

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ।
बिहीबार काठमाडौंमा बसेको कार्यसम्पादन समिति बैठकले आन्दोलन र पार्टी संगठनलाई सँगसँगै लैजाने र पूर्वघोषित कार्यक्रम अनुसार वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले बताए।
बैठकले बैशाख ९ गते ७७ जिल्लामा विरोध सभा र धर्नाका साथै प्रदर्शन गर्ने निर्णय गरेको छ।
चैत १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका रविन्द्र मिश्र र धवलशमशेर राणालगायतलाई तत्काल रिहाइ गर्न राप्रपाको माग छ। आफ्ना नेताको रिहाइका लागि कानुनी तथा राजनीतिक दुवै लडाइँलाई सशक्तरूपमा लैजाने निर्णय भएको अध्यक्ष लिङ्देनले बताए।
उनले शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकारलाई कुण्ठित गर्ने काम सरकारले गरेकाले त्यसको विरोधमा निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरिएको भन्दै निषेधित क्षेत्रमा प्रदर्शन गरेर आफूहरू सामूहिक रूपमा थुनामा जान तयार भएको बताए।