

काठमाडौं । गएको चैत्र २७ गते डा. जगमान गुरुङ नेतृत्वको राजा फर्काउने समितिले काठमाडौंमा गरेको प्रतिबद्धता सभामा नेकपा एमाले छाडेकी गंगा चौधरी पनि मिसिइन्। जुन अप्रत्याशित पनि थिएन, किनभने उनी एमाले छाडेदेखि नै राजाको पक्षमा वकालत गरिरहेकी थिइन्।
उक्त दिनपछि भने एमालेकी समानुपातिक सांसद हुँदा प्रतिनिधि सभामा सबैभन्दा चर्को स्वरले कराउने दाङकी चौधरी पनि औपचारिक रुपमा राजावादी बनिन्।
त्यस क्रममा निवर्तमान एमाले केन्द्रीय सदस्य चौधरीले एमाले नेतृत्वमाथि गम्भीर आरोप लगाइन्। एमालेले २०७९ को चुनावमा टिकट नदिएपछि बिरक्तिएकी उनले स्वतन्त्रतर्फ उम्मेदवारी दिएकी थिइन्। एमाले उम्मेदवार शान्ता चौधरीविरुद्ध उठेकी उनले चुनाव जितिनन्।
त्यही झोंकमा उनले एमाले नेतृत्वले विदेशी दबावमा परेर आफूलाई प्रतिनिधि सभाको प्रत्यक्षतर्फ टिकट नदिएको आरोप लगाउँदै अब आफू पनि राजा फर्काउने अभियानमा लागेको सुनाइन्।
यो आन्दोलन देश बचाउने आन्दोलन भएको उल्लेख गर्दै भनिन्, ‘यो देश बचाउने र बेच्नेबीचको लडाइँ हो, यसमा हाम्रो समर्थन रहेको छ।’
२०७४ को आम निर्वाचनको मुखमा एमाले प्रवेश गरेकी चौधरी समानुपातिक सांसद बनिन्। त्यसबीचमा एमाले र माओवादी केन्द्रबीच एकता भयो। उनी झन् ठूलो पार्टीकी सांसद बनिन्। पछि उनी पार्टीबाट अलग्गिइन्, अहिले चौधरी राजावादी बनेकी छन्।
जबकि उनलाई एमालेमा संरक्षण गर्ने र सांसद बनाउने पनि एमाले अध्यक्ष ओली नै थिए। फेरि पनि उनलाई टिकट नदिएर शान्तालाई चुनाव लड्न भनेपछि आफू बाध्य भएर राजावादी बनेको उनको तर्क छ।
गङ्गा मात्र हैन, त्यसका अलावा पनि ओलीले एमालेबाट निकालेर राजावादी हुन बाध्य भएका अरू पात्रहरू पनि छन्। जसले पूर्वराजा शाह र उनको नाममा ताण्डव मच्चाइरहेका छन्। एकबेला ओलीले हुर्काएकाहरू अहिले गणतन्त्रमाथि धावा बोलिरहेका छन्।
पूर्व आइजीपी, सर्वेन्द्र खनाल
गएको चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनको अघिल्लो दिन पत्रकार, कलाकारसहित ३१ जनाको नाम समावेश गरेर अपिल सार्वजनिक भयो।
छलफलको आयोजना भाष्करराज राजकर्णिकारले गरेका थिए। त्यसपछि जारी भएको ६ बुँदे अपिलमा उनीसहित कलाकारहरू मनीषा कोइराला, दीपक राज गिरी, पत्रकारहरू युवराज घिमिरे, किशोर प्रधान, जीवराम भण्डारी, टीकाराम यात्री, अधिवक्ता स्वागत नेपालपूर्व आइजीपी सर्वेन्द्र खनाललगायतको नाम छ।
हस्ताक्षर विना सार्वजनिक भएको त्यो अपिलमा राजावादीलाई प्रदर्शनको अधिकार हुने र कुनै अप्रिय घटना भएमा सरकार जिम्मेवार हुने उल्लेख थियो। तर, उक्त प्रदर्शनबाट २ जनाले ज्यान गुमाए भने अर्बौंको क्षति भयो।
अघिल्लो दिन उल्लेखित व्यक्तिहरूले बोलेको भिडिओ अहिले सामाजिक संजालमा भाइरल भयो। जसमा पत्रकार टिकाराम यात्रीदेखि सर्वेन्द्र खनालसम्म छन्।
त्यसपछि पूर्वआईजीपी खनालले आफ्नो नाम किर्ते भएको बताए। ‘वक्तव्यमा मेरो हस्ताक्षर पनि छैन, यसमा सहमति पनि छैन,’ उनले भने, ‘जनताले नयाँ नेता खोजिरहेकाले अब अर्को शक्ति चाहिन्छ भन्ने मेरो पहिलेदेखिकै धारणा हो। तर वक्तव्यमा मेरो सहमति छैन।’
तर उनी पछिल्लो समय एमाले छोडेपछि राजावादी अभियानमा सक्रिय छन्।
एकबेला एमालेभित्र खनाल ओलीका प्रिय पात्र मानिन्थे। एमाले प्रवेश गर्दैगर्दा खनालले ओली जत्तिको राजनेता आफूले अरू कसैलाई नपाएको भनेका थिए। ‘मैले ७ वटा प्रधानमन्त्री फेरेँ। किशुनजीदेखिका। मैले उहाँका धेरै कुरा देख्न पाइनँ, मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ,’ उनी भन्थे।
उनले भनेझैं एमाले प्रवेश गर्नुअघि देखि नै ओलीका लागि सांसद अपहरण सम्म गर्न भ्याएका पात्र थिए- खनाल। तत्कालीन समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई ‘अपहरण शैली’मा काठमाडौं ल्याउनमा नेकपा सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजीपी सर्वेन्द्र खनाल सांसद यादवलाई लिन काठमाडौंबाट महोत्तरी पुगेका थिए।
एमालेबाट विदा गराएर राजावादी बनाइदिए रावललाई
गएको कात्तिकको एमाले सचिवालय बैठकमा भीम रावल कहिल्यै पार्टीको पक्षमा नबोलेको बरू पार्टीविरुद्ध मिडियामा बोल्दै हिँडेको भन्दै आक्रोश पोखेका ओलीले केही समयपछि रावललाई पार्टीबाट निकाले।
अहिले रावल राष्ट्रवादी शक्ति निर्माणमा लागेका छन्। तर एमालेबाट विदा भएपछी उनको राजनीतिक जीवन भने उस्तो धेरै फस्टाएको छैन। बरू उनी राजावादी मोर्चातिर लागेका छन्।
एमाले छाडेपछि विराटनगर पुगेका रावललाई नेकपा एससहित राजावादीहरूले स्वागत गरेका थिए। स्वागतमा दुर्गा प्रसाईँका समर्थकहरूसमेत र ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान’का प्रतिनिधिले रावललाई खादा माला लगाइदिएका थिए। रावलका लागि राजावादीहरूले ‘जय देश जय नरेश’ को नारा लगाए।
भलै, उनले त्यसलाई खण्डन गर्दै फेसबुकमा लेखे, ‘विराटनगर र सुनसरीको भ्रमणमा जाँदा देशभक्त युवाहरूले मलाई साथ दिएकोमा बामालेहरूले ‘भीम रावल राजावादी भयो’ भनी प्रचार गरेछन्।’
त्यसपछि २१ पुसमा रावलले इटहरीमा राजावादी पक्षसँग भेटघाट गरे। छलफलमा रावलले २०६२/६३ को दोस्रो जनआन्दोलनमा गणतन्त्र र धर्मनिरपेक्षता ल्याउने एजेन्डा नै नभएको दाबी गरे। २०४७ सालमा संवैधानिक राजतन्त्र उल्लेख रहेको बताउँदै उनले राजाकै अगाडि आफूले मन्त्रीको सपथ गरेको पनि सम्झिए।
‘२०४७ सालमा संवैधानिक राजतन्त्र भयो, एमालेले पनि मानेको हो, त्यही अन्तरगत म पहिलोचोटी मनमोहनजीको पालामा मन्त्री भएको हो, राजाकै अगाडि उभिएर सपथ लिएको हो,’ उनले भने, ‘२०६२/६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन, धर्ननिरपेक्षता पनि थिएन।’
तीनकुने घटनापछि पनि उनी विभिन्न सञ्चारमाध्यमहरूमा अन्तर्वाता दिंदै गर्दा पूर्वराजा शाहको पक्षमा वकालत गरिरहेको पाइन्छ। स्रोतका अनुसार दरबार उनलाई राजा फर्काउने अभियानको कमान्डर नै बनाउन चाहिरहेको छ।
ओलीको छत्रछाँयामा हुर्केका राजावादी : प्रसाईं
गएको १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनका लागि पूर्वराजाले बनाइदिएका मुख्य कमान्डर दुर्गा प्रसाईं अहिले हिरासतमा छन्। त्यसो त उनी पूर्वराजाले नै कमान्डर बनाइनुपर्ने हसियतका पात्र भने थिएनन्। तर त्यसको लायक बनाइदिने उनै ओली हुन्।
नेकपाको अध्यक्ष तथा प्रधानमन्त्री हुँदाताका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगै बसेर प्रसाईंको घरमा मार्सी चामलको खाना खाएपछि उनको राजनीतिक हाइप उक्सिएको देखिन्छ। जबकी प्रसाईं झापाको बिएण्डसी अस्पतालको सम्बन्धन पाउने स्वार्थले ओलीसँग नजिएका थिए। तर ओलीले यो सबै बुझ्दा-बुझ्दै पनि प्रसाईंलाई साथमै लिएर हिँडे।
कतिसम्म भने, सबै किसिमका प्रक्रिया मिच्दै ओलीले उनलाई एमालेको केन्द्रीय सदस्य मात्र हैन, एउटा विभागको नेतृत्व नै सुम्पेका थिए। त्यतिबेला ओलीको छत्रछायामा प्रसाईंले जे जति गरे त्यो सबै गणतन्त्रको मर्म विपरीत थियो। अनि त्यसलाई उकास्ने काम पछाडीबाट ओलीले गरिरहेका थिए।
अहिले उनी राजा फर्काउने आन्दोलनको कमान्डर भएर उपद्रो मच्चाइरहेका छन्।