

क्यालिफोर्निया । सामाजिक परिधिभित्र नअटाउने सम्बन्ध, जसले भित्रभित्रै एक अर्कालाई थामेको छ । अमेरिकामा उच्च शिक्षाको सपना बोकेर नेपालबाट आएका विद्यार्थीहरूको जीवनशैली बाहिरबाट हेर्दा आधुनिक, स्वतन्त्र र लोभलाग्दो देखिन्छ।
सामाजिक सञ्जालमा उनीहरूले पोस्ट गरेका आकर्षक तस्बिरहरू, सुन्दर स्थानहरूका भ्रमणहरू र चम्किला लुगा—यी सबैले बाहिरी दुनियाँलाई यस्तो देखाउँछ, जस्तो उनीहरू सफलताको शिखर चुमिरहेका छन्। तर, ती चमकदार तस्बिरहरूको आडमा लुकेको हुन्छ । भावनात्मक एक्लोपन, आर्थिक संघर्ष, मानसिक थकान र पहिचानको द्वन्द्व। विशेषतः ‘लिभिङ टुगेदर’ शैलीमा बसेका विद्यार्थीहरूको जीवन अझ बढी जटिल, संवेदनशील र कहालीलाग्दो हुन्छ।
नेपालबाट टाढा, हजारौँ माइल पर—जहाँ न त आमा–बुबाको साथ हुन्छ, न त बाल्यकालको साथी। जहाँ हरेक कुरो आफूले आफैँ गर्नुपर्ने हुन्छ। बिहान क्लास, दिउँसो काम, बेलुका गृहकार्य अनि भोलिको चिन्ता। यस्तो दैनिकीमा ‘कोही नजिकको’ मान्छे हुनु—जो सँग आफ्नो थकान, आक्रोश, पीडा र खुसी बाँड्न सकिन्छ—आवश्यक जस्तै लाग्छ। यस्तै आवश्यकता र समझदारीले जन्म लिन्छ, लिभिङ टुगेदरको सम्बन्ध।
यी सम्बन्धहरू सधैँ प्रेमको परिभाषाभित्र मात्र सीमित हुँदैनन्। कोही व्यवहारिक कारणले, कोही भावनात्मक साथको खोजीमा—एउटै कोठामा, एउटै भान्सामा, एउटै बेडमा बसेका हुन्छन्। उनीहरू सँगै खाना पकाउँछन्, भाडा तिर्छन्, असाइन्मेन्टहरू गर्छन्, कहिलेकाहीँ त आँसु पनि सँगै बगाउँछन्। यस्तो सहवासमा उनीहरूले “म छु तिमी सँगै”—भन्ने मात्र होइन, त्यो अनुभूति पनि गराउँछन्।
तर यिनै सम्बन्धहरू, नेपाल फर्किँदा वा घरमा फोन गर्दा—एक शब्दले पनि उल्लेख हुँदैनन्। किनभने हाम्रो समाज यति खुला छैन। ‘लिभिङ टुगेदर’ भन्ने शब्द नै असभ्य ठहरिन्छ। हाम्रो संस्कारले विवाहबाहेकको सहवासलाई ‘पाप’ ठान्छ। त्यसैले, यी विद्यार्थीहरू एक–अर्काको सबै थोक बनेर पनि समाजका लागि अदृश्य सम्बन्धमा बाँधिएका हुन्छन्।
कसैलाई यसरी सँगै बस्नु परेछ भन्नु भनेको, घरमा आफ्नै चरित्रमाथि प्रश्न उठाउने खुला आमन्त्रण दिनु हो। त्यसैले उनीहरू मौन बस्छन्। न आफूलाई थाहा पाउँछन्, न समाजलाई देखाउँछन्। तर त्यो मौनता भित्र एउटा जीवन चलिरहेको हुन्छ—सपना बोकेको, संघर्ष सँग जुधिरहेको, र साथको अभावमा पनि साथ दिइरहेको छ ।
अमेरिकाको महँगो जीवनशैली, कलेजको शुल्क, घर भाडा, खाने खर्च, कामको दबाब—यी सबैले विद्यार्थीहरूलाई निरन्तर थिचिरहेको हुन्छ। एक्लै यो सब गर्न सम्भव नहुन सक्छ। त्यसैले उनीहरू सँगै बस्न रोज्छन्। सँगै बस्नाले खर्च पनि घट्छ, मनोबल पनि बढ्छ।
तर यस्तो सहवास सधैँ सुगम हुँदैन। फरक–फरक संस्कार, व्यवहार, अपेक्षा र जीवनशैलीले कहिलेकाहीँ टकराब पनि ल्याउँछ। तर ती टकराबलाई पनि उनीहरूले बुझाइ र धैर्यताले पार गर्ने कोसिस गर्छन्। किनभने उनीहरूलाई थाहा छ—त्यही सम्बन्धले उनलाई टुक्रिनबाट जोगाइरहेको छ ।