

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका शुभेच्छुक तथा समर्थकहरूको सामाजिक सञ्जालमा अराजक उपस्थिति पार्टीलाई नै घातक हुने भनेको छ।
सामाजिक सञ्जालमा सभापति रवि लामिछाने र पार्टीको विषयमा समर्थन गर्ने भन्दै तथानाम लेख्नेहरूप्रति रास्वपाले आपत्ति जनाएको हो।
कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले बिहीबारको केन्द्रीय समिति बैठकमा फेसबुकलगायत सामाजिक सञ्जालमा रास्वपाका शुभेच्छुक र समर्थकका गतिविधिलाई अराजक भनेका छन्।
‘कार्यवाहक सभापति अर्यालज्यूले सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीको शुभेच्छुक तथा समर्थकहरूको अराजक उपस्थितिप्रति ध्यानाकर्षण भएको र यो हाम्रो लागि नै घातक हुने, हामीले यसलाई अनियन्त्रित छोड्यौं भने कुनै दिन हाम्रो लागि नै घातक हुने र यसमा सबै सदस्यहरूलाई पार्टीले बनाएको सामाजिक सञ्जाल प्रयोग आचारसंहिताअन्तर्गत रहन र अभ्यास गर्न र सभ्य रूपमा प्रस्तुत हुन उहाँले अनुरोध गर्नुभएको छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले भने।
यसअघि रवि पहिलो पटक उपप्रधान तथा गृहमन्त्री बनेपछि दोहोरो नागरिकता प्रकरणमा उनको पद गए सँगै समर्थकहरूले अन्य पार्टीका नेताहरूलाई गाली गर्ने शैलीमा ‘गुड लक् रवि दाइ’ भन्दै लेख्ने गरेका थिए। त्यसयता पनि रास्वपा समर्थकहरू सहकारी ठगी तथा सम्पत्ति शुद्वीकरण मुद्दामा कारागार चलान भएसँगै अदालतप्रति खनिने गरेका छन्।
केन्द्रीय समिति सदस्य समेत रहेकी ज्वाला संग्रौलाले रवि जेल गएपछि ‘न्यायाधीश पार्टीका झोले कार्यकर्ता’ भने सामाजिक सञ्जालमा लेखेकी थिइन्। त्यसपछि उनीविरुद्व सर्वोच्चमा मानहानीको मुद्दा दर्ता भएको छ।
यसैबारे रास्वपा कार्यवाहक अर्यालले सामाजिक सञ्जालमा अनावश्यक रूपमा नबोल्न र नलेख्न पनि अनुरोध गरेका छन्।
सामाजिक सञ्जालमा देखिने अमर्यादित, अशिष्ट, अभद्र प्रवृत्तिलाई पार्टी पंक्तिबाट निरुत्साहित गर्न कार्यवाहक सभापति अर्यालले निर्देशन दिएका थिए।