विराटनगरबाट बढारिए ओली, झन् बलियो देखियो विद्या भण्डारी गुट-Sutra News

विराटनगरबाट बढारिए ओली, झन् बलियो देखियो विद्या भण्डारी गुट

शुक्रबार, ५ बैशाख २०८२

शुक्रबार, ५ बैशाख २०८२

काठमाडौं । एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र पूर्वउपाध्यक्ष समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको गुट विराटनगरबाट थप झाङ्गिएको छ। यसअघि पार्टीभित्र मनमौजी गरिरहेका ओलीलाई रोक्न एमाले फर्किने तयारीमा रहेकी भण्डारीको सक्रियता विराटनगरमा सार्थक देखिएको हो।



अहिलेसम्म अधिवेशनमा ओलीको हस्तक्षेप अनि सहमतिका नाममा सिंगो कमिटीको नाम भित्तामा टाँस्ने चलन हुर्किएको एमालेभित्र कोशी प्रदेशमा यसपटक त्यस्तो भएन। कुनैबेला ओलीकै विश्वासपात्र रहेका र पछिल्लो केही वर्ष उनीबाट टाढिएका मोरङका नेता विनोद ढकाल यस पटक पूर्वराष्ट्रपति भण्डारीको गुटमा गएपछि फरक परिदृश्य बन्यो।

मंगलबारदेखि सुरू भएको एमालेको विराटनगर महानगर अधिवेशन संस्थापन (ओली) भर्सेस इतर (भण्डारी) समूह फरक प्यानल बनाएर चुनावी मैदानमा होमिए। ओलीले रोहित कोइरालालाई अध्यक्षमा उठाउँदा बलराम गिरी भण्डारी गुटबाट उठेका थिए। अन्तत: नतिजा भण्डारीकै पक्षमा आयो।

त्यसमा पनि अहिले र पहिले ओलीकै विश्वासपात्र मानिने भण्डारी र अर्का नेता परशुराम बस्नेतबीचको टसलले पनि भण्डारी गुटले बाजी मारेको हो। पहिले ओली गुटका लागेका ढकाल प्रदेश अधिवेशनदेखि भण्डारी गुटमा दृढ उभिएपछि अधिवेशन उद्घाटनमा बोल्नै पाएनन्। अर्थात् उनलाई बस्नेतले मञ्चमा मानमर्दन गरी बोल्न दिएनन्।

त्यसपछि ढकालले भण्डारीको गुटबाट प्यानलै उम्मेदवारी उठाइदिए। नभन्दै, भण्डारी गुटबाट प्यानलै विजयी भयो पनि।

भण्डारी गुटका गिरीले ओली गुटका कोइरालालाई ५२ मतले पछि पार्दै महानगर कमिटीको अध्यक्षमा निर्वाचित भए। उपाध्यक्षमा पनि गिरी पक्षबाट सुरज न्यौपानले जित निकाले। सचिवमा विज्ञान चापागाई विजयी हुँदा उपसचिवमा हामिद आजादले जित निकालेका छन्। त्यस्तै, महिला उपसचिवमा हिमा मैनाली पोखरेलले जितिन्।

ओलीको विकल्पमा तयार भएकी भण्डारी

पूर्वराष्ट्रपति भण्डारी ओलीका हालैका गतिविधिप्रति असन्तुष्ट छिन्। एमाले नेताहरूमाथिको कारबाहीमा पनि उनको असहमति छ। ओलीले पार्टीमा एकता कायम गर्न नसकेको र उनले नेतृत्व लिएपछि संगठनमा निराशा एवं क्षयीकरण बढेको उनको बुझाइ छ। यसैकारण उनले पार्टीभित्र सक्रियता बढाउन थालेकी हुन्।

त्यसमा पनि ओलीकै विश्वास पात्र मानिने गोकुल बाँस्कोटा, पृथ्वीसुबा गुरुङलगायतका नेता भण्डारीको पक्षमा खुल्दा ओलीलाई झन् गाह्रो बनाएको छ।

आफ्नै मातहतका नेताहरू भण्डारीलाई ‘उक्साउन’ लागिपरेको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई मन परेको छैन। जुन बेलाबखतमा आउने उनका अभिव्यक्तिले पनि पुष्टि गर्छ।

‘पूर्वराष्ट्रपतिकोमा गएर मानिसहरूले किन गल लगाउनुपर्‍यो? किन उचालिराख्नुपर्‍यो र?’ एक कार्यक्रममा ओलीले भनेका थिए, ‘तपाईं आइदिनुपर्‍यो भनेर भन्नै परेन नि! पार्टीमा आउने हो भने पनि सल्लाह गरेरै आउने हो। उहाँले बुझिहाल्नुहुन्छ नि।’

अबको महाधिवेशनमा ओली फेरि अध्यक्ष बन्न चाहन्छन् भन्ने प्रष्ट छ। उनले उमेर हददेखि तेस्रो कार्यकालका लागि पनि अध्यक्ष दोहोरिने गरी विधान संशोधन गरिसकेका छन्।

तर, महाधिवेशनअघि नै भण्डारी सक्रिय भए अप्ठेरो हुने भय उनमा देखिन्छ। एमालेका केही नेताहरू अबको महाधिवेशनमा भण्डारीलाई नै अघि सार्नुपर्ने पक्षमा खुलेर लागेका छन्। अबको दुई वर्षको अवधिमा सबैतिर पुग्न सके परिणाम आफ्नो पक्षमा आउने भण्डारीको बुझाइ छ। त्यसैले पनि उनी अहिले देश दौडाहा गरेर कार्यकर्ताको राय लिइरहेकी छन्।

एकातिर भण्डारीलाई एमालेमा सक्रिय बनाएर वाम एकताको आधार बनाउन लागिपरेको केही नेताहरूले सार्वजनिक रूपमै बताउदै आएका छन्। माओवादीका अध्यक्ष पुश्पक्जम दाहाल प्रचण्ड पनि भण्डारीलाई एमालेमा भित्र्याएर वाम एकताको लागि कस्सिएको कुरा लुक्दैन। त्यसका लागि उनले पूर्वउपराष्ट्रपति नन्द किशोर पुनलाई माओवादीमा भित्र्याएर विद्यालाई सजिलो बनाइदिएका छन्।

अर्कातिर भण्डारीको आफ्नै क्रियाशीलता पनि रोकिएको छैन। कतिपय पदाधिकारी तहकै नेताहरू दुई खेमामा विभक्त भई एउटा भण्डारी पक्ष र अर्को ओली पक्ष भएको कुरा एमालेको तल्लो तहसम्मै पुगेको छ। जुन कुरा ओलीले पनि कार्यक्रमहरूमै स्विकार्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार