

फेसबुकबाट सुरु भएको प्रेम फेसबुकमै गएर अन्त हुन्छ भन्ने कुरा मैले बुझेकी थिए। यो कुरा मलाई मेरो विगतको अनुभवले राम्रो पाठ पढाएको छ। मेरा बाबुआमाले घरमा बोलाउने नाम सुनयना हो । तर फेसबुके नाम चैँ सुनिता चौहान हो । केही महिना देखि म एउटा केटासँग फेसबुके प्रेममा छु । थाहा छ फेसबुके प्रेम फेसबुक जस्तै चटपटे र छटपटे हुन्छ । मैले बुझेको छु, तर बुझ्दा बुझ्दै पनि मैले मेरो मनलाई चैँ बुझाउनु सकेकी छैन र अनियन्त्रित रूपमा अगाडि बढिरहेकी छु । जब एकान्तमा हुन्छु फेसबुक र अरू सोसल मिडिया मेरो श्वास जस्तै हो यो नचलाई म बाच्नै सक्तिन ।
नवीन र मेरो प्रेम फेसबुकको माध्यमबाट झाँगिएको थियो । डेढ- दुई महिने हाम्रो फेसबुके प्रेमले सबै अव्यक्त कुराहरू व्यक्त गरिसकेका थिए । भन्न बाकी केही थिएनन् । बोल्न बाकी पनि केही थिएनन् । फेसबुक नै सर्वस्व भयो हाम्रो । फेसबुकमै बिहे गरिसकेका थियौ हामीले । अब सुहागरात मान्ने काम मात्रै बाकी थियो त्यो पनि प्रत्यक्ष मात्रै हो अप्रत्यक्ष त मनाइसक्यौ। म एउटा हाई स्कुलमा म्याथको टिचर थिए। प्रायः गाउँमा म्याथ पढाउनेको निकै महत्त्व हुन्छ। एउटा गैरसरकारी संस्थाले म्याथ टिचरहरूलाई “टिचिङ मेथोड फर हाएर सेकेन्डरी स्कुल ” नामक तालीम दिइरहेको थियो। त्यही तालिममा भाग लिन म काठमान्डु जाँदै थिए। यो कुरा मैले मेरो फेसबुके प्रेमी नवीनलाई भनेकी थिए कि म राजधानी आउँदै छु भनेर ।
यो न्युज पाएको केही दिन देखि उसको नीद खलबलिएको थियो । उ मेरो आगमनलाई अधैर्य भएर कुरिरहेको थियो। उ हरेक च्याटमा अनेकन सपना बुन्ने गर्थ्यो र मलाई भन्थ्यो “तिमी आएपछि म तिमिलाई यस्तो माया गर्छु कि यस्तो माया कसैले पनि आजसम्म नगरेको होस । तिम्रो तालीम अवधिभर हामी होटेलमा सँगै बस्ने । मैले तिम्रो लागि धेरै सपनाहरू थाती राखेको छु” । उसको प्रायः हरेक कुराको पछाडि कहीँ न कतै यौन जोडिएको हुन्थ्यो । उसको त्यो छट्पटिमा म पनि सरिक भइदिन्थे । उसको कुराले प्रस्ट हुन्थ्यो कि उ निकै कामातुर छ । उ मलाई छुन निकै हतासिएको छ । उ मलाई पाउन निकै तड्पिरहेको छ ।
उ प्रायः च्याटमा मेरा शरिरिक अङ्गहरु देखाउन अनुरोध गर्थ्यो । म पनि उस्का कुराहरूलाई मानिदिन्थे । मैले यो विषयलाई गम्भीरता पूर्वक लिएकी छैन । तर हरेक च्याटमा उ मेरो बैशलाइ परख गर्थ्यो ।कस्तो मात्तिन्थ्यो उ र उत्तेजनामा खै के के भन्थ्यो । म पनि उसको कुरामा खै किन कसरी बहकिन्थे होस नै गुमाएर। उसको कुरा गराइ मन पर्थ्यो मलाई । हरेक शब्दमा उ मेरो सौर्न्दर्यको खुलेर प्रशंसा गर्थ्यो। हामी स्त्रीहरू आफ्नै सौन्दर्य प्रशंसाको भोका हुन्छौ त्यो पनि मन परेको पुरुषबाट ।
मैले बुझेकी थिए जिन्दगीलाई र यो पनि बुझिरहेकी थिए कि हामीले समयलाई दुरुपयोग गरिरहेछौ। पहिलो प्रेम ब्रेक अप भएपछि निकै तनावग्रस्त थिए म । त्यही तनावको आवेग कम गर्न ममा फेसबुक चलाउने र नयाँ साथीहरू ( प्रायः केटा ) बनाउने आदत पर्दै गयो । यो भन्दा अगाडि एउटा टिचर ( सुरज ) सँग प्रेममा थिए म करिब डेढ वर्ष जति । फेसबुकमा स्थायी प्रेम भन्ने कुरा नहुने रहेछ। मेसेन्जर च्याट पछि भेट्न मन लाग्दो रहेछ। भेटेपछि खै के के हुदोरहेछ । बैँस हो सम्हाल्न पनि अलिक गाह्रो हुदोरहेछ । त्यो माथि पनि मायाको स्वाद चाख्न थालेपछि एक पछि अर्को कस्तो होला भन्ने जिज्ञासा मनमा हुरहुर्ती आउदोरहेछ। दिलको भोक भन्दा यौवनको भोक यति तीव्र हुदोरहेछ कि विश्राम लिनै गाह्रो।
म जुन स्कुलमा पढाउँथे त्यहाँ टिचरका लागि छुट्टै आवास थियो । सुरज अग्रेजी पढाउथ्यो । गाउँमा खुलेर प्रेम गर्न गाह्रो हुन्छ, त्यहाको वातावरण नै त्यस्तै हुन्छ। हेड टिचरको रुल कडा थियो। महिला आवास छुट्टै थियो । उसलाई मेरोमा आउन अलि कठिन हुनेभएकोले म नै उस्कोमा जान्थे राती राती र बिहानै झिसमिसेमा आफ्नो रुममा फर्कन्थे । विद्यार्थीहरु बिहान सुतिरहेका हुन्थे । एक दिन एउटी दस क्लासकी स्टुडेन्ट वासना रोकाएले देखिन मलाई, झिसमिसेमै सुरज सरको कोठाबाट बाहिर निस्कँदै गरेको अवस्थामा। देख्नासाथ उल्टो उसैलाई हप्काए मैले कि यति सबेरै विद्यार्थी भएर किन बाहिर निस्केको भनेर। उ पनि लजाइ म पनि लजाए । उसलाई फकाए चुप लाग है भनेर । उसले पनि भनी ” मिस म पनि बाहिर निस्केको कुरा कसैलाई नभन्दिनु है” ।
यसो सोचे यो वासना रोकाए पनि कसैको वासनामा छे। वासना रोकाए अरू विद्यार्थी भन्दा अलि उत्ताउली थिई। हेड सरले थाहा पाउलानकी भन्ने ठुलो डर थियो । त्यस्तो कडा नियन्त्रणमा पनि हामीले प्रेम गर्यौ दुई वर्ष। दुई चोटि त एबोर्सन गर्न म पहिल्यै सुरजसँग काठमान्डु आइसकेकी थिए।
स्कुलमा धेरै पिरियड लिनुपर्दा उ बेला बेलामा कतिन्जेल यो जाबो अस्थायी शिक्षकको जागिर खाइरहने भनेर गुनासो पोख्थ्यो र आफै देखि बिरक्तिन्थ्यो। पछि उसले भारतीय दूतावासबाट छात्रवृत्ति पाए भन्यो । बाहिर जान पनि कोसिस गर्दैथ्यो तर दुई दुई चोटि अमेरिकी एम्बेस्सीले भिसा रिजेक्ट गर्दा भएको एक दुई लाख पनि रित्तिएपछि निकै भौतारिरहेकोको देखिरहेथे सुरजलाई ।
अन्ततः उसले स्कुल छोड्ने निर्णय गर्यो। स्कुलबाट बिदाइ भएपछि काठमान्डु पुगेको सम्म खबर गर्यो । त्यसपछि उ हरायो। मोबाइल स्विच अफ भयो उसको। पछि हामीले एकले अर्कालाई बिर्सँदै गयौ । हाम्रो प्रेममा प्रेम कम वासना ज्यादा थियो । मायामा कुनै वाचा बन्धन पनि थिएन । भोलि समय र परिस्थितिले छुट्टिनु पर्ने अवस्था सिर्जना भयो भने चुपचापले अलगिने भन्ने मौन स्वीकृति थियो हामी बिच । र छुट्टियौ पनि ।
उ गैसकेपछी एकान्त बोध भो मलाई । केही दिन गाह्रो भो । र सहारा बन्दै गयो फेसबुक । अनि यो फेसबुक भित्रको अर्कै सन्सार अर्कै दुनियाँ देखेर अचम्मित हुन्थ्यो मन । फेसबुक फेसन बन्दै गइरहेको थियो । यो मेरो फेसबुक एकाउन्ट सुरजले नै खोलिदिएको हो। उ पनि मेरो फेसबुक साथी थियो तर उता गएपछि उसले कहिले हेलो भनेन र मेरो मेसेजको रिप्लाई पनि गरेन । शायद उ अन्लाईन आएको थिएन वा आएर पनि मेसेन्जरको मेरो मेसेजलाइ रिड गरेन। सात आठ महिना नाघी सक्यो । म फेसबुकमा यसरी रमाउन थाले छु कि समय बितेको पत्तो नै भएन ।
एक दिन वासना रोकाएको पनि नराम्रो कुरा सुने। एक जना सरसँग भागी छ उ । अरू विद्यार्थी भन्ने गर्थे वासनाको काम नै मेसेन्जरमा च्याट गर्ने हो। उसले आफ्नो पढाइलाई बरबाद गरी । सेन्ट अप परीक्षा नजिक आउँदा शिक्षकले विद्यार्थी लिएर भाग्नु कति नैतिकता थियो कुन्नि ? । स्कुलको पनि बदनाम भो । त्यो घटनापछि बोर्डस गरिएका सबै विद्यार्थीको मोबाइल खोसियो। र विद्यालयमा मोबाइल लैजान पूर्णतया बन्देज गरियो ।
स्कुलको त्यो परिवर्तनले सबै विद्यार्थीलाई गाह्रो पारेको थियो। बोलचाल हुन छोडेपछि घनिष्ठ मित्रतामा पनि छाया पर्दै जादोरहेछ । फेसबुकमा भेटिने कति केटा साथीहरू बौद्धिक भए पनि कुरा गर्दै जाँदा अन्ततः उनीहरूका उद्देश्य केवल यौन मात्रै हुन्थ्यो । यौनलाई जिन्दगीबाट झिकिदिने यदि हो भने मलाई लाग्छ यो दुनियाँ यति धेरै निरस र मरुभूमि तुल्य हुन्छ कि तपाईँ अनुमान लगाउन सक्नु हुन्न । डेढ-दुइ वर्षसम्म लगातार एक रात नबिराई ओछ्यान साटेको पुरुष विदेश पुगेपछि एकाएक हराउँछ भने उसलाई के भन्ने । दया लाग्यो उ प्रति कि यति छिटो नै रंग बदल्न सक्ने छेपारो बनेकोमा । मलाई रिस उठ्यो र उस्लाइ ब्लक हान्दिए ।
फेसबुकमा दिनकै दुई चार जना केटा साथी जोडिनु र दुई चार जना ब्लकमा पर्नु सामान्य थियो मलाई । केटीका नाउँमा खोलिएका कतिपय फेसबुक एकाउन्ट केटाका हुन्छन् ।अपरिचित केटीहरूको तस्बिर डाउनलोड गरेर त्यसबाट केटीकै नाउँमा एकाउन्ट खोलेर विकृति फैलाउने जमात पनि छ । केटी बनेर केटीसँग गफ गर्ने बिस्तारै यौनका कुरा गर्ने गोप्य कुराहरू खोतल्ने अनौठो खालको यौनिक हर्कत देख्थे प्रायः केटीका नाउँमा खोलिएका फेसबुकमा । करिब पचास प्रतिशत फेसबुक आइडी फेक हुन्छ भन्ने कुरा मलाई एक जना साथीले कुरा गर्थ्यो । त्यस्तै एउटा फेक आइडी मैले पनि बनाएकी थिए।म त्यो देखि धेरै परिचित छु । केटी भनेर गफ गर्दै गयो पछि त म केटा हु मायालु आइ लप यु भन्न थाल्छन् । म त्यस्तोमा धेरै पटक झुक्कि सकेकी छु । त्यसकारण पनि मैले केटीको फ्रेन्ड रिक्योस्ट आयो भने डिलिट हान्दिहाल्छु ।
नपरुन्जेल त रहेछ नि कस्तो होला भन्ने कौतुहलता । र मनभित्र जिज्ञासा पनि आउने । तर जब पर्छ नि अनि जस्तै असामान्य कुरा पनि सामान्य लाग्न थाल्दो रहेछ । समयले बनाएको घाउ समयले नै सेकेर निको बनाउदोरहे छ । स्कुल छोडेको केही दिनपछि सुरजको मोबाइल स्विचअफ भयो । सम्झे शायद उ छात्रवृत्ति पाएर इन्डिया अध्ययन गर्न गयो ।
पुरुषहरू सजिलोसँग परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन् भने हामी महिला मात्रै किन तिनकै सम्झना र रोदनमा रित्तिने ह ? माया त बराबरीमा मात्रै फुल्न सक्छ नि ! उसले बिर्सन सक्छ भने म चैँ उसलाई किन सम्झिराखूँ ? मैले पनि सजिलै बिर्सिदिए सुरजको अनुहार । सम्झिने कोसिस पनि गरिन । किन सम्झिऊ म ? के छ त्यस्तो गुणको भारी उसलाई सम्झिनुपर्ने ? यौन सम्बन्धकै कारण सम्झिनु पर्ने के बाध्यता छ र ? उसो भए विवश भएर यौन पेसा अँगाल्ने स्त्रीहरू दुई चार जना पुरुष सँग दिनकै सम्बन्ध गास्छन । के ती सबै बज्रस्वाठहरुलाइ सम्झेर बसिरहनु ? वाहियात हो यस्ता लेनदेनको सम्बन्धहरू । मायामा विश्वास लाग्दैन अब । नाटक गर्न चैँ मजा आउँछ ।
कुनै पनि सम्बन्धहरू स्थायी हुँदैनन् । समयको भेलमा बग्नु सिवाय जिन्दगी अर्थोक केही होइन । त्यसै कारण जिन्दगीलाई गम्भीरता पूर्वक लिएर अल्झिरहनु भन्दा रमाइलोसँग बिताउने निर्णय गरेकी थिए मैले । म म्याथको टिचर । म्याथ निरस विषय हो । बर्सेनि हजारौँ विद्यार्थी म्याथमै अनुत्तीर्ण हुन्थे किनकि यसमा कुनै रमाइलो छैन ,यसमा कुनै आनन्द छैन,यसमा कुनै जीवन छैन र यसमा कुनै रस छैन । अफसनल म्याथका फर्मुलासँग जीवनको फर्मुला म्याच नहुँदा, विद्यालयका कयौँ विद्यार्थीमा आउने नैरस्यता घटाउन म तिनीहरूलाई साथीहरूसँग घुलमिल हुन , सोसियल मिडियामा विचरण गर्न र नयाँ नयाँ साथीहरू बनाउन सुझाव दिन्थे ।
मनलाई नियन्त्रण गर्ने होइन बरु यस लाइ कन्चन नदी जस्तै बग्न दिनुपर्छ भन्ने मान्यता राख्छु म ।
मनलाई नियन्त्रणमा राखेपछि मानिसहरू जीवनमा आउने खुसी र आनन्द मिल्ने कुराहरूलाई पनि नियन्त्रणमा राख्छन् र तिनीहरू कहिले खुसी हुन सक्तैनन् । रह्यो नैतिकता अनैतिकता र चरीतिरका कुरा । आकाशमा उड्ने स्वतन्त्र पन्छीलाई कुनै चरित्रको दोष लाग्दैन । जङ्गलमा चरण गर्ने स्वतन्त्र चौपायालाई कसले चरित्रहीन भन्ने ? तिनीहरू स्वतन्त्र छन् । आफूले आफैलाई नियन्त्रण गर्न छोडेको दिन शायद मानिस पनि पशुपन्छी जस्तै निर्भय पूर्वक खुसीले बाच्न जान्ने छ । यो दुनियाँमा को नैतिक को अनैतिक? । नैतिक अनैतिकताका कुराहरू सब बकवास जस्तो लाग्छ मलाई । अमेरिकाका राष्ट्रपति जस्ता व्यक्ति पनि यौनका मामलामा चुके र झुके ।मानिस यौनको मामलामा आफ्नो पदीय मर्यादा पनि बिर्सन्छ । त्यस कारण म अच्युत छु यदि कुनै पुरुष या स्त्रीले भन्छन् भने मेरा कन्सिरीका रौँ तातेर आउँछन् भित्र भित्रै ।
आजकल म मेरा नयाँ फेसबुके प्रेमी नवीनसँग रमाउन थालेकी छु । सुरुको कुरा गराइले म उ प्रति नजिकिएकी थिए । सरस्वती कलेजमा लेक्चर छ उ पोल्टिकल साइन्सको । मैले नवीनमा आफ्नोपन देखे र त नजिकिएकी थिए। राजनीति शास्त्रको विद्यार्थी कुरा पनि त्यस्तै आक्रमण गर्थ्यो कहिले त कहिले भने छिल्लड । कहिलेकाहीँ बियर पिएर मात्तिएर लाइभ च्याट गर्दा पनि खोइ किन पो हो मन पर्थ्यो मलाई । एकै पटक आठ दस जना केटाहरूलाई म्यासेन्जरमा अलमलाउन सक्थे म । एक छिन प्रतिउत्तर दिन ढिलो भो भने नवीन सन्खा गरिहाल्थ्यो र भन्थ्यो ओइ को सँग कुरा गर्दै छेस्? भनेर सन्किन्थ्यो । म अरू केटासँग कुरा गरेको उ पत्ता लगाइहाल्थ्यो । चतुर थ्यो नवीन । म कहिलेकाहीँ अरुसग पनि च्याट गरिरहेकी हुन्थे । उ ठ्याक्कै पत्ता लगाउँथ्यो।
उसको कुरा गर्ने स्टाईल मन पर्थ्यो । उसले आफू अविवाहित भएको कुरा गरेको छ मलाई तर सन्खा लाग्छ ३५ वर्षको उमेर सम्म पनि कोही केटा मान्छे अविवाहित रहन्छ होला र?
हुन सक्छ उसले आफ्नो करियरमा ध्यान दिएर छिटो बिहे गर्ने सोचाइ नै ल्याएन की । तर मैले हाम्रो यो फेसबुके प्रेमलाई गम्भीर रूपमा लिएकी छैन । जिस्किने मस्किने र रमाइलो गर्ने लतका कारण उसले मलाई च्याटमा बुढी भनेर सम्बोधन गरिसकेपछि मैले भनेकी थिए
” बिहे नै नगरी त्यसै आर्काकी छोरीलाई बुढी भन्न पाइन्छ? ” अनि उसले एक दिन मेसेन्जरको भिडियो च्याटमै मेरो सिउँदोमा सिन्दूर हालेको थियो । अनि निर्धक्कसँग बुढी भन्न थाल्यो र मैले पनि बुढा भन्न थाले । वास्तविक श्रीमान् श्रीमती भन्दा फेसबुके यो साइनोमा खै किन पो हो मलाई रोमाञ्चक लाग्यो र तालीम लिन आउँदा तिम्लाइ भेट्छु है भनेकी थिए कुरै कुराको तालमा ।
त्यसको पन्ध्रौँ दिनपछि बसबाट ओर्लिना साथ उसले मलाई झ्याम्म अँगालो हाल्यो । पहिलो चोटि भेटेको उसलाई । कस्तो लाज लाग्यो आफूलाई त । वरिपरि हेरे । झुम्म मानिस थिए । ती सबैले हामीलाई नै हेरे जस्तो लाग्यो । उसको अँगालोबाट जवर्जस्त फुत्किए म। माथि छतमा सामान थियो । उस्लाइ संकेत गरे कि माथि छतमा सामान छ भनेर । नवीन सामान झिक्न बसमा उक्लियो । म तल भैमा नै उभिए । तालिम भक्तपुरमा थियो र सबै प्रसिक्षार्थीहरुलाइ आवास सुविधा उपलब्ध गराइएको थियो ।
होटेल बुक गर्नुपर्ने झन्झट पनि थिएन। पाल्पाबाट बिहान ७ बजे हिँडेको बस साझको ६ बजे बल्ल बसपार्क आइपुग्यो । ज्यान थाकेर आफ्नो हो कि अर्काको हो हल न चल भएको थियो । बेलुकी ८:३० सम्म सबै प्रशिक्षार्थी एकै ठाउँमा भेला भइसक्नु पर्ने थियो ।
नविनले सामान झार्यो । बसबाट सबै यात्रु आआफ्ना गन्तव्य तर्फ लागिसकेका थिए । हामी दुई बसको आडमा उभिएर गफ गर्न थाल्यौँ । मैले ८:३० भित्र भक्तपुर तालिम केन्द्रको आवास भवनमा छिरिसक्नु पर्ने कुरा बताए । यो भनिसकेपछि नवीनले नमज्जा फिल गर्यो र भन्यो –
” ह्या ..के भनेकी बुढी आज त हामी सँगै बस्ने हो”
उसले बागबजारको एउटा होटेलमा रुम बुक गरिसकेको रहेछ । खोइ के गर्ने के नगर्ने म अलमलमा परेकी थिए। नविनले कर गर्यो । मैले उसको वचन हार्न सकिन । भोलि बिहान ८ बजे तालीम सुरु हुनुभन्दा अगाडि नै नविनले पुर्याइदिने वाचा गर्यो । एउटा कलेजको जिम्मेवार लेक्चरले भनेको कुरालाई कसरी विश्वास नगर्नु ?।
उसले ट्याक्सी रोक्यो । हामी बागबजारको एउटा होटेलमा पुग्यौ । काउन्टरमा उसले मेरो परिचय पत्र राख्यो । हामी दुवै रुमभित्र गयौँ । २०५ नम्बरको कोठा। भित्रै याट्याच बाथरुम रहेछ । सुरजसँग पहिला दुइचोटी आउँदा हामी सुन्धारा लजमा बसेका थियौ । उता भन्दा यता अलि सफा र शान्त रहेछ होटेल ।असाध्य भोक र थकाइ लागेको थियो
म फ्रेस हुन बाथरुम छिरे तातोपानीमा मजाले नुहाए। मनमा अलिकति डर अलिकति त्रास अलिकति चिन्ता र ब्यघ्रता बढेको छ । भोलि बिहान भक्तपुर समयमा पुग्नकै लागि भनेर नविनले यता बागबजार ल्याएको रहेछ । फेसबुक म्यासेन्जरमा जति खुलेर कुरा गर्थे म अहिले चैँ कस्तो अड लागिरहेछ । नवीनको अनुहार सिधा गरेर हेर्न पनि सकिरहेकी छैन। नुहाउँदा आफूले म्यासेन्जर लाइभ च्याटमा गरेको हर्कत सम्झिए । आफैलाइ लाज लागेर आयो । जाडाे महिना तातोपानी छोडेर निस्कनै मन लागेन फेरि । जिउ एकसरो नुहाइ सकेकी थिए । कपाल भिजाएकी थिइन । कपाल पनि नुहाउ जस्तो लाग्यो । स्याम्पु पनि राम्रो थ्यो। कपाल नुहाउन थाले । बाहिर खाना आइसकेको रहेछ । नवीन करायो । छिटो छिटो नुहाएर रुमालले कपाल पुछ्दै बाहिर निस्किए ।
मेरो भिजेको शरीर देखेर नवीन लोभिए जस्तो लाग्यो । टेबुल खानेकुराले सजिएको थियो । म कहिलेकाहीँ सुरजसँग उता होस्टेलमा टुबर्ग बियर पिउँथे आज पनि नविनले दुई बोतल टुबर्ग बियर मगाएको रहेछ । म सोफामा बसे। खानेकुरा देखेर झन् भोग बढ्यो । नविनले दुवै गिलासमा बियर राख्यो र पिउन अनुरोध गर्यो ।
सुरजलाई सम्झिए हामीसँगै बियर पिउँदै रानी महल तिर हेर्दै असङ्ख्य सपनाहरू बुनेको । नवीन त सुरजको अगाडि केही पनि होइन । फेसबुके फ्रेन्ड त हो उ । तर धेरै नजिक्यायो मेसेन्जरको लाइभ गफले । बियर हातमा थमायो नविनले । मेरो निदारमा म्वाइँ खायो । पिउँदिन भन्न पनि सकिन । चिकेन लेगबाट तातो बाफ उड्दै थियो । बियरसँगै हामीले चिकेन लेग खायौ । दुई बोतल बियर सकियो । फेरि पिउन मन लाग्यो भन्यो नविनले । एउटा बियरले मलाई चैँ खोइ खाली पेटमा पिएर होकि राम्रै टिप्स दियो । त्यति बेला नविनले के के कुरा सोध्यो। मैले अन्ट सन्ट जवाफ दिएछु। बियर पुगेन फेरि वेटर अर्को दुई बोतल बियर लिएर आयो ।
पिएको बेलामा गफ गर्न मजा हुदोरहेछ । पिउनेहरूले अरुबेला झुट बोले पनि पिएर अलिक मात्तिएको बेला सत्य कुरा बोल्दारहेछन। आज नविनले मेरो अतीतको तीन प्रेमीहरूको पनि नाम थाहा पायो। उनीहरूसँगको मेरो सेक्सुअल रिलेशनशिप थियो भन्ने कुरा पनि थाहा पायो। नसामा भन्दिएछु मैले । उसले पनि किन कर गरी गरी सोधेको त? यति थाहा हुँदा पनि उसले त्यस्तो केही फिल गरेन। आफ्नो केटीको एक्स बोइफ्रेन्ड बारेमा खुलेहाम थाहा पाउँदा पनि उ दुखी नभएको देख्दा मलाई पनि अचम्म लाग्यो। उसले जिद्दी गर्यो मैले नि मातको सुरमा भन्दिएछु । उ पनि कति जना केटीसँग सम्बन्धमा थियो होला मैले सोधपुछ नै गरिन किनकि मलाई थाहा छ यो फेसबुके बहकाउ प्रेम हो हो कुनै दिन ब्रेकअप हुन्छ भनेर। हामी फेरि सँगै बसेर पिउन थाल्यौँ । पिएको सुरमा नवीन मेरो शरीरसँग खेल्न थाल्यो । वेटर बाहिरिएपछि हामीले ढोकामा चुकुल हाल्न बिर्सिएछौ ।एउटा आपत्ति जनक अवस्था भोग गरेर फेरि हामी आफ्नै सभ्य अवस्थाको चरणमा फर्किसकेका थियौ।
एक्कासि प्रहरीले ढोकामा ढकढक गर्दै बोलायो !
ढोकामा उभिएको असई चिनेजस्तो लाग्यो ।
दुई जना प्रहरी भित्र आए । असई ढोकामै उभियो । मेरो होस त्यति बेला खुल्यो कि ढोकामा उभिने असई सुरज थियो । मेरो भूपू प्रेमी जो छात्रवृत्ति मिल्यो भनेर काठमान्डु आएको थियो । ओठबाट कुनै शब्द निस्केन । म स्तब्ध भए । एउटा लाचार वेश्याजस्तो सम्झिए आफैलाइ र धिक्कारे कि म किन बहकिएछु भनेर। मनभित्र अतीतको बाढी आयो । प्रहरीले नवीनलाई केरकार गर्न थाल्यो । एक थप्पड गालामा कसेर हिर्कायो । एकै क्षण अगाडिको त्यो रोमाञ्चक पल एकाएक यसरी दुखमा बदलिँयो।ओहो के यही हो त जीवनको नियमित आकस्मिकता ! सँगै उभिएको होटेलको भित्ता पनि गर्ल्याम गुर्लुम भत्किए जस्तो लाग्यो ।
प्रहरीले यस्तो व्यवहार गरेकी हामीले कुनै मान्छेको हत्या गरेर यहाँ लुक्न आएका छौ ।छापा हान्दा तल काउन्टरमा मेरो परिचयपत्र देखेर सुरज मलाई भेट्न यो रुममा आएको रहेछ । नवीनलाई प्रहरीले आफ्नो परिचय पत्र देखाउन र हामी बिचको साइनोको बारेमा स्पष्टीकरण माग्यो । उसले भन्यो हामी श्रीमान् श्रीमती । नवीनसँग कुनै परिचयपत्र पनि रहेनछ । क्याम्पसको लेक्चर भन्नेले त कमसेकम एउटा परिचयपत्र खल्तीमा हाल्न पर्छ नि । यो भन्दा अगाडि पनि प्रहरीले उस्लाइ यही होटेलबाट पक्रिएको रहेछ ।
प्रहरीले नवीनलाई समातेर लग्यो । नवीनसँगै सुरज पनि तल गयो । म आफै स्तब्ध थिए। के बोल्ने र के नबोल्ने भन्ने होस पनि गुमेर गयो । हिँड्ने बेलामा देखे सुरजको आँखाबाट आँसु तप्किरहेको थियो । आफू निस्किन पनि सकिन ढोकाबाट र सुरजको अनुहार राम्रोसँग निहालूँ । चुकुल पनि हालिन । ढोका खुलै राखे । रातभर जाग्राम बसे । नवीन आउने हो कि वा सुरज आउने हो तर अन्ततः दुवै आएनन्।
बिहान सबेरै उठे । काउन्टरमा गए । हिसाब सोधे । सबै पैसा नविनले होइन असई साहेबले तिर्नु भो भन्यो वेटरले ।
तालीममा पनि जान मन लागेन । वाक्क लाग्यो जिन्दगी देखेर। आफ्ना यिनै दुई उदास आँखा लिएर पुनः बसपार्क फर्किए ।
म कस्ती नकारात्मक ? म कस्ती भोकी , म कस्ती हतभागी ? म किन यसरी बिग्रेकी ? स्वतन्त्रताको नाउँमा स्वच्छन्दता भनेको यही हो कि ? आफूले पहिला एक्स बोइफ्रेन्डहरुलाई पठाएका आफ्ना अन्तरङ्ग तस्बिरहरू केही गरी दुरुपयोग भयो भने मेरो जिन्दगी के होला त ह ? सम्बन्ध सधैँ एकनास नहुदोरहेछ नि ! जिन्दगी के फेसबुक र नयाँ केटाहरुसग रमाइलो गर्नु मात्रै होत? जिन्दगीमा साँचो माया गर्नेलाई तिरस्कार गरियो र नक्कली माया गर्नेको बढी विश्वासमा परियो र धोका पाइयो !
पाल्पा जाने बसको टिकट काटे । निर्मल आकाशमा आफैले आज थुके जस्तो लाग्यो । सजिलो छ भन्नलाई र उपदेश दिन पनि ।तर अरूलाई उपदेश दिने आफै भने खत्तम हुन्छौँ हामी ।हासिखुसी बाच्नुपर्छ भनेर अरूलाई भन्छौँ तर यथार्थमा खुसी ल्याइदिने को हो त जिन्दगीमा ?आफैले हो वा अरू कसैले ? मैले यो कुरा सोच्नै सकिन । घोत्लिइरहे पाल्पा जाने बस भित्रको एउटा कुनाको सिटमा बसेर।
हिजो आउँदा खलासी भाइ चिनेकी थिए। उ नजिक आयो र भन्यो- ” किन दिदी आज चैँ चुपचाप हुनुहुन्छ ? वाइफाइ फ्री छ नि चलाउनु होला । यी लिनुस् पासवर्ड” भन्दै एउटा सानो कागज थमायो हातमा । यसो हेरे पासवर्ड थियो “एन ए बि आइ एन” अर्थात् नवीन । आफै देखि रिस उठ्यो । मोबाइल स्विचअफ गरेर नालीमा फाल्दिए । बस गुड्न थाल्यो । मोबाइल फालेपछि खोइ किन पो हो फेरि त्यही नालीमा एक चोटि फर्केर हेरे । यस्तो लाग्यो कि मैले आज नवीनलाई त्यही नालीको पानीमा बगाइदिए । बल्ल मन शान्त भो र मैले बिर्सन खोजेको त्यो रात अब जिन्दगीमा कहिले पनि नदोहोरियोस्। मेसेन्जरको अश्लील वार्तामा दौडिने यी हातका औँलाहरू अब आफूलाई सभ्य नागरिक बन्नुमा उत्प्रेरित बनुन् भन्ने प्रेरणा जागोस् हिर्दयमा । पुन सम्झिए आफ्नै प्यारो पाल्पा ,ती विद्यार्थी भाइबहिनी अनि सभ्यताको अमर प्रेमको आँसु बोकेर बाचिरहेको त्यो एक्लो रानी महल…..
नोट:- ( कथामा प्रयोग गरिएका पात्र काल्पनिक हुन । कसैको जीवनसँग मेल खाएमा यो संयोग मात्रै हुनेछ । अहिलेको नयाँ पुस्ताले भोगिरहेको समग्र नियतिलाई नजिकैबाट निहाल्दा यस्तै देखिन्छ । सामाजिक सञ्जालले मानवता माथि कसरी प्रहार गरिरहेको छ, कसरी हाम्रो सामाजिक जीवन लथालिङ्ग बनाइरहेको छ भन्ने कुरा दैनिक सयौँको सङ्ख्यामा साइबर क्राइम सम्बन्धी प्रहरीमा उजुरी पर्नुले पनि हामी कता जाँदै छौ भनेर देखाउँदै छ।करिब सत्तरी प्रतिशत महिला हिंसामा पर्नु र बाकी तीस प्रतिशत मात्रै पुरुष हिंसामा पर्नुको कारण चाहिँ पुरुष भन्दा महिला सोसल मिडिया प्रति आकर्षक छन् भन्ने ग्राफले देखाउँछ)