सुनको मूल्यमा फेरि बन्यो नयाँ रेकर्ड-Sutra News

सुनको मूल्यमा फेरि बन्यो नयाँ रेकर्ड

बुधबार, ३ बैशाख २०८२

बुधबार, ३ बैशाख २०८२

काठमाडौं । नयाँ वर्षको दोस्रो कारोबार दिन (बुधबार) स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको तुलनामा एकै दिन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हाे ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार रुपैयाँ कायम भएकाे छ । जुन हालसम्मकै उच्च मूल्य भएको महासंघले जनाएको छ ।

यसअघि निरन्तर बृद्धिका बिच गत वर्षको अन्तिम कारोबार दिन चैत ३१ मा सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार पुगेको थियो । यद्यपि, नयाँ वर्षको पहिलो कारोबार दिन वैशाख २ मा भने सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

तर, बुधबारको बृद्धिसँगै भने सुनको मूल्यले पनि उकालो यात्रा समाएको देखिन्छ ।

सुनको मूल्यमा तिव्र वृद्धि भइरहँदा बुधबार चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । मंगलबारको तुलनामा बुधबार प्रतितोला १० रुपैयाँले चाँदीको मूल्य बढेको महासंघले जनाएको छ ।

मूल्य बढेसँगै बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

आज अन्तराष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औंश ३ हजार २८९ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार