

काठमाडौं । बिहीबार एकाएक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा दिएको विषयले सामाजिक सञ्जाल र सञ्चार माध्यममा चर्चा पायो । कतिपयले रास्वपाभित्रको विवाद उत्कर्षमा पुगेको संकेतका रुपमा पनि श्रेष्ठको राजीनामालाई उल्लेख गर्न पुगे ।
तर, सुमना श्रेष्ठले गत चैत १७ मा नै सहमहामन्त्रीको पदबाट राजीनामा दिएको खुलेको छ । उनले रवि लामिछानेको सभापतित्वमा भएको बैठकमै राजीनामा दिएको रास्वपाका एक नेताले बताएका छन् ।
“उहाँले अहिले होइन, चैत १७ गतेको बैठकमै राजीनामा दिनुभएको थियो, तर त्यतिबेला विषयलाई थाँती राखौं भनेर निर्णय लिइएको थिएन, सँगै बाहिर ल्याइएको पनि थिएन”, श्रेष्ठ निकट ति नेताले भने, “अहिले बाहिर आएको मात्रै हो ।”
ति नेताले बताएअनुसार श्रेष्ठको राजीनामा स्वीकृत भइसकेको छैन । लामिछानेले पछि छलफल गरौंला भन्दै थाँती राखेका थिए ।
लामिछाने स्वयं नै कारागार चलान भएसँगै बिहीबार बोलाइएको केन्द्रीय समिति बैठकमा श्रेष्ठको राजीनामाबारे छलफल गर्ने तयारी गरिएको ति नेताले बताए ।
किन दिइन् राजीनामा ?
खासगरी पार्टीभित्र श्रेष्ठले दोहोरो जिम्मेवारीको विरोध गर्दै आएकी छिन् । उनले पार्टीभित्रको र संसदको विधायकी जिम्मेवारी एउटै व्यक्तिले लिन नहुने तर्क लामो समयदेखि गर्दै आएकी थिइन् ।
ति नेताले बताएअनुसार सहमहामन्त्रीबाट राजीनामा दिनुको कारण पनि उनले पार्टीभित्र उठाउँदै आएको प्रश्न भएको ति नेताले बताए ।
“उहाँले लामो समयदेखि दोहोरो जिम्मेवारी हुन नहुने भन्दै विरोध जनाउँदै आउनुभयो, पार्टीभित्र पटक–पटक छलफल पनि भयो, यद्यपि विभिन्न कारणले त्यसमाथि निर्णायक छलफल हुन सकेन”, ति नेताले भनेका छन्, “उहाँको राजीनामा पार्टीभित्र दोहोरो जिम्मेवारीको अन्त्य गर्ने दबाब स्वरुप गरिएको हो ।”
अहिले पार्टीको करिब सचिवालय तहका अधिकांश नेता दोहोरो जिम्मेवारीमा छन् । स्वयं सभापति लामिछानेसहित थुप्रै नेताले पार्टीभित्र र संसदभित्रको जिम्मेवारीहरु निर्वाह गर्दै आएका छन् ।