विन्दा पाण्डेलाई एमालेमा जिम्मेवारी दिन कसरी तयार भए ओली ?-Sutra News

विन्दा पाण्डेलाई एमालेमा जिम्मेवारी दिन कसरी तयार भए ओली ?

मंगलबार, २ बैशाख २०८२

मंगलबार, २ बैशाख २०८२

काठमाडौं । (नेकपा) एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेलाई पार्टीमा जिम्मेवारी दिन तयार रहेको बताएका छन्।



प्रधानमन्त्री निवास बालुवाटारमा करिब ४० मिनेटको भेटका क्रममा अध्यक्ष ओलीले डा पाण्डेलाई जिम्मेवारी दिन तयार रहेको तर त्यसका लागि अनुशासनमा बसेर काम गर्नुपर्ने सर्त राखेका छन्।

गएको असोज २४ मा गुरुङको कीर्तिपुरमा रहेको १० रोपनी १४ आना जग्गामा एमालेको केन्द्रीय कार्यालय बनाउन ओली र भाटभटेनीका संचालक मीन बहादुर गुरुङ दम्पतीले शिलान्यास गरे।

बालुवाटारको सरकारकी जग्गा व्यक्तिगत बनाएर अपचलन गरेको मुद्दामा दोषी ठहर भएका गुरुङसँग पार्टीका लागि जग्गा दान लिएर भवन बनाउने जिम्मा दिएको भन्दै त्यसको विपक्षमा उभिए स्थायी कमिटि सदस्य बिदा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना। उनीहरूले सामाजिक सञ्जालमै त्यसको विरोध गर्दै लेखे।

नेता भीम रावलले भने सार्वजनिक फोरोमहरूबाटै त्यसको आलोचना गरेका थिए। त्यसपछि एमालेको सचिवालय बैठकले पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गर्यो। जस बमोजिम उनीहरूले स्पष्टीकरण दिए पनि।

ब्यापारीबाट दानमा कार्यालय लिन नहुने अडानमा कायमै रहेको र त्यो स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै तीन नेतालाई एमालेले कारबाही गर्यो। सचिवालय बैठकले स्थायी कमिटी सदस्य पाण्डे, केन्द्रीय सदस्य तिमल्सिनालाई ६ महिना जिम्मेवारीमुक्त गर्ने निर्णय गर्यो भने पूर्वउपाध्यक्षसमेत भइसकेका नेता रावललाई पार्टीबाटै निष्कासन नै गर्यो।

‘सकभर मिलेर जाऊँ, पार्टीमा सक्रिय हुनुपर्छ भन्नुभयो तर उहाँ (पाण्डे)ले स्पष्ट रुपमा मानिहाल्ने कुरा गर्नुभएको छैन,’ बालुवाटार स्रोतले भन्यो, ‘मिल्ने, मिलाउने प्रयास हो। पार्टीले निर्णय गरेर उहाँ सुध्रिनुभयो भन्न सक्छ। तर, उहाँले पनि त बाहिर नबोल्ने वा केही न केही सुधारका संकेत देखिनुपर्‍यो।’

उनले पुरानो वर्षका तितामिठा विर्सेर पार्टी काममा लाग्न आग्रह गरे। ‘विन्दाजीले जग्गादान स्वीकार्ने निर्णय गलत थियो भन्नुभयो, तर अध्यक्षज्यूले त्यसमा गल्ती नै भनेर खास केही नभएको भन्दै अडान राख्नुभयो,’ स्रोतले भन्यो, ‘तर अब यस कुरामा थप नलाग्ने, बरु पार्टीको काममा सक्रिय बन्ने भन्ने खालको कुरा भयो।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार