

हिजोको दिनमा काठमाडौंमा महिनाको १५०/२०० भाडा तिरेर बसेका अहिलेका गणतन्त्रका वामपन्थी नेताहरूले काठमाडौंका रैथाने नेवारका छोरीहरूसँग विवाह गरेको कुरा पुरानो कथा भइसक्यो । तर, त्यो कथाभित्र लुकेको अनेकौं किस्सा भने रमाइलो छ ।
यहाँको रैथाने नेवार्नी केटी प्रेम गरेर बिहे गरिसकेपछि काठमाडौंमा बस्न, टिक्न, खान र राजनीति गर्न सजिलो हुने कुरा त्यति बेला नेता हुन खोज्नेहरूलाई सजिलो थियो । वामपन्थीहरू बाठा र अरूलाई कजाउने काजी साहेब भन्दा पनि धूर्त र चतुर हुन्छन् । यसमा सबैभन्दा ठुलो कागताली परेको चाहिँ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै हो । अझ उनले त राष्ट्र बैंकमा स्थायी जागिर भएको रैथाने नेवार्नी केटीसँग विवाह गरेका थिए ।
नेपालका वामपन्थी नेताहरू असाध्य अल्छि थिए, छन् । उनीहरू सिद्धान्त र विचारमा मात्रै हो वामपन्थी । यथार्थमा उनीहरू ‘अल्छे तिघ्रो, स्वादे जिब्रो’का पर्याय हुन् । माओ, लेनिन, माक्र्सवादी विचार बोक्ने तर, उत्पादन चाहिँ तिनै गरिबले गर्नुपर्छ भन्ने विचारबाट ग्रसित छन्, नेपालका वामपन्थीहरू । अहिले आएर बल्ल विप्लव वामपन्थी पार्टीले खेतीपाती सुरु गरेका छन्, यो राम्रो पक्ष हो ।
जसको घरमा बस्यो त्यसैको छोरीसँग सम्बन्ध बनाउने वामपन्थी नेताहरूको चरित्र देखिन्छ । ईश्वर पोखरेल, झलनाथ खनालदेखि बाबुराम भट्टराई हुँदै केपी ओलीसम्म आइपुग्दा लिस्ट लामै तयार होला । अहिले सम्पत्ति छानबिन गर्ने हो भने वामपन्थी नेताका घरमा सुनका लाप्सादेखि टोइटा फर्चुन गाडीसम्म भेटिन्छन् ।
आफूलाई सर्वहारा भनेर चिनाउने ओली र प्रचण्डहरूको सम्पत्ति अथाह छ । तर, ती सम्पत्ति यिनले आफ्ना नाउँमा राखेका छैनन् । हाइड्रोपावर, होटेल, अस्पताल, रेस्टुरेन्ट, सपिङ मलका मालिकहरूलाई आन्तरिक कागजपत्र गराएर ब्याजमा लगाएका छन् । वामपन्थीहरूले गणतन्त्रको ब्याज खाइरहेका छन् । उनीहरूलाई साहुको मतलब छैन । आफू बाँचुन्जेल ब्याज खान्छन्, छोरा–नातिले सावाँ खालान् किनभने सावाँ देखाइयो भने सम्पत्ति शुद्धीकरणले यिनलाई समाउन सक्छ ।
राजाका पालामा राजदरबारका नाउँमा वार्षिक १२ करोड खर्च जान्थ्यो, त्यो अत्यन्तै महँगो भो भन्ने गरिन्थ्यो, जब राजा फालेर गणतन्त्र आयो अहिले वर्षको ४०० करोड चियापानमा सकिन्छ । पहिला नेपाल र नेपालीको समस्या सुल्झाउने माध्यम नेपाली राजाको दरबार हुन्थ्यो तर, अहिले दिल्ली दरबार भएको छ । गणतन्त्रलाई गन्तव्य मानेर नेपालमा जति पनि वामपन्थी युद्ध भयो, त्यो युद्धबाट नेपाली जनतालाई चाहिँ फाइदा के भयो ?
राजसंस्था ठिक थिएन, त्यसकारण राजा फ्याँकिए तर, राजसंस्था फ्याँकिएपछि राजसंस्था फ्याँक्ने नेताहरूको हिजो र आजको दैनिक जिन्दगीमा कति फरक आएको छ ? नेपाली जनताले स्वमूल्यांकन गर्नु जरुरी छ ।
जाति र संस्कृतिका नाउँमा एकै घरमा मिलेर बसेको नेपाली संस्कृतिलाई वामपन्थीहरूले कसरी तितरबितर बनाइदिए ? आज आरक्षणका नाउँमा समेत लूट छ । मानिस भएर जन्मेपछि योग्य र सबल व्यक्ति छान्नेकी जातभात खोज्दै हिँड्ने ? हिजो मन्दिर र गुम्बा उभिएका ठाउँमा आज चर्च उभिँदै छन् । राष्ट्रपति, सभामुख, मन्त्रीहरू सांसद, प्रधान सेनापति, राष्ट्र बैंकका गभर्नरकै सन्तानले देशमा भविष्य नदेखेर युरोप अमेरिकामा घर किनेर बसेका छन् ।
पञ्चायतमा दुःख पाएका नेपाली जनताले गणतन्त्रमा सुख पाउनुपर्ने हो नि तर, पेट पाल्नकै निम्ति अहिले एक तिहाइ जनता विदेशमा छन् । वामपन्थी र सर्वहारा भनिएका छोराछोरी विदेशमा मोज गरिरहे छन् । उपराष्ट्रपति भनिएकाका छोराहरू सुन तस्करी भ्रष्टाचार काण्डमा निर्लिप्त छन् । एमाले पार्टी कुनै समय जनताको विश्वासिलो पार्टी मानिन्थ्यो । तर, समयसँगै नेताहरूमा नैतिक विचलन, भ्रष्टाचार र आन्तरिक गुटबन्दीले तिनकै पार्टीलाई कमजोर बनाएको छ । अहिले बालेन, रविको हात धोएर पछि लाग्नु एमालेलाई नै घाटा थियो । अरूलाई चरित्रहीन भन्नेले पहिला आफै चरित्रवान् हुनु जरुरी थियो ।
कुनै बेला नेपाली राजनीतिमा कांग्रेसको एकछत्र राज थियो । उनीहरू आफैंलाई आफ्नो बहुमत भारी भयो र क्रमशः सक्किँदै गए । कांग्रेसको कमजोरीका कारण वामपन्थीहरू अगाडि आए । वामपन्थी जस्ता अल्छी र अरूलाई कज्याएर आफू धनी हुने प्रवृत्ति भएको दोस्रो पार्टी अरू देखिएन । उनीहरूप्रति पनि जनविश्वास गुम्यो, जुन दिन मदन भण्डारी षड्यन्त्रले मारिए ।
अहिले कुनै पनि नेपाली म फलानो पार्टीको हुँ भनेर गर्वका साथ भन्न सक्ने अवस्था छैन । अहिले स्वतन्त्र जो छ उसको इज्जत रहन्छ र भर्खरै भएको क्याम्पस स्तरीय चुनावमा पनि स्वतन्त्र पक्षधरले आफूलाई उभ्याउने कोसिस गरे । गणतन्त्र असफलतातिर गइरहेको छ, गणतन्त्रका नेता धनी र बलियो छु भनेर आफूलाई बाघ नसम्झिए हुन्छ अब । नेपाली राजनीतिलाई दिल्ली दरबारले किनबेच गरिरहेको परिवेशमा नेपाली नेताहरू कुनै दुन लखेटिने दिन पनि आउन सक्छ ।