

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका नगर प्रहरीहरूले बालुवाटारमा कवाडी संकलन गर्न हिँडेका एक जना मजदुरको साइकल नै खोसेर अमर्यादित ढंगले व्यवहार गरेका छन्। अहिले उक्त भिडिओ सामाजिक संजालमा भाइरल बनेको छ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, स्थानीयको गुनासोपछि हिजो (मंगलबार) नगर प्रहरी सो क्षेत्रमा खटिएको थियो। बिहानैदेखि कवाडी संकलनकर्ताले हल्ला गरेर हिंड्ने गरेको भन्दै स्थानीयले लिखित र मौखिक उजुरी दिएको पाण्डे बताउँछन्।
सोही क्रममा नगर प्रहरीको टोलीले साइकल खासेको उनले बताए।
‘बिहान डिस्ट्रब हुनेगरी टिना/फलाम, कापी/किताब भन्दै हल्ला गरेको भनेर बारम्बार गुनासो आएको थियो। सोही सम्बोधन गर्न इन्सपेक्टर शम्भु विष्टको टोली खटिएको थियो,’ पाण्डेले भने।
उनले साइकल खोस्न खोजेको पनि तत्काल कवाडी संकलनकर्ता मजदुरलाई फिर्ता दिएको बताए।
‘हाम्रो इन्सपेक्टरले राम्रो व्यवहार नगरेको सत्य हो । उसले गुड ह्यान्डलिङ गर्न सकेन,’ पाण्डे भन्छन्, ‘उसलाई कारबाही गरेर फिल्डबाट अफिसमा तानिसकेको छौं। मजदुरलाई साइकल फिर्ता पनि दिइसकेको छौं।’