

काठमाडौं । मदन भण्डारीको मृत्युपछि समाजवादका बारेमा त्यस्तो वैचारिक व्याख्या र बहस कसैले गरेको देखिन्न । एमाले नेताहरू केपी ओलीको वृत्तमा घुमिरहे, अब बिस्तारै विद्याको वृत्तमा घुम्न थालेका छन्। पद, पैसा र पावरका पछि लागेका एमाले नेताहरू केवल शक्तिको लालसामा नै दौड धूपमा देखिन्छन् ।
नेपालमा कार्लमाक्स बुझेका आफूलाई अब्बल नेता हु भन्नेहरूको भिडमा मदन मात्रै एक त्यस्ता समाजवादका व्याख्याता थिए जसको प्रभाव र सिद्धान्तको एक छिटाले पनि थप पचास वर्ष नेपाली राजनीति प्रभावित भइरहने छ । उहाँको शालीनता, निष्ठा र असल चरित्रबाट मात्रै होइन नेपाली राजनीतिमा लागेका जोसुकै व्यक्ति पनि प्रभावित छन्। उनको ‘जनताको बहुदलीय जनवाद’ समाजवादको परिस्कृत रूप हो।
‘जबज’ एक यस्तो लोकतान्त्रिक विचारधारा हो, जसको उद्देश्य नेपाली समाजमा आर्थिक संगठन स्थापना गर्नु हो जसले व्यक्तिलाई अधिकतम न्याय र स्वतन्त्रता प्रदान गर्न सक्छ। आर्थिक उन्नतिको आधार शिविर नै समाजवादको पहिलो खुड्किला हो त्यही खुड्किलालाई अझै बलियो बनाउने आधार थियो जबज। समाजवाद समाजको एक आर्थिक, सामाजिक, नैतिक, भौतिक, वैचारिक संगठन हो । जसमा उत्पादनका भौतिक साधनहरू समाजको समग्र रूपमा समाजका प्रतिनिधिहरू र उनीहरूप्रति उत्तरदायी संस्थाहरूद्वारा संचालित हुन्छन् ।
साझा योजना ,साझा उद्देश्य, समान सहभागितामूलक सामाजिक उन्नतिको लागि बराबरको हैसियतको अनुभूति नै जनताको बहुदलीय जनवादको उद्देश्य थियो । विकास र प्रतिफल प्रति समाजका सबै सदस्यहरू हकदार हुन्छन् र हुनु समाजवादको विशेषता हो। समान अधिकारको आधारमा योजना र सामाजिक कृत उत्पादनको फाइदा समानतामा आधारितरहि वितरण गर्नु समाजवादको अर्को बाटो हो। समाजवादको आधारभूत विशेषता भनेको भूमि र पुँजीको सामाजिकीकरण पनि हो। मदन भण्डारीले निर्माण गरेको जबज समाजवादको पृष्ठभूमि माथि एउटा नवनिर्मित भवन थियो।
समाजवादको विचार पहिलो पटक कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले आफ्नो पुस्तक ‘द कम्युनिस्ट मेनिफेस्टो’ मा प्रस्तुत गरेका थिए। नेपालका कम्युनिस्ट नेताहरूको गीता हो समाजवादको अन्तर्राष्ट्रिय व्याख्या । मदनले ल्याउन लागेको जबज प्रति कतिपय नेताहरू असन्तुष्ट थिए। बामदेव गौतम मात्रै एक त्यस्ता नेता हुन जसले मदनको जबजलाइ पुनर्व्याख्या मात्रै गरेनन् यो सिद्धान्त जनतालाई बुझाउँदै पनि हिँडे।
साँच्चै भन्ने हो भने मदन पत्नी विद्याले पनि जबजलाई अनुसरण गरेको देखिन्न। काँग्रेसले बिपी बिर्सिनु र एमालेले मदन बिर्सिनु र भोलिका दिनमा प्रचण्डलाई माओवादीले बिर्सिनु सामान्य लाग्दै गए पनि विरासतले संस्थापकहरुलाई बिर्सनु नै पार्टी पतनतर्फ जानू हो भन्ने कुरा अहिलेको धमिलिँदै गएको नेपालको वामपन्थी राजनीतिले देखाइरहेको छ।