

काठमाडौं । प्रदर्शनको दोस्रो हप्तामा रहेको प्रकाश सपुत निर्देशित फिल्म ‘बसन्त’ले घरेलु बक्सअफिसमा अपेक्षाभन्दा न्यून कमाइ गरेको छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा फिल्मले प्रदर्शनको ११ औं दिन सोमबारसम्म १ करोड ७७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेका निर्देशक सपुतलाई दर्शकले सिनेमाको माउथ पब्लिसिटी राम्रो सुनेर हल पुग्दा कथामा कनेक्ट भएको दर्शक प्रतिक्रिया पाउँदा खुशी लागेको निर्देशक सपुतले सुनाए।
‘मलाई दर्शकको प्रतिक्रिया सुन्दा दर्शकसँग सिनेमा कनेक्ट भइरहेको छ। विषयबस्तु र प्रस्तुति दर्शकले मन पराइरहनु भएको छ,’ प्रकाश भन्छन्, ‘दर्शकसँग सिनेमा कनेक्ट भइरहेकाले माउथ पब्लिसिटी राम्रो भइरहेको छ।’
यो फिल्म चैत २२ गते रिलिज भएको थियो। फिल्मको शीर्ष भूमिकामा स्वस्तिमा खड्का, प्रकाश सपुत लगायतको अभिनय छ।
रिलिजअघि निकै हाइप बटुलेको फिल्मले अपेक्षाकृत ओपनिङ भने गर्न सकेन। यद्यपि, फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो फिल्मले जातीय विभेद विरुद्वको कथा भनेको छ।