

काठमाडौं । सरकारको विषयमाथि आमरूपमा प्रश्नहरु उठिरहेका बेला बिहीबार प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्यो । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकमा नेताहरुले सरकारमाथि उठेका प्रश्नबारे धारणा राखे । ३ घण्टासम्म चलेको बैठकले सरकारको ‘पर्फमेन्स’ सही नभएको निष्कर्ष निकाल्यो ।
“सरकारको पर्फमेन्स पुगेन, समग्रमा अझ राम्रो हुनुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ”, बैठकका निर्णय सुनाउँदै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भनेका छन्, “कतिपय कुरामा सरकारको स्पीड नपुगिरहेकै हो, यसमा सरकारमा रहेका दलहरुसँग छलफल तथा समन्वय गर्नुपर्छ भन्ने ठाउँमा पुग्यौँ ।”
कांग्रेसले सत्ता नेतृत्वकर्ता नेकपा (एमाले)को एकलौटी गर्ने प्रवृत्तिप्रति औंला उठाएको छ । कांग्रेसले जुन शैली स्वीकार्य नभएको पनि धारणा पनि राखेको छ ।
‘‘गठबन्धन सरकार भन्ने बित्तिकै एउटै दलको सबै थोक हुँदैन, समन्वयको आवश्यकता छ, सबैको कुरा समेट्नपर्ने आवश्यकता छ”, बैठकको छलफलबारे डा. महतले अगाडि भनेका छन्, “नियुक्तिका कुरामा पनि सन्तुलनको आवश्यकता छ । डेलिभरी गर्नुपर्छ भन्ने कुरामा हामी अडिग छौं ।”
सरकारबारे बैठक नै बसेर असन्तुष्टि जनाएको कांग्रेसले सरकार परिवर्तनको सन्दर्भमा भने कुटनीतिक भाषा बोलेको छ । विशेषगरी प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईप्रति कांग्रेसले टिप्पणी जनाउन आवश्यक नरहेको भनाई राखेको छ ।
“प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो”, महतले भनेका छन्, “उहाँ(प्रचण्ड)ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र ढल्ने हुँदैन ।”
यद्यपि निष्कर्षलाई हेर्दा, सरकारबारे अभिव्यक्त असन्तुष्टिलाई भने कांग्रेस बैठकले सदर गरेको छ । विशेषगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित शीर्ष तहकै नेताहरुले सरकारबारे खुलारुपमै तिव्र असन्तुष्टि जनाएका छन् । नेताहरुले सरकार नै बदल्नुपर्ने भाषामै अभिव्यक्ति दिएका छन् ।
जसको असर प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भएको उपस्थितिलाई हेर्न सकिन्छ । बुधबार बसेको बैठकमा सभापति देउवाले आफूसँग दुई मन्त्री रमेश लेखक र आरजु राणालाई लिएर गएका थिए । संयन्त्रमा रहेका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा बैठकमा उपस्थित भएनन् ।