

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशनले निर्देशन गर्ने फिल्म ‘कृष ४’लाई लिएर पछिल्लो समय लगातार अपडेट आइरहेका छन्। यसको निर्माणमा यशराज फिल्म्ससँग सहकार्य गर्ने भनिएको छ।
त्यसयता फिल्मको कास्टिङलाई लिएर लगातार चर्चा चलिरहेको छ। पिंकभिल्लाका अनुसार यो फिल्मबाट प्रियंका चोपडाले बलिउड पुनरागमन गर्ने पक्का भएको छ। यो फिल्ममा उनले प्रियाको भूमिका गर्ने भएकी छन्।
ऋतिक रोशन र आदित्य चोपडाले फिल्मको ‘फिमेल लिड’मा प्रियंकालाई फाइनल गरेको समाचारमा उल्लेख छ। यो फिल्मका लागि प्रियंकाले ३० करोड भारु पारिश्रमिक लिएको खबर टाइम्स अफ इण्डियाले लेखेको छ।
‘ऋतिक र प्रियंका एक सफल जोडी हुन्। उनीहरूको उत्कृष्ट व्यवसायिक सम्बन्ध छ। पीसीलाई क्रिस ४ मा आउन कठिन थिएन। फिल्मको कथाले कोइ मिल गयादेखि क्रिस, क्रिस ३ र अब चौथो सिक्वेलसम्मका पात्रहरूको यात्रालाई निरन्तरता दिन्छ। प्रियंका ऋतिकको फ्रान्चाइजीलाई अगाडि बढाउने दृष्टिकोणबाट प्रभावित भइन्, र उनले फिल्म निर्देशनको चुनौती लिएको देखेर उत्साहित भइन्’ स्रोतले भन्यो।
यतिबेला यशराज स्टुडियोमा ‘क्रिस ४’ को प्रि-प्रोडक्सन धमाधम चलिरहेको छ। यशराजको टोलीले यो सुपरहिरो फिल्मको भीएफएक्समा काम गरिरहेको छ।
‘क्रिस ४’ सन् २०२६ को पहिलो चार महिनाबाट छायांकनमा जाने बताइएको छ। अहिले अन्य पात्रको कास्टिङ चलिरहेको जनाइएको छ।