

काठमाडौं । रवि लामिछाने जेल परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजिनामा दिएको विषय सार्वजनिक भएपछि यसले राजनीतिक वृत्तमा चर्चा पाएको छ।
पार्टीका सभापति रवि यतिबेला सहकारी ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि कारागारमा छन्। जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छोड्न दिएको आदेश उच्च अदालत बुटवलको तुलसीपुर इजलासले बदर गरेसँगै रविले थुनामुक्त गर्नुपर्ने भन्दै सर्वोच्चमा दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ।
रविलाई नै बुझाइएको भनिएको राजिनामा पत्रमा सुमनाले पार्टी सञ्चालन पद्धतिमै प्रश्न उठाउँदै पदाधिकारीसँग सल्लाह नगरी पार्टीका महत्त्वपूर्ण निर्णय हुने गरेको तथा पार्टीका महत्त्वपूर्ण निर्णय पार्टी बाहिरबाट थाहा पाउनुपर्ने अवस्था आएको भनेकी छन्। एक व्यक्ति एक पदको अवधारणा अनुसार आफू सांसदकै भूमिकामा केन्द्रीत हुन चाहेको भन्दै उनले राजीनामा बुझाएकी हुन्।
सुमनाले बुझाएको राजीनामा पत्रमा भारतको कालिंङ्गा ईन्स्टिच्युट अफ इन्ड्रष्टियल टेक्नोलोजी केआईआईटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालले ज्यान गुमाएको घटनाका सन्दर्भ उल्लेख गर्दै विभिन्न मुद्दामा पार्टीको बैठक बसौं भन्दा वास्ता नगरेको, संसदीय दलमा समेत प्रकृति लम्साल प्रकरणमा संसद अवरुद्ध गरौं भन्ने प्रस्ताव समेत नसुनिएको जस्तो गरिएको लगायतका विषय उल्लेख गरिएको छ।
रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिए लगत्तै रविले पार्टी सभापतिबाट राजीनामा दिनुपर्ने अडानमा रहेकी सुमनाले बाहिर केही नबोलेपनि अनौपचारिक रूपमा कैयौंपटक यो प्रस्ताव राखेकी थिइन्। तर त्यसको सुनुवाइ नभएपछि उनको मन मोडिएको हो।
त्यो बाहेक सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएसँगै रविको सांसद पद निलम्बन हुँदा पार्टीको कार्यवाहक संसदीय दलको नेतामा भिजन सहित प्रतिस्पर्धा गर्ने घोषणा गरेपनि समानुपातिक सांसदलाई दलको नेता बनाउन नहुने भन्दै उनी विरुद्ध पार्टीभित्रै अभियान चलाईंदा उनी स्वभाविक रूपमै निराश थिइन्। भलै, रास्वपाको संसदीय दलको नेता अहिलेसम्म चयन भएको छैन।
रवि र रास्वपासँग असन्तुष्ट रहेकी सुमना काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग निकटता बढाउने प्रयत्नमा रहेको स्रोत बताउँछ। स्वतन्त्र रूपबाट काठमाडौं महानगरको मेयरमा निर्वाचित शाहले २०८४ को आम निर्वाचन अगावै नयाँ दल खोल्ने चर्चा लामो समयदेखि चलिरहेकै छ।