फोहोर व्यवस्थापन गर्न बागलुङमा बन्दै पुनर्प्रयोग योजना-Sutra News

फोहोर व्यवस्थापन गर्न बागलुङमा बन्दै पुनर्प्रयोग योजना

बुधबार, ३ बैशाख २०८२

बुधबार, ३ बैशाख २०८२

बागलुङ । बागलुङ नगरपालिकाले पालिकामा जम्मा हुने फोहोरलाई पुन प्रयोग गरी अन्य सामग्री बनाउने योजना सुरु गरेको छ । फोहोर व्यवस्थापनमा चुनौती बेहोरिरहेको नगरले समानता अभियान नेपालसँग फोहोर व्यवस्थापनको सम्झौता गरेको अभियानका प्रमुख चन्द्रकान्त पौडेलले बताए ।



हाल फोहोर फालिएको वडा नं १ को खुतुर्केमा शून्य फोहोर अभियान चलाएर व्यवस्थापन गरिने र त्यसका लागि तत्काल चाहिने केही उपकरण र सवारीसाधन समेत अभियानबाटै ल्याइने उनको भनाई छ । उनले फोहोर व्यवस्थापनका लागि फिल्ड हेर्न आएका रसियाका उद्यमीले प्लास्टिकजन्य फोहोरबाट कलम लगायतका सामग्री बनाएको समेत बताए ।

नगरपालिकाले यसअघि तीन प्रकारका बाल्टिन दिएर फोहोर संकलनको काम थालिसकेको छ । ती फोहोर कसरी संकलन गर्ने भन्नेबारेमा बालबालिकाको इको क्लब गठन गर्ने, अभिभावकलाई सचेतना बढाउने काम पनि हुनेछ । प्रदूषणरहित नगर बनाउने, बायोग्यास प्लान्ट निर्माण र फोहोर व्यवस्थापन नजिकै स्विमिङ पुलसमेत बनाउने योजनाको लक्ष्य छ । फोहोर व्यवस्थापन गर्दा डम्पिङ साइट दुर्गन्धिन नहुने, पुन उपयोग गरेर फोहोरबाटै पैसा कमाउन सकिने लगायतको लक्ष्य राखिएको छ ।

सम्झौतामा नगरपालिकाले ५ प्रतिशत र अभियानले ९५ प्रतिशत आर्थिक भार बेहोर्दै फोहोर व्यवस्थापन गर्न ३६ करोड ७७ लाख रुपैयाँ खर्चनेछन् । लामो समयदेखि नगरपालिकाले फोहोर व्यवस्थापनको काम गर्न खोजे पनि दुर्गन्धले सास्ती थियो । मालढुंगा कुश्मीसेरा सडक, कालीगण्डकी नदी र काठेखोला किनार दुर्गन्ध भएकाले स्थानीयले सास्ती खेपेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार