के विद्या भण्डारी एमाले अध्यक्ष बन्दैछिन् ?-Sutra News

के विद्या भण्डारी एमाले अध्यक्ष बन्दैछिन् ?

बिहिबार, ४ बैशाख २०८२

बिहिबार, ४ बैशाख २०८२

काठमाडौं । नेपाली वामपन्थी राजनीतिमा सबैभन्दा बढी रुचाइएका व्यक्ति स्वर्गीय मदन भण्डारीकी धर्मपत्नी हुन्, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । उनको छोटकरी पहिचान यही हो । तर, भण्डारी गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति पनि हुन् । भण्डारीलाई चिन्न उनका स्वर्गीय पति मदन भण्डारीको नाम जोडिरहनु आवश्यक होइन ।



विद्याको व्यक्तित्व शालीन छ । कसैलाई पनि नबिझाउने चरित्र भएकी उनी एक असल गृहिणी पनि हुन् । एउटा असल गृहिणीको चरित्र भएको महिलाले मात्रै देशको कुभलो गर्दैन भन्ने कुरा विद्याले राष्ट्रपतीय कार्यकालको पछिल्लो नागरिकतासम्बन्धी विवादास्पद विधेयकमा आफ्नो अडान नछाड्नुले पनि त्यो कुरालाई प्रमाणित गर्दछ ।

आफ्नो जन्मथलो भोजपुर बहुमुखी क्याम्पसबाट वामपन्थी राजनीतिमा प्रवेश गरेकी विद्या भण्डारी २०५० सालको उपचुनावमा कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर चर्चामा आएकी थिइन् । उनी संसदीय राजनीतिमा प्रवेश गरेको २२ वर्षमा नै राष्ट्रपति जस्तो देशको सर्वोच्च पदमा पुग्न सफल भएकी थिइन् । भोजपुरकै विद्योदय व्यावसायिक माध्यमिक स्कुलबाट शिक्षा पूरा गरेकी विद्यादेवी एक भाग्यमानी महिला नेत्री पनि हुन् ।

२०३९ सालमा एमाले नेता मदनसँग उनको विवाह भएको थियो । थोरै समयमा नै मदन नेपाली वामपन्थी राजनीतिमा एक चम्किलो तारा भएर निस्किए र उनी पछि षड्यन्त्रमा परेर मारिएपछि एकाएक विधवा बनेकी विद्याप्रति नेपाली जनताको संवेदनशीलता ह्वात्तै बढ्यो । खासगरी त्यो बेलामा वामपन्थी राजनीतिमा उदाएका महिला नेतृहरू पुष्पलालकी धर्मपत्नी साहना प्रधान, अष्टलक्ष्मी शाक्य थिए ।

अष्टलक्ष्मी शाक्य नेपालको पहिलो मुख्यमन्त्री बन्न सफल भएकी थिइन । वामपन्थी विचारधाराका महिला नेतृत्वको कमी भएको बेलामा थोरै मिहिनेतले पनि सत्तामा पुग्न सकिने सम्भावना भएको बेला राजनीतिमा उदाएकी हुन् विद्या भण्डारी । एमालेभित्र उनको लामो संघर्षशील यात्रा नरहे पनि पति मदनको विरासतलाई भने उनले राम्ररी उपयोग गरिन् । मदन भण्डारीलाई नेताका रूपमा पुज्ने नेपालीहरूको राम्रो समर्थन पाइन् र छिटो समयमै सफलताको उच्चतम बिन्दुमा पुगिन् ।

दक्षिण पूर्वी एसियामा महिला नेतृत्वकर्ताहरू उच्चतम् तहमा पुगेर काम गरिसकेका थिए । श्रीलंककाकी चन्द्रिका कुमारा तुंगा, पाकिस्तानकी बेनजीर भुट्टो, बंलादेशकी बेगम खालिदा जिया, इण्डोनेशियाकी मेघा वर्ति सुकार्नो, भारतकी सोनिया गान्धी, म्यानमारकी आङसाङ सुकी नेतृहरूको राजनीतिक सफलता देखेकी विद्यालाई ती कुरा र वास्तविक परिघटनाहरूले पनि राजनीतिमा अझै सक्रिय हुन प्रेरणा दिएको थियो । अब राष्ट्रपति पदमा पुगिसकेको व्यक्ति फेरि राजनीतिमा फर्किनु भनेको सगरमाथा सफल आरोहण गरिसकेको व्यक्तिले गणेश हिमाल आरोहण गरेजस्तो हो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने संवैधानिक व्यवस्थापन भयो भने मात्रै उनलाई त्यो पद सुहाउँदो हुनसक्छ । राष्ट्रपति सेरेमोनियल तर, प्रमुख पद हो । कार्यकारी पद त प्रधानमन्त्री नै हो । अब विद्या भण्डारी प्रधानमन्त्री भइन् भने उनी पूर्व राष्ट्रप्रमुखबाट डिमोसन भएको मान्ने कि नमान्ने ?

एमालेको नेतृत्व लिने चर्चा !

राजनीतिमा असम्भव भन्ने कुरो केही हुँदैन । २०७१ असारमा ओली पार्टी अध्यक्ष बन्न पुगे । २०२२ सालदेखि वामपन्थी राजनीतिमा होमिएका ओलीको राजनीतिक यात्रा भने लामो छ । नेकपा (माले) र नेकपा (एकीकृत माक्र्सवादी) मिलेर एक भएपछि ओली एक संस्थापक केन्द्रीय कमिटी सदस्य बनेका थिए ।

मदन भण्डारीको मृत्युपछि पार्टीको हालीमुहाली कब्जा गरेका ओलीले सहमतिका नाममा २ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूलाई अधिकारविहीन बनाए, जो आफ्नो विपक्षमा उभिएका थिए, पहिला तिनीहरूलाई अधिकार विहीन बनाएपछि मात्रै ओली ढुक्क भएका थिए । ओलीको हर्कत पार्टीमा र वर्तमान मन्त्रीमण्डल पनि उस्तै छ ।

डाक्टर भीम रावल जस्ता एमालेभित्रका बुद्धिजीवीहरूलाई निकै अपमानित बनाएर निष्कासन गरे । माधवकुमार नेपाल हुन् वा वामदेव गौतम ओली तन्त्रबाट निकै पीडित बन्न पुगे । यस्तो गर्न सक्ने ल्याकत र तागत विद्या भण्डारीमा छैन । राजनीति गर्नुको अभिस्टता कुर्सीमै पुग्नु हो भन्ने कुरालाई ओलीले नेपाली राजनीतिमा चरितार्थ गरेका छन् । तर, भण्डारीमा त्यो सामथ्र्य छैन ।

ओलीको कोप भाजन र कारबाहीबाट बच्न सफल भएकी भण्डारीलाई राष्ट्रपति बन्न भने उनै ओलीले नै सघाएका हुन । तर, अहिले ओली र भण्डारीबिच राम्रो हार्दिकता देखिन्न । ओलीको आशीर्वाद नपाएसम्म कोही पनि एमाले नेताले पदमा पुग्न सक्ने सामथ्र्य बनाउन सक्दैन र पुगे पनि पदको सुरक्षा गर्न सक्दैन । दोस्रो कार्यकालमा पनि भण्डारीलाई राष्ट्रपति बन्न सुरक्षित भूमिका खेलेका ओलीले अब एमाले अध्यक्षको भूमिकामा देख्न चाहँदैनन् भन्ने कुरा स्पष्ट देखिन्छ । भण्डारीलाई भन्दा उनले अन्यलाई अघि सार्न खोजेको देखिन्छ ।

ओली पछि को ?

राजनीतिमा बुढो र तन्नेरीले खासै फरक पार्दैन । ओलीले आफूपछि को हो ? भन्ने कुरालाई महत्व दिएका छैनन् । एक शिक्षकले आफूले पढाएको विद्यार्थीमा आफ्नो प्रतिबिम्ब देख्छ । र, उ म जस्तै होस्, उसले प्रगति गरोस् भन्ने सपना पाल्छ तर, राजनीतिमा यो कुरा लागू भएको पाइँदैन । राजनीति जहिले पनि प्रतिस्पर्धाको खेल हो । सत्ताको माद यति घनिभूत हुन्छ कि जो कोही पनि म पछि अर्को नहोस् भन्ने पृष्ठभूमिबाट ग्रस्त हुन्छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले विद्या भण्डारीको संवेदनशीलता माथि खेल्न खोजेको देखिन्छ । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई उनले फेरि राजनीतिमा ल्याएका छन् । ताकी भण्डारीलाई पनि सक्रिय राजनीतिमा आउन बाटो खुलोस् । हुन पनि प्रचण्डले त्यो निर्णयले भण्डारीलाई सहज बनाएको छ । ओलीपछि कमान्ड आफ्नो हातमा आउला भनेर कुरिरहेका नेताहरूका अगाडि भण्डारी आँखाको कसिङ्गर बन्न सक्छिन् । शंकर पोखरेल, ईश्वर पोखरेलहरूलाई घाटा हुन सक्छ । भीम रावल त निकालिएका छन्, उनको कुरा भएन । ओलीपछि म भनेर कुरिरहेकाहरूले भण्डारीलाई सहजै अध्यक्ष स्वीकार गर्लान् भन्ने निश्चित छैन ।

प्रचण्डको भूमिका

ओलीको प्रवृत्तिका कारण उनी पार्टीमा एक्लिने सम्भावना बढिरहेको छ । वामपन्थी राजनीतिका सबै पक्षधरहरूले मदन भण्डारीको ‘जनताको बहुदलीय जनजवाद’लाई रुचाएका थिए र उनको अन्तिम सपना सबै वामपन्थी शक्तिलाई एकतामा ल्याएर ठुलो पार्टी निर्माण गर्ने रहेको हुँदा, त्यही रोडम्यापमा हिँड्न चाहेका छन् । एमालेमा ओली विपक्षी समूह भण्डारीलाई बिस्तारै अघि सार्ने योजनामा देखिन्छन् ।

ओलीविरुद्ध चुइँक्क बोल्न सक्ने हैसियत समेत नराख्ने दोस्रो तहका नेताहरू भित्र–भित्र दुखी त छन् नै र त्यही आशयमा खेल खेल्दै छन् । यता, अब माओवादी एक्लै हिँड्न् थाल्यो भने पार्टी सुक्छ भन्ने मनस्थितिमा छन् प्रचण्ड पनि । त्यसैले उनी सबै बाम घटकलाई एकतामा उन्ने, आफ्नो पार्टी पनि मिसाउने, त्यसको नेतृत्व भण्डारीलाई दिने र आफ्नो राजनीतिक यात्रा अझै सुरक्षित गर्ने दौडमा छन् ।

भोलि भण्डारीलाई प्रधानमन्त्री बनाएर आफू पार्टी अध्यक्ष हुने अथवा आफू अनुकूलको राजनीतिक माहौल सिर्जना नभए राष्ट्रपति बन्ने दूरदर्शी खेलमा छन्, चतुर प्रचण्ड । सशस्त्र राजनीति गरेर सर्वोच्च तहमा पुगेको आफ्नो राजनीतिक यात्रालाई गङ्गाजलले चोख्याउने र सफल अवतरण हुने बाटो खोजिरहेका पनि छन् प्रचण्डले । विद्याको भाग्य र प्रचण्डको ‘सेफ ल्यान्डिङ’ राजनीतिक यात्रा कतिको सफल होला, त्यो सतरन्जमा पासा कसरी पल्टन्छ त्यसमै निर्भर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार