

काठमाडौं । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार आउने दाबी गरेसँगै राष्ट्रिय राजनीति तरंगित छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई खण्डन गर्ने कोसिस त गरेका छन् तर, उनको भावभङ्गी भने त्रासमै बितिरहेको आइतबारको सचिवालय बैठकले पनि पुष्टि गर्छ । किनभने प्रचण्डले सरकार बदल्ने कुरा गरेकै भोलिपल्ट नै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको सचिवालय बैठक बोलाएका थिए । बैठक पनि प्रचण्डकै अभिव्यक्तिमा केन्द्रित थियो ।
‘प्रचण्डको एउटै चाहना हो, एमालेलाई जसरी पनि सरकारबाहिर पठाउने, एकीकृत समाजवादी लगायत केही साना पार्टीहरूले उनको त्यो चाहनामा साथ दिइरहेका छन्,’ बैठकमा ओलीले भनेको भनाई उद्धत गर्दै एक एमाले नेताले भने, ‘तर त्यो पूरा हुँदैन, किनकि हामीलाई शेरबहादुर देउवाजी र नेपाली कांग्रेसको बलियो साथ छ ।’
एमाले बैठक सकिएपछि उपमहासचिव प्रदीप ज्ञवालीले पनि सरकार परिवर्तनको हल्ला निरर्थक रहेको दाबी गरे । कुनै पनि कोणबाट सरकार परिवर्तन सम्भव नभएको उनको दाबी छ ।
‘माओवादी केन्द्रका अध्यक्षले सरकार परिवर्तनको हल्ला फेरि गरिरहनुभएको छ, यसले उहाँमा सरकारबाहिर रहँदाको कुण्ठा, पीडा बोध मात्र प्रकट भएको हो,’ ज्ञवालीले भनेका छन्, ‘अहिले सरकार परिवर्तन न कतैबाट सम्भव छ, न त्यसको औचित्य छ ।’
तर ओली वा एमालेले बाहिर भन्नको लागि भने जस्तो सहज अवस्था भने देखिएको छैन । प्रचण्ड अभिव्यक्तिबाट एमाले आतंकित भएको प्रष्ट बुझिन्छ ।
सत्ता साझेदार कांग्रेस पनि सरकारसँग असन्तुष्ट भइरहेको बेला प्रचण्डको उक्त अभिव्यक्ति आउनु निकै अर्थपूर्ण रूपमा हेरिएको छ । त्यसका अलावा यी ५ कारणले पनि ओली सरकारलाई आगामी यात्रा निकै कठिन देखिन्छ ।
१. कांग्रेसभित्रै विकल्पको खोजी
१७ असारमा ओलीले कांग्रेसको साथ पाएर प्रधानमन्त्री बन्ने पक्का हुँदा कांग्रेस नेता शेखर कोइराला कांग्रेस र एमालेबिच गठबन्धनको सैद्धान्तिक वकालत गर्थे । तर, अहिले धुरन्धर विरोधमा लागेका छन् ।
सभापति देउवाको पहललाई केही पारदर्शिताका प्रश्नहरू सहित महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले राजनीतिक स्थिरता र आर्थिक फड्कोका लागि गरिएको सुझबुझपूर्ण पहल भन्दै साथ दिएका थिए ।
उनीहरू कहिले संयन्त्र, कहिले विभिन्न कार्यदल आदिमा बसेर, आफ्नो सोचसँग मिल्ने मन्त्री पठाएर एमाले कांग्रेसको पहललाई सफल पार्न मन वचनले खटिरहेका देखिन्थे । अहिले भने उनीहरू पनि सरकारको काम–कारबाहीसँग सन्तुष्ट छैनन् ।
ओली नेतृत्वको सरकारले ९ महिना पार गर्नै लाग्दा संयन्त्रमा रहेका कांग्रेस महामन्त्री थापा निकै बेखुस देखिन्छन् । ओली सरकारप्रति उनको असन्तुष्टिको प्रमुख कारण सरकारको गति र डेलिभरीसँग छ । मंगलबार मात्रै थापाले प्रधानमन्त्री ओलीलाई सार्वजनिक कार्यक्रमबाट स्पष्ट भनिदिए, ‘सरकारको गति ट्याक्टरको जस्तै छ ।’
त्यति मात्र हैन, कतिपय मन्त्री नै सत्ता साझेदारीको बलियो वातावरण नबनिरहेको टिप्पणी गरिरहेका छन् । नियुक्ति, बढुवा आदिमा प्रधानमन्त्रीले तलसम्मै रूचि दिएकाले अप्ठेरो परेको उनीहरूको आरोप छ ।
हुन पनि प्रहरी प्रमुख, धितोपत्र बोर्डको अध्यक्ष, बिमा बोर्डको अध्यक्ष, विद्युत प्राधिकरण कार्यकारी निर्देशकलगायत जताततै ओलीले आफ्नै मान्छे मात्र नियुक्त गरेपछि कांग्रेस चिढिनु स्वाभाविक हो ।
समग्रमा कांग्रेसमा ओलीसँग असन्तोष राख्नेहरूको संख्या बढ्दो छ । त्यसको डर पनि प्रधानमन्त्री ओलीलाई परेकै छ ।
२. प्रचण्डबाट थप बढ्यो त्रास
आइतबार चितवन पुगेका प्रचण्डले पत्रकारहरूसँग वर्तमान सरकार धेरै चल्न सक्ने अवस्था नरहेको भन्दै नयाँ वर्ष–२०८२ मा नयाँ सरकार बन्ने बताए । केही दिन अघिको एक अन्तर्वार्तामार्फत प्रचण्डले वर्तमान सरकारको विकल्पमा देउवालाई प्रधानमन्त्री बनाउन सकिने बताएका थिए । प्रचण्डले ओली नेतृत्वको वर्तमान सरकार नटिक्ने भन्न थालेको पनि धेरै भइसक्यो । अर्थात् उनी सरकारलाई सकेसम्म ढाल्ने पक्षमा छन् ।
किनकि प्रचण्ड कांग्रेस र सभापति देउवाभन्दा बढी ओली र एमालेप्रति आक्रामक छन् । हुन त प्रचण्ड प्रमुख विपक्षी दलका नेता भएकाले प्रधानमन्त्रीमाथि प्रश्न उठाउनु स्वाभाविक पनि हो । सरकारको खेलमा नअलमलिने घोषणा गरेका प्रचण्डले केही समय नबित्दै वर्तमान सरकार धेरै नजाने बताउन थालेका छन् । के हो यसको रहस्य ?
सरकार आफ्नो रुचिको कुरा नभए पनि प्रचण्डले नयाँ वर्षमा सरकार बदलिने अभिव्यक्ति दिनुको एउटा कारण छ– प्रचण्ड, ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउन चाहन्छन् । उनी जसरी पनि उनी ओलीलाई सत्ता बाहिर राख्न चाहन्छन् । जसका निम्ति प्रचण्डले गत माघ पहिलो साता विपक्षीहरूको ८० सांसद आफ्नो साथमा उभिन तयार रहेको सन्देश नै दिएका थिए । यसले गर्दा पनि ओली डराएका छन् ।
३. विद्या भण्डारीको कसरतले एमालेभित्रै अप्ठ्यारो
ओलीका लागि पूर्वराजाको प्रदेश यात्रा भन्दा पूर्व राष्ट्रपति विद्या भण्डारीको प्रदेश भ्रमण बढ्ता टाउको दुखाई बन्न पुगेको छ । भण्डारीलाई एमाले अध्यक्ष बनाएर आफू राजनीतिबाट विस्थापित हुन चाहँदैनन् ओली ।
भण्डारी उपचार फलोअप क्रममा एक महिनाअघि बैंकक जानुअघि ओली र भण्डारीबिच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा लामो बैठक चलेको थियो । त्यहाँ उनीहरूबिच विगतको तत्कालीन संस्थापन (माधव नेपाल पक्ष)बाट पेलिँदाका कठिन घडीहरूको सम्झनादेखि अब के हुन सक्छ भन्ने विवेचनासमेत भएको निकट नेताहरू बताउँछन् ।
भण्डारीले आफू एमाले अध्यक्ष बन्न चाहेको कुरा सार्वजनिक अभिव्यक्तिबाटै पुष्टि हुन्छ । उनी अहिले देश दौडाहा गरेर कार्यकर्ताको राय बुझिरहेकी छन् । पछिल्लो समय उनको सक्रियताले ओली आतंकित हुनु नौलो रहेन । त्यसैको परिणामस्वरूप उनले भण्डारीलाई राजनीतिमा ल्याउन नउकास्न कार्यकर्तालाई निर्देशन समेत दिइसकेका छन् ।
४. राजावादी समूहको बढ्दो चुनौती
पूर्व विश्लेषण र जानकारीका बाबजुद पनि गएको १५ गते राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २ जनाको मृत्यु भयो भने दर्जनौँ घाइते भए । जुन घटनामा घाइते भएका केहीको अहिले पनि उपचार भइरहेको छ । उक्त हिंसापछि अर्बौँको क्षति भएको छ भने सार्वजनिक सम्पत्ति समेत जलाइएका छन् । त्यस घटनाबाट सरकारकै आलोचना हुँदा त्यसको केन्द्रविन्दुमा ओली परेका छन् ।
५. भारतसँग चिसिँदो सम्बन्ध
भारतीय समकक्षी नरेन्द्र मोदीसँग गत चैतमा बैंककमा, अनि पोहोर असोजमा न्यूयोर्कमा ‘साइडलाइन भेट’ गरे पनि ओलीले ती छलफललाई दिल्ली लैजान वा काठमाडौं ल्याउन सकेका छैनन् । ओलीको निम्तो मोदीले व्यवहारतः सकारेका छैनन्, अनि मोदीको निम्तो ओलीले पाएका छैनन् ।
बैंककमा एक्ला एक्लै तुलनात्मक सौहार्द वार्ता भयो भनिए पनि नतिजामा त्यो देखिन सकेको छैन । ओलीले ‘सगरमाथा संवाद’का लागि मोदीलाई नेपाल भ्रमणको निम्तो दिए पनि उनले स्वीकार गरेनन् ।
जबकि सरकार बनेदेखि नै कांग्रेस नेतृसमेत रहेकी परराष्ट्र मन्त्री आरजु राणा देउवा पटक–पटक भारत गएर ओलीको भ्रमणबारे बिलौना गर्दा समेत त्यसले सार्थकता पाउन सकेको छैन । उत्तरी छिमेकी चीनले पनि प्रचण्डलाई अलि बढी विश्वास गर्ने परिस्थिति बन्दा त्यसको घाटा ओलीलाई नै परेको छ ।