तीनकुने घटनापछि शसंकित राप्रपा : पार्टीका नेताहरू कुनै अभियान वा समूहमा गए पद खारेज हुने-Sutra News

तीनकुने घटनापछि शसंकित राप्रपा : पार्टीका नेताहरू कुनै अभियान वा समूहमा गए पद खारेज हुने

शुक्रबार, ५ बैशाख २०८२

शुक्रबार, ५ बैशाख २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रवादी विचार भएका दल, अभियान र समूहमा रहेर काम गर्नेलाई पार्टीको पदबाट हटाउने निर्णय गरेको छ।



राप्रपाले बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि निर्णयबारे जानकारी दिन जारी गरेको विज्ञप्तिको १ (छ) बुँदामा लेखिएको छ, ‘राष्ट्रवादी विचार भएका दल, अभियान, समूहले गर्ने कार्यक्रमलाई पार्टीले सहयोग गर्ने तर त्यस्ता दल अभियान वा समूहको समितिमा रहेर कार्य गरेको पाइएमा स्वतः पदमा नरहने केन्द्रीय कार्यसम्पादन समितिको यस पूर्वको निर्णय सबै कार्यसमितिलाई जानकारी गराउने।’

प्रवक्ता मोहन श्रेष्ठले पार्टीको कुनै पदमा वहालवाला नेता अन्य दल वा अभियान तथा समूहमा रहेर त्यसको कार्यसमितिमा रहेका खण्डमा स्वत: राप्रपामा रहेको पद जाने यसअघि नै गरेको व्यवस्थालाई सबै कार्यसमितिमा पुन: जानकारी गराउने निर्णय भएको बताए।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले चैत १४ गते ‘जनकमान्डर’ तोकेका दुर्गा प्रसाईंको आह्वानमा चैत १५ गते तीनकुने क्षेत्रमा हिंसात्मक प्रदर्शन भयो। त्यस क्रममा दुई जनाको मृत्यु भएको थियो भने अर्बौंको क्षति भएको छ।

त्यस आन्दोलनबाट राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र राप्रपा महामन्त्री तथा सांसद धवल शम्शेर राणालाई चैत १५ गते पक्राउ गरी अदालतबाट अनुमति लिएर अनुसन्धान अघि बढाएको छ।

त्यही कारणले पनि राप्रपा सशंकित भएर यस्तो निर्णय गरेको देखिन्छ। राप्रपाले अन्य अभियानका समितिमा रहेर काम गरेको पाइए स्वत: पार्टीको पदबाट हट्ने निर्णय गरेकोले मिश्र र राणाको पद के हुन्छ भन्ने चासोसमेत कतिपयलाई छ। तर राप्रपा यसबारे मौन छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार