चार दिनमा १ करोड ८६ लाख ग्रस कलेक्सन गरेको ‘पिताम्बर’ले लगानी उठाउला ?-Sutra News

चार दिनमा १ करोड ८६ लाख ग्रस कलेक्सन गरेको ‘पिताम्बर’ले लगानी उठाउला ?

मंगलबार, २ बैशाख २०८२

मंगलबार, २ बैशाख २०८२

काठमाडौं । प्रदीप खड्का स्टारर फिल्म ‘पिताम्बर’ले प्रदर्शनको चार दिनसम्म १ करोड ८६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा बैशाख १ गते रातीसम्म ‘पिताम्बर’ले उक्त ग्रस गरेको गरेको हो।



नयाँ वर्षको अवसर पारेर रिलिज भएका दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ मध्ये शनिवार ‘पिताम्बर’को व्यवसाय राम्रो देखिएको हो।

प्राविधिक रुपमा उत्साहजनक व्यापार गरेको भएपनि यस फिल्मले लगानी उठाउनेमै आशंका देखिन्छ। निर्माण पक्ष स्रोतका अनुसार यो फिल्मको कूल बजेट ५ करोड हाराहारीको छ। यसले प्रमोसनमा मात्रै २५-५० लाख आसपासको खर्च गरेको छ।

त्यस हिसाबले लगानी उठाउन मात्र ‘पिताम्बर’ले ११ करोड बढीको ग्रस कलेक्सन गर्नुपर्ने देखिन्छ। जबकि यसले प्रकाश सपुतको ‘बसन्त’, विपीन कार्कीको ‘कर्मा’, मिलन चाम्सको ‘अन्जिला’सँग प्रतिष्पर्धा गर्नुपर्ने छ।

अझ नयाँ वर्षको अवसर पनि गइसकेको हुनाले अब अकुपेन्सी पनि त्यति धेरै बढ्ने देखिंदैन। मल्टिस्टारर फिल्म ‘पिताम्बर’ले १५ करोड हाराहारीको ग्रस कलेक्सन गरेमा मात्र यसले यतिधेरै स्टारहरू राखेको पुष्टि हुन्छ।

समीक्षकहरूका अनुसार फिल्म ‘पिताम्बर’ले प्राविधिक पक्षमा निकै ध्यान दिएको छ भने कथ्यशैली भने बिगारेको छ। खासगरी यसको छायांकनको निकै तारिफ भइरहेको छ भने निर्देशकीय पाटोमा फिल्म चुकेको समीक्षकहरू बताउँछन्। जसको उदाहरण- मान्छेको टाउको काटेर रगत चुहाउँदै बोकेर हिँडेको हिंस्रक सिन धेरै दर्शकले पचाउन सकेका छैनन्।

संगै हलमा लागेको ‘कर्मा’को भन्दा उत्कृष्ट व्यापार गरेको भएपनि मल्टिस्टार राखेर निर्माण गरिएको प्रतिक्षीत फिल्म ‘पिताम्बर’को लागि यो व्यापार उत्साहजनक होइन। फिल्मको यही किसिमले व्यापारको आकार गरिरहने हो भने लगानी उठाउनै पनि मुस्किल देखिन्छ।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार