दिल्लीमा नेपाल महोत्सव, सहभागीले मन पराए पञ्चेवाजा र सेलरोटी-Sutra News

दिल्लीमा नेपाल महोत्सव, सहभागीले मन पराए पञ्चेवाजा र सेलरोटी

बिहिबार, ४ बैशाख २०८२

बिहिबार, ४ बैशाख २०८२

काठमाडौं । नेपाल र भारतका व्यवसायी र कलाकारहरुको बाक्लो जमघटसँगै भारतको दिल्लीमा आयोजित नेपाल महोत्सव सम्पन्न भएको छ। भारतमा बसोबास गर्दै आएका नेपालीहरूको सक्रियतामा आयोजित नेपाल महोत्सवमा नेपालका व्यवसायी र कलाकारहरु समेत सहभागी भएका थिए।



एभरेस्ट चेम्बर अफ कमर्सले आयोजनामा भएको महोत्सवमा नेपाली पञ्चेवाजाको धुनसँगै नेपाली परिकार, नेपालका धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको प्रचारसँगै नेपालमा लगानी भारतीय लगानी भित्र्याउन अन्तर्संवाद कार्यक्रमहरु आयोजना गरिएको थियो।

महोत्सवमा सहभागीहरुले नेपालको धार्मिक तथा पर्यटन क्षेत्र, नेपाली पञ्चेवाजा र नेपाली परिकारप्रति विशेष रुची राखेका थिए।

महोत्सवका लागि भारतमा रहेको नेपाली दूतावासले सहकार्य गरेको थियो। आयोजक एभरेस्ट चेम्बर अफ कमर्सका अध्यक्ष युवराज बरालले नेपाल र भारतबीच व्यापार, पर्यटन, व्यवसाय, संस्कृति र अध्यात्ममार्फत नेपाल-भारत सम्बन्ध प्रगाढ बनाउन सफल भएको बताए।

महोत्सव निर्देशक राजेन्द्र घिमिरेका अनुसार दिल्लीको बार्हखम्बा रोडमा रहेको नेपाली दूतावास परिसरमा भएको महोत्सवमा नेपाल-भारत व्यापारसम्बन्धी छलफल, बीटुबी र बीटुसी नेटवर्किङ बैठक, लगानी विस्तारसम्बन्धी छलफल, पर्यटन र यात्रा प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, नेपाली खाना र अध्यात्म सत्रमा दुबै देशका प्रतिनिधीहरुको उल्लेख्य सहभागीता थियो।

हरेक वर्ष अप्रिल ११ देखि १३ सम्म महोत्सव आयोजना गर्ने क्यालेन्डर नै बनाएको र पहिलो पटक आयोजित महोत्सवको प्रतिक्रियाबाट उत्साहित भएको घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार