहेको दाबी गर्छन्।
हालै एक अवार्ड कार्यक्रममा सहभागी हुने क्रममा उनले सञ्चारकर्मीसँग भने, ‘मेरो फिल्महरू ‘इनिसियल’ राम्रो भएका छन्। बक्स अफिस रिपोर्ट हेर्ने हो भने मेरो फ्लप फिल्मको पनि दुई दिनको व्यापार राम्रो छ।’
दुई दिनपछि कुनै पनि फिल्म कलाकारले नभइ कन्टेन्ट राम्रो भए चल्ने उनको तर्क छ। भन्छन्, ‘दुई दिनपछि त बक्स अफिस रिपोर्ट राम्रो हुनलाई फिल्म आफैंमा राम्रो हुनुपर् । सायद ती फिल्महरुले दर्शकलाई ‘कनेक्ट’ गर्न सकेन होला।’
तर यथार्य भने पलले भनेको भन्दा फरक छ। यस वर्ष सुदर्शन थापा निर्देशित फिल्म ‘रावायण’ बहुप्रतीक्षित थियो। एक्सन जनरामा निर्माण भएको फिल्मका मुख्य कलाकार थिए, पल र पूजा शर्मा। कतिपयले त यस फिल्मबाट पलका दिन सुरु भएको भन्न पनि भ्याएका थिए। नाबालिग बलात्कारको मुद्दामा सफाइ पाएर कारागारमुक्त भएका पल पनि हिट कमब्याकको खोजीमा थिए।
रावायणबाट भने पल एक्सन हिरोको रूपमा उदाउने विश्वास गरिएको थियो। पूजाकै लगानी रहेको फिल्मले राम्रै हाइप बनाएको थियो। तर त्यही बेला पल र पूजाले एक पडकास्टमा गएर पीडित नाबालिगलाई असह्य हुने गरी अभिव्यक्ति दिए। त्यसपछि उनीहरूको उक्त फिल्म बहिष्कार गर्ने ट्रेन्ड चल्यो।
नाबालिग बलात्कारको मुद्दा खेपेका पलको छवि पहिलेजस्तो रहेन। जसकारण पललाई मिडियाले पनि स्पेस दिएनन्। युट्युब च्यानल र पडकास्टमा अन्तर्वार्ता दिँदा पलको प्रस्तुति त्यस्तै रह्यो। त्यसले पनि दर्शकहरूले बहिष्कार गरे।
‘रावायण’ फ्लप भएसँगै पललाई अनुबन्धित गरेका फिल्म निर्माताहरू डराए। त्यसको प्रभाव फिल्म ‘कल्ली’मा देखियो। यसमा पल अनुबन्धित भइसके पनि पछि हटाइए। कारण खुलाइएन। तर निर्देशक लक्ष्मण सुनारले पल शाहकै कारण ‘कल्ली’ मा केही कलाकारले काम गर्न मानेनन्। अरू मुख्य भूमिकाका लागि केही कलाकारलाई अफर गरिएको थियो।
तर, पलको कारण उनीहरूले प्रस्ताव स्विकारेनन्। जसले गर्दा अन्तत: पललाई नै फिल्मबाट हटाइयो।
उनी केवल तामाङको निर्देशनमा बन्न लागेको फिल्म ‘मायाका रङहरू’मा अनुबन्ध भएका थिए। तर अहिले निर्माण टिमले पलको साटो ‘प्रेम गीत ३’ फ्रेम्ड मनिष राउतलाई अनुबन्ध गरियो।
कुनै बेला पल सर्वाधिक व्यस्त कलाकारमा गनिन्थे। डेब्यु फिल्म ‘नाइँ नभन्नु ल ४’ हिट भएपछि पल फिल्ममा चम्किएका थिए। साथै म्युजिक भिडिओमा उनको माग थियो। एकपछि अर्को गर्दै उनले खेलेका म्युजिक भिडिओसहित फिल्महरू पनि चलिरहेका थिए। फिल्ममा पनि उनको माग भ्याई-नभ्याई थियो।
तर, करिअरको पिक टाइममा पलले नाबालिग बलात्कारको मुद्दा खेपे।
‘म यस्तो गीत गाउँछु’ को रिलिजताका थुनामा गएका पल एक वर्षपछि सफाइ पाएर कारागारमुक्त त भए। तर, माहोल पहिलेजस्तो रहेन।
उनीमाथि लागेको अभियोगकै कारण कतिपय दर्शकले उनको फिल्म नै बहिष्कार नै गरियो। केही नायिकाले उनीसँग स्क्रिन सेयर गर्न अप्ठेरो मानिरहेका छन्। यसकारण पनि पललाई आफ्नो अभिनय करिअरमा कम ब्याक हुन कठिन देखियो। त्यसपछि उनी आफैं फिल्म निर्माणमा देखिएका हुन्।
फ्यामिली ड्रामा कथामा आधारित रहेर बन्ने ‘यानीमाया’ फिल्मको स्क्रिप्ट पनि निर्देशक सुवेदीले नै लेखेका हुन्।
पलले पनि पल शाह फिल्मस्लाई दर्शकहरूले निकै माया दिएको भन्दै अब आफू फिल्म निर्माणमा अगाडि बढेको बताए। उनले फिल्म निर्माणमा पनि दर्शकहरूबाट अपार माया र साथ पाउने उनको विश्वास छ।