हलमा ५१ दिन मनाएको ‘लाज शरणम्’ले लगानी पनि उठाएन-Sutra News

हलमा ५१ दिन मनाएको ‘लाज शरणम्’ले लगानी पनि उठाएन

बिहिबार, ४ बैशाख २०८२

बिहिबार, ४ बैशाख २०८२

काठमाडौं । हास्य टेलिसिरियल ‘सक्किगोनि’ समूहको पहिलो फिल्म ‘लाज शरणम्’ले प्रदर्शनको ५१औं दिन पूरा गरेको छ। गत फागुन १४ गतेबाट प्रदर्शनमा आएको फिल्मले कमजोर प्रतिक्रियाका बाबजुद पनि बिहीबार देशभरका १३ वटा हलमा प्रदर्शनको ५१औं दिन मनाएको हो।



फिल्मले क्यूएफएक्सको काठमाडौं उपत्यकाभित्र पर्ने भक्तपुर र सिभिल हल, आइएनआई सिनेमाजको नयाँ बानेश्वर, गोंगबु र बुटवल हल, कीर्तिपुर सिनेप्लेक्स, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिडिसी सिनेमा, एफक्युब, क्यूएफएक्सको विर्तामोड हल र दमकको डिम्याक्स सिनेमाजमा फिल्मले ५१औं दिन मनाएको निर्माता नवीन श्रेष्ठले जानकारी दिए।

फिल्मले प्रदर्शनको ५१औं दिनसम्म ५ करोड ग्रस व्यापार गरेको बताइन्छ। यसबाट निर्माता र हलवालालाई ५०/५० प्रतिशत सेयर बाँडिन्छ। प्राप्त रकमबाट वितरकको कमिसन र राज्यलाई ट्याक्स तिर्दा निर्माताले २ करोड २० लाखसम्म पाउन सक्छन्।

यसरी हेर्दा झन्डै ४ करोडमा बनेको फिल्मले हलबाटै लगानी उठाउन असफल भएको छ।

कुमार कट्टेल (जिग्री)को निर्देशनमा तयार भएको फिल्ममा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, रेणु योगी, अर्पण थापा, कमलमणी नेपाल, मुकुन्द श्रेष्ठ, माला लिम्बु, प्रियाना आचार्य लगायतको अभिनय रहेको छ।

यस्तै, फिल्ममा कमलमणी नेपाल (खुपीका बाउ), मुकुन्द श्रेष्ठ, माला लिम्बुसँगै प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामतलगायत कलाकारहरूको पनि अभिनय छ। सुदीप बराल छायांकार रहेको फिल्मको सह–निर्माता राम नरेश शाह र सिर्जना खड्का हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार