

क्यालिफोर्निया । विश्वका दुई ठुला आर्थिक शक्तिहरू अमेरिका र चीनबिचको व्यापारिक सम्बन्धमा हालसालै ठुलो गिरावट आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा उच्च ट्यारिफ (भन्सार) लगाउने निर्णयसँगै व्यापारिक सम्बन्ध अत्यधिक तनावपूर्ण र चिसिएको छ ।
चीनले अमेरिकी सामानमा १२५% भन्सार शुल्क लगाएको जवाफमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने वस्तुहरूमा २४५% भन्सार शुल्क घोषणा गरेका छन्। यो कदमले दुई देशबिचको व्यापार तनावलाई नयाँ उचाइमा पुर्याएको छ।
“लिबरेशन डे” को घोषणा गर्दै ट्रम्प प्रशासनले आफू सम्बद्ध व्यापारिक देशहरूमाथि १० प्रतिशतको आधारभूत ट्यारिफ र चीनमाथि चाहिँ विशेष रूपमा ३४ प्रतिशत अतिरिक्त ट्यारिफ लागू गरेको थियो। यसपछि चीनले पनि अमेरिकी वस्तुहरूमा प्रतिशोध स्वरूप समान दरमा ट्यारिफ वृद्धि गरेको छ।
विश्व व्यापार संगठन (डब्लुटिओ) ले चेतावनी दिएको छ कि यस्तो परिस्थितिले अमेरिका–चीन व्यापारमा ८० प्रतिशतभन्दा बढीको गिरावट ल्याउने सम्भावना छ। साथै, विश्वव्यापी आर्थिक वृद्धिमा यसले ठुलो प्रभाव पार्ने उल्लेख गरिएको छ। डब्लुटिओका अनुसार २०२५ को वैश्विक जिडिपी वृद्धि दर २.२ प्रतिशतसम्म झर्न सक्नेछ।
यस व्यापारिक तनावको असर प्रविधि क्षेत्रमा पनि देखिन थालेको छ। अमेरिकी चिप निर्माता कम्पनीहरू एनभिडिआइए र एएमडिले चीनमा व्यापार घाटा अत्यधिक हुने चेतावनी दिएका छन्। एनभिडियाले करिब ५.५ अर्ब अमेरिकी डलर घाटा हुने उल्लेख गरेको छ भने एएमडि ले ८ सय मिलियन डलरको अनुमानित घाटा जनाएको छ।
यस घटनाक्रमसँगै चीनले राष्ट्रपति ट्रम्पप्रति तीव्र प्रतिक्रिया जनाउँदै उनीमाथि “गुनासो गर्न बन्द गर्नू” भन्ने कडा टिप्पणी गरेको छ। यी दुई शक्तिशाली राष्ट्रबिचको व्यापार युद्ध चाँडै समाधान भएन भने विश्व अर्थतन्त्रले दीर्घकालीन मन्दीको सामना गर्नुपर्ने खतरा उच्च बन्दै गएको छ।