देउवा दाहिना भएपछि राष्ट्र बैंकको गभर्नर बन्न लागेका हुन् गुणाकर भट्ट ?-Sutra News

देउवा दाहिना भएपछि राष्ट्र बैंकको गभर्नर बन्न लागेका हुन् गुणाकर भट्ट ?

बिहिबार, ४ बैशाख २०८२

बिहिबार, ४ बैशाख २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर देखिएको लामो समयको अन्योलमा बुधबार ब्रेक लागेको छ।



नयाँ गभर्नर नियुक्तिको विषयलाई लिएर प्रमुख सत्तारूढ दुई दल कांग्रेस-एमालेबिच नै विवाद बढिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर बनाउन सहमत भएको बताइन्छ।

भट्टलाई गभर्नर बनाउन कांग्रेसका सभापति देउवाले सुरुदेखि नै जोड लगाए पनि प्रधानमन्त्री ओली सहमत नहुँदा गभर्नर नियुक्ति अनिश्चित बन्दै आएको थियो। तर, मंगलबार बिहान देउवासँगको भेटवार्तापछि ओलीले बुधबार नै भट्टलाई बालुवाटार बोलाएर छलफल गरेसँगै भट्टको गभर्नर बन्ने बाटो खुलेको हो।

राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका भट्टले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्। गभर्नर बन्ने पक्का भएसँगै भट्टले आज वा भोली नै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिने तयारी गरेका छन्।

सोमबार बस्ने मन्त्रीपरिषद् बैठकले गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको स्रोत बताउँछ। मन्त्रीपरिषद् बैठक अघि अर्थमन्त्री बिष्णु पौडेल नेतृत्वको तीन सदस्यीय समितिले भट्टसहित तीन जनाको नाम सिफारिस गर्नेछ।

गभर्नर बन्न राष्ट्र बैंककै कायममुकायम गर्भनर निलम ढुंगानासहित पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, नबिल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रविन्द्र पाण्डे पनि गभर्नर बन्ने प्रयासमा थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार