योङ् लिडर्समा उपप्रमुख डंगोल चयन-Sutra News

योङ् लिडर्समा उपप्रमुख डंगोल चयन

बुधबार, ३ बैशाख २०८२

बुधबार, ३ बैशाख २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन भएकी छिन्।



दक्षिण एशियाली मुलुकबाट ११ जना प्रतिनिधि छानिएका छन्। त्यसमध्ये नेपालबाट छानिनेमा उनी मात्र हुन्। डंगोल, यसअघि विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौँ हवको सदस्य थिइन्। विभिन्न ५० देशबाट प्रतिनिधित्व रहेको यस समूहमा ७ क्षेत्रमध्ये सरकारको प्रतिनिधित्व गर्दै उपप्रमुख डंगोल चयन भएकी हुन्। यस समूहमा ४० वर्षभन्दा कम उमेर भएका विश्वका ११६ जना युवा नेतृत्व छन्।

फोरमले उपप्रमुखको संक्षिप्त परिचय उल्लेख गर्दै आफ्नो वेभसाइटमा लेखेकोे छ, ‘उहाँ युवाहरुलाई प्रेरणा प्रदान गर्ने र सांस्कृतिक पहिचानलाई आधुनिकतासँग जोड्ने राजनीतिज्ञ हुनुहुन्छ ।’

‘विश्व स्तरीय मञ्चमा प्रतिनिधित्व गर्न पाउनुले थप जिम्मेवारी महसुस भएको छ । राजनीतिक क्षेत्रबाट विशिष्ट पद ग्रहण गरिसक्नुभएका व्यक्तित्वहरुसँगको सहकार्यबाट युवाहरुलाई नेतृत्वका लागि प्रोत्साहित हुने काम गरिनेछन् ।’ चयन भएपछिको संक्षिप्त प्रतिक्रियामा उपप्रमुख डंगोलले भनिन्।

फोरमको युवा नेतृत्व समूहमा शैक्षिक क्षेत्रबाट १० जना, आर्ट, कल्चर एण्ड स्पोर्टस्बाट ८ जना, व्यापारिक क्षेत्रबाट ४९ जना, नागरिक समाजबाट ११ जना, मिडियाबाट ५ जना, सरकारबाट १९ जना, सामाजिक उद्यमशीलता क्षेत्रबाट १३ जना चयन भएका छन्। सरकार, व्यवसाय, नागरिक समाज, शिक्षा, मिडिया र कला क्षेत्रका नेतृत्वलाई एकै ठाउँमा ल्याएर आफूले नेतृत्व गरेको क्षेत्रसँगै समुदाय र बाहिरका क्षेत्रहरुको दिगो र सकारात्मक प्रभाव सिर्जना गर्नु नेतृत्व चयनको उद्देश्य हो ।

सन् २००४ मा स्थापना भएदेखि, युवा ग्लोबल लिडर्स फोरममा १२० भन्दा बढी देशका १ हजार ४ सय भन्दा बढी सदस्यहरु छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार