

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजविरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ।
प्राप्त जाहेरीका आधारमा गम्भीर अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए । उनका अनुसार जाहेरवाला पक्षको दाबी पुष्टि हुने/नहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिन्छ।
जाहेरीमा डा. अहिराजले ती पीडितलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ। शुरूमा राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी हुन्।
स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएको चार दिन भइसक्यो। तर, अहिराज प्रहरी सम्पर्कमा आएका छैनन्। जाहेरवाली परिवर्तित नाम २६ परिसर ३२ (०८१-०८२) हुन्।
केपी शर्मा ओलीले अघिल्लो प्रधानमन्त्रीत्वकालमा दुर्गा प्रसाईंलाई केन्द्रीय सदस्य बनाएझैँ अहिराजलाई मधेश प्रदेशको प्रमुखमा नियुक्त गरेका थिए।
गोकुल बाँस्कोटाको सिफारिसमा फलामले फलाम काट्छ भने झैं मधेसी नेताहरुलाई सबक सिकाउन मधेश प्रदेशको प्रमुखमा नियुक्त गरिदिएपछि उनी एमाले वृत्तमा अझ बढी चिनिन थाले। अझ पछिल्लो समय उनी राजावादी भएर अन्तर्वार्ताहरू दिंदै हिंड्न थालेका थिए।