

काठमाडौं । ललितपुरको मंगलबजारस्थित एक घरको पानीट्यांकीमा मृत फेला परेकी ११ वर्षीया दुर्गा बोहराको हत्या उनका १५ वर्षीय सहोदर दाइबाट भएको खुलेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका एसपी अंगुर जिसीका अनुसार अनुसन्धानको क्रममा दुर्गाको हत्या उनका दाजुले नै गरेको स्वीकार गरेका छन्।दुर्गा चैत ४ गते साँझदेखि हराएकी थिइन्। उनकी आमा भगवती बोहराले चैत ५ गते जिल्ला प्रहरी परिसर, ललितपुरमा छोरी बेपत्ता भएको उजुरी दिएकी थिइन्।
प्रहरीले घटनाको खोजी गर्ने क्रममा चैत २९ गते ललितपुर महानगरपालिका–९, खपिनछेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुईं तलामा रहेको पानीट्यांकीमा दुर्गाको सडेगलेको शव फेला परेको थियो। उक्त घरमा दुर्गाको परिवार फागुन २५ सम्म डेरामा बस्दै आएको र त्यसपछि अन्यत्र सरेको प्रहरीले जनाएको छ। घटना भएको दिन दाजु र बहिनी सँगै उक्त घरतर्फ जाँदै गरेको सिसिटिभी फुटेज फेला परेको थियो।
फुटेजका आधारमा सोधपुछ गर्दा दाजुले हत्या स्वीकार गरेका हुन्। उनका अनुसार चैत ४ गते साँझ पुरानो डेरामा छुटेका सामान लिन गएका बेला दाजु-बहिनीबीच सामान्य विवाद भएको थियो। विवादका क्रममा दाजुले घरमा रहेको नाइलनको डोरीले बहिनीको घाँटी कसेर हत्या गरेको बताएका छन्। हत्या भएको रात उनी घर फर्किएका थिए भने भोलिपल्ट बिहान घटनास्थल पुगेपछि शव देखेर डराएर पानीट्यांकीमा लुकाएको बयान दिएका छन्।
दाजुका अनुसार घटनाको बेला उनीहरू दुबैले लागुऔषध सेवन गरेका थिए र आफु नशामा रहेको कारण घटना नियन्त्रण बाहिर गएको बताए।हाल आरोपी किशोरलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर ललितपुरमा अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ।