

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले श्रीमान् युवराज श्रेष्ठविरुद्ध अदालतमा सम्बन्धविच्छेदको मुद्धा गराएर अमेरिका फर्केकी छन्। उनी अमेरिकी नागरिक भइसकेका कारण वारेसमार्फत् केही दिनअघि मुद्धा दर्ता गरेर मंगलबार अमेरिका फर्किसकेकी छन्।
उनी गत साता आमाको साथमा नेपाल आएकी थिइन्। नेपाल आउनुको पछाडि दुईवटा कारण थियो। पहिलो, श्रीमानविरुद्ध सम्बन्धविच्छेदको मुद्धा दर्ता गर्नु। दोस्रो, आफूले अभिनय गरेको वेब सिरिज ‘घर बट इन अमेरिका’को प्रचार गर्नु।
यो वेब सिरिजको मिडियाहरूमा प्रचार गर्ने क्रममा उनले श्रीमानविरुद्ध अदालतमा डिभोर्सको मुद्धा हालिसकेको जानकारी गराएकी हुन्।
युवराजले आफूलाई धेरै कुरा ढाँटेको उनको आरोप छ। अरुणिमाले एक अन्तर्वार्तामा भनेकी छन्, ‘उहाँले ठाँट्नुको कारण मसँग विवाह गरेर अमेरिका जानु थियो। विवाह गर्दा उहाँले झुटो बोल्नु भएको छ भन्ने मलाई थाहा भएन। पछि धेरै कुरा झुटो बोलेको थाहा पाएँ।’
युवराजलाई चिन्न आफूबाट गल्ती भएकाले फेरि सँगै बसेर अर्को गल्ती गर्न नचाहेको उनको भनाइ छ। ‘म झुटो मान्छेसँग जीवन विताउन सक्दिनँ भनेर नै मुद्धा दायर गरेको हुँ। उहाँले त डिभोर्स दिन चाहनुभएको छैन। तर, म झुटो मान्छेसँग बस्न सक्दिनँ,’ उनले भनेकी छन्।
उनले विवाह भएको करिब ६ महिनामै सामाजिक सञ्जालबाट श्रीमानसँगका सबै तस्वीरहरू हटाएर सम्बन्ध संकटमा रहेको संकेत गरेकी थिइन्।
युवराजअघि उनको विवाह अमित अर्यालसँग भएको थियो। २०७४ सालमा उनीहरु कानुनी रुपमा अलग भएका थिए। दुवैका एक छोरी छिन्।
अरुणिमा एक दशकदेखि आमाबुबा र छोरीको साथमा अमेरिकामा बस्दै आइरहेकी छन्।